इलाम.
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका महेन्द्र रत्न बहुमुखी क्याम्पसका विद्यार्थीले आज क्याम्पसमा मौन रूपमा कालो पट्टि लाएर प्रदर्शन गरेका छन् । स्नातकोत्तर तहको शुल्क घटाउनु पर्ने, बागबानी संकायमा कोटा किटान गरिनु पर्ने, हरित गृह निर्माण गरिनु पर्ने लगायत २४ बुदे माग राख्दै दुई दिन अघि दिने आन्दोलनमा उत्रिएका विद्यार्थीले मंगलबार पनि प्रदर्शन गरेका हुन् । केही दिन अघि २४ घण्टे अल्टिमेटम राखेर क्याम्पसका दुई विद्यार्थी संगठनले माग पत्र बुझाएका थिए । शिक्षा, व्यवस्थापन, मानविकीमा अतिरिक्त कक्षा सञ्चालन गरिनु पर्ने, काजमा गएका शिक्षकको बैकल्पिक व्यवस्थापन गर्दै नियमित अध्ययनको व्यवस्थापन गरिनु पर्ने, क्याम्पसको विद्यार्थी कल्याण कोषबाट तीनै तहका विद्यार्थीको अन्तिम बर्ष शैक्षिक अवलोकन भ्रमणको व्यवस्थापन गरिनु पर्ने लगायतका माग रहेका थिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र अखिल क्रान्तिकारीको अगुवाईमा बुझाएको माग पत्रमा सामान्य मागमा समेत क्याम्पसले पूरा गर्न वेवास्ता गरेकाले आन्दोलनमा जानु परेको विद्यार्थीले बताएका छन् ।
अनेरास्ववियु क्याम्पस कमिटि सचिव विशाल कार्कीले पटक–पटक क्याम्पससँग वार्ता गरेपनि सहमतिमा नपुगेपछि वाध्य भएर आन्दोलनका कार्यक्रमतय गरिएको बताउनुभएको छ । सचिव कार्कीका अनुसार सोमबार विद्यार्थीबाट संकलन गरिएको हस्ताक्षर समेत क्याम्पसमा बुुझाइएको छ । उहाँका क्याम्पस प्रशासनले माग पूरा नगरेको खण्डमा बुधबार क्याम्पस प्रशासन घेराउ गर्ने र विहीबार क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम समेत तय गरिएको जानकारी दिनुभयो ।


1972 पटक हेरिएको 






