

महोत्सवमा आयोजकले फिसिङ्गको पनि व्यवस्था मिलाएका छन् । पोखरीमा दुई वर्षदेखि पालिएको माछा चैत २८ गते देखि हुने महोत्सवमा फिसिङ्ग गर्न पाइने छ । आफूले निकालेको माछा त्यही खान या घरमा लैजाने सुविधा छ । महोत्सवमा फिसिङ्ग गर्न पाँच सय रुपैयाँको टिकट लिनुपर्नेछ । पाँचसयमा आधाघण्टा फिसिङ्ग गर्न पाइने छ । पोखरी वरिपारी फिसिङ्ग स्पोर्ट हुनेछन् । एक पटकमा एक किलोमाछा निकाल्न पाइने छ । त्यो भन्दा बढि माछा निकाले प्रतिकिलो तीन सय रुपैयाँका दरले खरिद गर्नुपर्ने छ । तोकिएभन्दा बढी माछा भए त्यही (व्यवसायलाई) छाड्न पनि पाइन्छ । फिसिङ्ग गर्दा एउटै माछा निस्किएन भने टिकटबाट तीन सय रुपैयाँ फिर्ता हुने छ । एक किलोभन्दा कम माछा निकाले त्यसको मोलभन्दा बचेको रकम फिर्ता पाइने ब्यवस्था गरिएको रमेश भट्टराइले जानकारी दिए । ‘आधा घण्टा फिसिङ्ग गर्दा आधा किलो मात्रै माछा निकाले एकसय ५० रुपैयाँ फिर्ता हुन्छ,’भट्टराईले भने । 
फिसिङ्ग नगर्नेले पनि महोत्सव क्षेत्रमा माछाका विभिन्न परिकारको स्वाद लिन पाउनेछन् । ढापबाटै निकालिएको माछा स्टलहरुमा पकाएर बिक्री गर्ने व्यवस्था गर्ने आयोजकले जनाएको छ । ‘फिसिङ्ग गर्दा निस्किएको माछा पनि पकाएर खाने व्यवस्था हुन्छ,’महोत्सव आयोजक समितिका अध्यक्ष तथा वडा अध्यक्ष जीत बहादुर सावाले भने,‘फिसिङ्ग नगर्नेले समेत माछा रुचाए, स्टलबाट किनेर खान सक्छन् ।’ पर्याप्त माछा निस्किए घर लैजाने व्यवस्था समेत गर्ने महोत्सव आयोजकको तयारी छ । महोत्सव पछि पनि धाप पोखरीमा नियमीत फिसिङ्गको ब्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।
‘माछाको पर्याप्त भूरा लगाएर सधै माछा फिसिङ्ग गर्ने व्यवस्था मिलाउँछौ,’रमेश भट्टराइले भने,‘त्यसका लागि टेण्डर बढाबढ गरेर ब्यवसायी छनोट भइसकेको छ ।’ ५० रोपनीमा फैलिएको चन्द्रपाल थेबे सिमसार धापमा दुई वर्ष अघि सात हजार पाँचसय ग्रासकार्प र कमनकार्पको भुरा हालिएको थियो । पोखरीमा अहिले पाँच हजार माछा रहेको स्थानीयको अनुमान छ । पोखरीबाट अहिलेसम्म डेढ किलोसम्मका माछा फेला परेका छन् । सरदरले आधा किलोले मात्रै हिसाव लगाउँदा दुई हजार पाँचसय किलो माछा छ ।
महोत्सवमा माछा मात्रै होइन अन्य स्थानीय परिकारका स्टलहरु समेत हुने छ । ‘विभिन्न जातीय परिकार पनि हुन्छ,’आयोजकको अध्यक्ष साँवाले भने,‘महोत्सवमा स्थानीय परिकारहरुलाई प्राथमिकता दिन्छौ ।’ महोत्सवमा धाप पोखरीमा डुङ्गा सयर गर्न पाइने छ ।
रमणीय पोखरी आसपास घोडा सवारी गर्न पाइने छ । महोत्सवका बेला सन्दकपुर, रेडपाण्डाका पाइन चोयाटार हागेथममा समेत घुम्ने व्यवस्था मिलाइएको आयोजकका उपाध्यक्ष निरबहादुर फागोले जानकारी दिए ।
ढाप पोखरी स्थानीयको अगुवाईमा पुनरउत्थान भएको पूर्वकै ठूलो पोखरी भएको स्थानीय दावी जर्छन् । महोत्सवमा फिसिङ्गको व्यवस्था भएको भने यो पहिलो पटक हो । २०७२ सालको वैशाखबाट पोखरीका पुनर्उत्थान थालिएको हो । स्थानीयले थालेको अभियानमा सरकारी निकायले समेत साथ दिएपछि पोखरी पुनर उत्थान भएको हो ।
हालसम्म पोखरीको पुनरउत्थानको लागि ४५ लाख रुपैयाँ नगद खर्च भएको छ भने स्थानीयले १५ लाख हाराहारीको श्रमदान गरेका छन् । पोखरीमा आसपासको जग्गा सम्याउने, गोलघरहरु निर्माण गर्ने काम अहिलेपनि चलिरहेको चन्द्रपाल थेवे धाम सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए ।


5633 पटक हेरिएको 






