इलाम।आफूहरूले राखेका माग पूरा नभएको भन्दै इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका विद्यार्थीहरूले क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा विहीबार तालाबन्दी गरेका छन् ।
केही दिन अघिदेखि नै विद्यार्थीहरूले २४ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । स्नातकोत्तर तहको शुल्क घटाउनु पर्ने, बागबानी संकायमा कोटा किटान गरिनु पर्ने लगायतका माग पूरा गर्न क्याम्पस प्रशासन गम्भीर नभएको भन्दै दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र अखिल क्रान्तिकारीको नेतृत्वमा भएको आन्दोलनमा केही दिनदेखि नै माग पूरा गराउन हस्ताक्षर अभियान, कालो पट्टि बाधेर विरोध गर्ने लगायतका काम गर्दै आएका थिए । अनेरास्ववियु क्याम्पस कमिटी सचिव विशाल कार्कीले पटक–पटक क्याम्पस प्रशासनसँग वार्ता बस्दा समेत निकास निस्किन नसकेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।
विद्यार्थी संगठनले शिक्षा, व्यवस्थापन, मानविकी संकायमा अतिरिक्त कक्षा सञ्चालन गरिनु पर्ने, काजमा गएका शिक्षकको बैकल्पिक व्यवस्थापन गर्दै नियमित अध्ययनको व्यवस्था गरिनु पर्ने, क्याम्पसको विद्यार्थी कल्याण कोषबाट तीनै तहका विद्यार्थीको अन्तिम वर्ष शैक्षिक अवलोकन भ्रमणको व्यवस्था गरिनु पर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
यता क्याम्पसका सहायक प्रमुख प्रेम लुईटेलले भने विद्यार्थीले तालाबन्दी गरेपछि वार्ता भइरहेकाले सहमति हुने सम्भावना रहेको जानकारी दिए ।