इलाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उप नेता तथा पूर्वसभामुख सूवासचन्द्र नेम्वाङले चिया मजदुरहरुले न्युनतम ज्याला समेत नपाउनुमा आश्चार्यको ब्यक्त गरेका छन् ।
इलाम चिया बगानमा कार्यरत मजदुरहरुको ज्ञापन पत्र बुझ्दै उनले अन्य क्षेत्रभन्दा चिया मजदुरको कम पारिश्रमीक तोकिएकाले न्युनतम ज्याला समेत नपाउनु आश्चार्य भएको बताए । ‘सरकारले अन्य क्षेत्रमा कार्यरत मजदुरको जति पारिश्रमीक तोकेको छ, चिया मजदुरको त्यो भन्दा कम छ, उद्योगीहरुले पारिश्रमीक तोक्दै फाइदा उठाएका छन्’–उनले भने–‘कम ज्याला तोक्दा पनि नपाउनु भनेको मेल नखाने कुरा हो ।’ उनले सरकारले तोकेको पारिश्रमीक कुनै पनि निहुँमा पन्छाउन नमिल्ने बताए । ‘मजदुरलाई पारिश्रमीक दिने विषयमा यता उतीको कुरै हुँदैन, कार्यान्वयन गर्नै पर्छ ।’–नेम्वाङले भने । मदुरलाई न्युनतम पारिश्रमीक दिन सक्दो सहयोग गर्ने आश्वासन दिए । ‘उनीहरुले विभिन्न निहुँ बनाउने गरेकै हुन्, तपाइहरु आफुले पाउने पारिश्रमीक लिन लड्नुहोस’–उनले सुझाउँदै भने–‘पार्टी र सरकारको तर्फबाट तपाईहरुलाई सक्दो सहयोग हुन्छ ।
चिया मजदुर संघ इकाइ कमिटि इलामकी अध्यक्ष सरस्वती चौलगाई सहितको टोलीले नेम्वाङलाई न्युनतम पारिश्रमीक कार्यान्वयन गराइदिन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । सरकारले तोकेको न्युनतम ज्याला नदिएपछि चिया मजदुर आन्दोलनमा छ । सिजनको शुरुमानै उनीहरुले आन्दोलन थालेका हुन् । मजदुरको आन्दोलनका कारण सात दिनदेखि चिया उद्योग ठप्पा रहेका छन् ।
सरकारले तीन सय ८५ रुपैयाँ चिया मजदुरको ज्याला तोकेको छ । तर, इलामको चिया बगानमा कार्यरत मजदुरहरुले भने दुई सय ६५ रुपैयाँ मात्रै पाउने गरेको चिया मजदुर सरस्वती चौलागाईले जानकारी दिइन् । मजदुहरु दिनहुँ उद्योगमा भेला भएर उद्योग घेर्ने, औजार प्रदर्शन गर्ने लगायतका आन्दोलन गर्दै आएका छन् ।