इलाम।क्यामरुनको दाउफिन्स क्लब र नेपालको ए–डिभिजन हिमालयन शेर्पा क्लबबीच ऐतिहासिक भिडन्त मंगलबार इलामको ठूलो टुँडिखेलमा हुँदैछ । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप उपाधिका दुवै टिम आफैंले जित्ने दाबीसहित मैदान उत्रिन लागेका हुन् ।
सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमले फाइनल उपाधि आफूले जित्ने दाबी गरे । दुवै टिमका प्रशिक्षक, टिम म्यानेजर र कप्तानले पूरा तयारीसाथ मैदान उत्रिएर उपाधि उचाल्ने पत्रकारसामु विश्वास व्यक्त गरे । दाउफिन्स क्लबका टिम म्यानेजर आशिक थापामगरले फुटबलमा जित्ने–हार्ने सम्भावना बराबर भएपनि पाँचौं उपाधि आफ्नो टिमले जितेर लैजाने विश्वास रहेको बताए ।
‘हिजोसम्म टिमको मिडफिल्ड सुधार गर्नुपर्ने देखिएको थियो, फाइनलमा पूरै सुधार गर्दैछौं,’ थापामगरले भने, ‘टिमले अहिलेसम्म जस्तो प्रदर्शन भइरहेको छ, त्योभन्दा फाइनलको प्रदर्शन उत्कृष्ट हुनेछ, इलामे दर्शकले हामीप्रति देखाउनुभएको सद्भावलाई खेलमार्फत् नै सम्मान गर्नेछौं ।’
विभागीय टिम सशस्त्र प्रहरीको एपिएफलाई क्वार्टरफाइनल र अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई दाउफिन्सले पाँचौं संस्करणको सेमिफाइनलमा हराएको थियो । दाउफिन्सको खेललाई इलामे दर्शकले औधी रुचाएका छन् । पाहुना टिम र खेल कौशल पनि उत्कृष्ट रहेको दाउफिन्सको सुरुदेखिकै प्रदर्शनमा इलामे दर्शक आकर्षित भइरहेका छन् ।
दाउफिन्सको सामना गर्न लागेको हिमालयन शेर्पा क्लब पनि इलामे दर्शकको रोजाइमा छ । डिफेन्डिङ च्याम्पियन थ्रिस्टार क्लबलाई पाखा लगाएपछि शेर्पाप्रति इलामे दर्शक आकर्षित हुँदैछन् । पहिलोचोटी इलामे मैदान उत्रिएको शेर्पाले हङकङको नेप्लिज फुटबल एकाडेमीलाई प्रि–क्वार्टरमा र डिफेन्डिङ च्याम्पियन थ्रिस्टार क्लबलाई क्वार्टरफाइनलमा पराजित गरेको थियो । सेमिफाइलनमा मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराएको शेर्पा पाँचौं संस्करणको उपाधि उचाल्ने दाउमा छ । शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले माइभ्याली पाँचौं संस्करणका ३ खेलमा ११ गोल गरिसकेको बताए । ‘फाइनल पनि हाम्रो पक्षमा हुनेछ,’ उनले भने, ‘हामी आएकै उपाधि जितेर लैजान हो ।’
फागुन २६ मा सुरु पाँचौं संस्करणमा देश र बाहिरका १० टिम सहभागी थिए । प्रतियोगिताका १० मध्ये ४ टिम पहिलोपटक इलामे मैदानमा उत्रिएका हुन् । दार्जिलिङ युनाइटेड, मेची नेत्रालय, हिमालयन शेर्पा र दाउफिन्स क्लब इलामे मैदानमा पहिलोपटक उत्रिएका थिए । पाँचौं संस्करणमा तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब, आयोजक माइभ्याली क्लब, थ्रिस्टार र हङकङको नेप्लिज फुटबल एकाडेमी सहभागी थिए ।
विजेताले नगद ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताका लागि ठूलो टुँडिखेल तयार गरिएको छ । फाइनलका लागि बाँसको अस्थायी भएपनि १४ हजारसम्म दर्शक अटाउने प्यारापिट निर्माण गरिएको माइभ्याली क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए । ‘प्रतियोगिताको मुख्य आम्दानीको स्रोत गेटमा टिकटबाट उठाउने रकम नै भएकाले दर्शकको सहभागिता पनि गतवर्षका प्रतियोगिताभन्दा बढी नै रहने आशा गरेका छौं,’ उनले भने, ‘तर, यो वर्ष पोहोरको तुलनामा दर्शकबाट हुने आम्दानी कम होलाजस्तो छ ।’ उनले फाइनल खेल्न लागेका दुवै टिमलाई सफलताको शुभकामना दिए ।


832 पटक हेरिएको 






