राणाकालीन दरबारमा सांस्कृतिक संग्रहालय बनाइने

  सरलपाटी संवाददाता

 1437 पटक हेरिएको

इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई सांस्कृतिक संग्रालय बनाइने भएको छ ।
सरकारले सदरमुकाममा रहेको दरवार इलाम नगरपालिकालाई हस्तान्तरण गरेपछि दरवारलाई सांस्कृतिक संग्रहालयको रूपमा विकास गरिने भएका हो । यस अघि त्यहाँ जिल्ला प्रशासन कार्यालय थियो । कार्यालय नयाँ भवनमा सरेपछि दरवारको भवन प्रयोग विहीन अवस्थामा छ ।
दरवारमा सांस्कृतिक संग्रहालय बनाउनको लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । ‘हामीले यही आर्थिक वर्षका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छौ’प्रमुख बस्नेतले भने,‘संग्रहालय निर्माणको काम प्रारम्भ हुन्छ ।’ संग्रहालय बनाउनको लागि आवश्यक बजेट आगामी आर्थिक वर्षमा विनियोजन गर्ने नगरपालिकाले जनाएको छ । २०६८ असोज १ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर गएको भूकम्पले भवनको केही भाग चर्र्किएको छ । त्यसलाई मर्मत सम्भारको काम थाल्ने नगरपालिकाले जनाएको छ । दरवार १९२० को दशकमा बनेको इतिहासका जानकार युद्दप्रसाद वैद्यले जानकारी दिए । राणा प्रधानमन्त्री जंगबहादुर राणको पालामा इलाममा बडाहाकिम भएर आएका उनका ज्वाइ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको हो । गजराजसिङ थापा १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हालेका थिए । दरबारको बनावट यस क्षेत्रमा रहेका घरहरु भन्दा फरक छ । ‘काठमाण्डौबाटै कालिगढ ल्याएर दरवार बनाइएको हो’बैद्यले भने,‘दरवारको बास्तुकलानै हाम्रो सम्पति हो, यो पुरातात्विक महत्वको दरबार हो ।’ संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, भिविन्न जातिका वेषभुषा, भाडा वर्तन लगायतका सामग्री राखिने भएको छ । अरनीको संग्रहालयमा रहेका सामग्रीहरु समेत सांस्कृतिक संग्रालयमा राख्ने तयारी छ । अरनीको संग्रहालयका सामग्री माइस्थान मन्दिरमा राखिएको थियो । संग्रहालयमा रहेका कतिपय सामान हराइसकेको नगर प्रमुख बस्नेतले बताए । ‘अरनिको संग्रहालयमा रहेका कतिपय सामान अहिले पाइएन, भएका सामग्री हामीले संरक्षण गरेर राखेका छा,ै’प्रमुख बस्नेतले भने,‘त्यहाँ रहेका सामग्री सांस्कृतिक संग्रालयमा राख्छौ ।’
सदरमुकाममा रहेको पुरानो भवनहरू धमाधम भत्काइदैछ । नेपालकै दोस्रो कंक्रिट भवन भत्काएर प्रमुख जिल्ला अधिकारीको आवास बनाइएको छ । जिल्ला प्रहरी कार्यालय रहेको इलामको पहिलो प्रशासनिक भवन समेत केही वर्ष अघिनै भत्काइएको छ । जिल्ला प्रहरी कार्यालयय रहेको भवन भत्काएर जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनाइएको छ ।
परम्परागत शैलीका व्यक्तिका घरहरू समेत भत्काएर नयाँ शैलीका घर बनाइदैछ । पुरानो शैलीमा बनाइएको दरवारमा सास्कृतिक संग्रहालय राख्दा पर्यटन आकर्षणको केन्द्र हुनसक्ने अपेक्षा गरिएको छ । बडाहाकिम थापाको सालिक बनाइदै
२३ वर्ष सम्म इलामको प्रशासन चलाएका बडाहाकिम गजराजसिंह थापाको शालिक बनाइने भएको छ । दरमुकाम स्थापनाको दुईसय वर्ष पूरा गरेको अवसरमा नगरपालिको स्तम्ब सहितको शालिक बनाउन गालेको हो । लभडाँडामा पार्क सहित स्तम्भ बनाइने भएको छ । त्यसमा थापाको शालिक समेत राखिने छ । पार्क, स्तम्भ, शालिक र पार्क निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको नगरपालिकाले जनाएको छ । इलाम नगरपालिकाले २०७५ साललाई सदरमुकाम स्थापनाको दुईसय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । थापाकै पालामा इलाममा चिया रोपण सुरु भएको हो । उनकै पालामा नेपालको पहिलो उद्योग स्थापना भएको हो । १९२० देखि चिया रोपण सुरु भएको १९३५ सालमा चिया कारखाना स्थापना गरिएको युद्द बैद्यले जनाए ।
नगरपालिकाले बनायो शैक्षिक क्यालेण्डर
इलाम नगरपालिकाले नगर क्षेत्रको शैक्षिक गतिविधिलाई व्यवस्थित गर्नको लागि शैक्षिक क्यालेण्डर बनाएको छ । नगर कार्यपालिकाको बैठकबाट क्यालेण्डर स्वीकृत गरिएको प्रमुख महेश बस्नेतले जानकारी दिए । क्यालेण्डरमा विद्यार्थी भर्ना, परिक्षा, नतिजा प्रकाशन, अतिरिक्त कृयाकलाप, ब्यवस्थापन समितिको बैठक, अविभावक भेला, स्टाफ बैठक लगायतका गतिविधि समावेश छन् । नगरपालिका क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयले क्लालेण्डर अनुसारको गतिविधि गर्नुपर्ने छ । क्यालेण्डर आउँदो शैक्षिक सत्रदेखि लागु हुने जनाइएको छ ।
खानेपानी र सडकमा थप बजेट
समपुरक बजेटबाट पाँच सडकलाई एक एक करोडनगर कार्यापालिका बैठकले संघीय सरकारले उपलब्ध गराएको समपुरक अनुदान पाँचवटा सडकमा विनियोजन गरेको छ । सरकारले दुई करोड ६८ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले उपलब्ध गराएको बजेटमा ६० प्रतिशत नगरपालिकाले थप्नुपर्छ । नगरपालिकाले तिल्केनी बज्रदेवी सडक, वार्ड नं. ८ तिल्केनीलाई एक करोढ रुपैया, भन्ज्याङ भाङटार बेलासे सडक, वार्ड नं. ११ सोयाकलाई एक करोड रुपैयाँ, बरबोटे रिब्स सुम्बेक सडक, वार्ड नं. २ सुम्बेक र बरबोटेलाई एक करोड, मिल गोलाइ विणापानी स्कुल सडकलाई एक करोड, र रत्नचोक इन्टेक साङ्गरुम्वा सडकलाई एक करोड रुपैयाँ विनियोजन गरेको हो । विशेष अनुदानबाट प्राप्त भएको दुई करोड, सात लाख २८ हजार रुपैयाँ भने पुवाखोला चिन्तेसाँघु खानेपानी आयोजनाको लागि विनियोजन गरिएको छ ।
प्रविधिमा फड्को
इलाम नगरपालिकाले नगर क्षेत्रको सवैवडामा इन्टरनेट नेटवर्क विस्तार गरेको छ । सवै वडामा सिसिटिभी क्यामेरा, भिओई जडान गरिएको छ । अब नगरपालिकाको सवै वडाको अनुगमन नगरपालिका कार्यालयबाटै हुनेछ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कार्यालयबाटै अनुगमन गर्नेछन् । कार्यालय बाहिर रहेका बेला नगरप्रमुखले भने मोवाइलबाटै वडा र कार्यालयको गतिविधि नियाल्न सक्ने नगरपालिकाका आइटि इञ्जिनियरले सञ्जय घिमिरेले बताए ।
यस्तो सञ्जाल विस्तारपछि सफ्टवेयर मार्फत बिल काटिने, खानेपानी, राजश्वको विल भुक्तानी पनि वडाबाटै गर्न सम्भव हुन्छ । तर, यो सेवा भने वडा कार्यालयमा विस्तार भइसकेको छैन ।
वडा कार्यालयमा विद्युतीय हाजिरी राखिएको छ । त्यसको रेकर्ड समेत नगरपालिका कार्यालयबाट हेर्न सकिन्छ । वडामा भएका गतिविधि कार्यालय समय अघिपछि समेत हेर्न सकिने बनाइएको छ । नगरपालिका कार्यालयमा वाइफाई बन्द गरिएकोे छ ।
मोवाइल र कम्युटरमा समेत युट्युव र फेसबुक समेत बन्द गरिएको छ । नगर क्षेत्रका माध्यमिक तहका विद्यालय र स्वास्थ्य संस्थामा समेत नेटवर्क विस्तार गरिने नगरप्रमुख बस्नेतले बताए । त्यसको अनुगमन भने सम्बन्धित शाखाका प्रमुखले गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार