इलाम/माइपोखरी आगलागीका पीडितहरुलाई इलाम नगरपालिका वडा नं. ५ बरबोटे बिब्ल्याँटे बजारबासीका तर्फबाट राहत सहयोग दिइएको छ । विब्ल्याँटेका व्यवसायी कृष्ण पौडेल र राजन दाहालको नेतृत्वमा आइतबार बिब्ल्याँटे बजारमा सहयोग संकलन गरिएको थियो । बजारबाट संकलन भएको ४६ हजार छ सय रुपैयाँ सोमबार पीडितहरुलाई वितरण गरिएको छ ।
योसँगै पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिले तर्फबाट पाँच हजार रुपैयाँ सहयोग गरेको थियो । घरसमेत जलेका पीडित निम दोर्जे शेर्पा, लाक्पा शेर्पा, कमल मुखिया र गमबहादुरलाई १० हजारको दरले राहत रकम दिइएको छ । यसरी नै आगलागीको पीडित परिवार निङ्मा दिक्की शेर्पा, चक्रदिप मुखिया, कमला मुखियालाई तीन हजारको दरले राहत रकम दिइएको थियो । आगलागीबाट घाइते तथा अपासमेत भएका गमबहादुरका छोरा जरमान मुखियालाई पनि दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएका थियो ।
संकलित राहत रकम जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बा, व्यवसायी कृष्ण पौडेल, राजन दाहाल, प्रेम अधिकारी, जीतबहादुर खड्काले पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख बरालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै पीडितहरुलाई पीडालाई भूलेर अघि बढ्न हौसला प्रदान गरेका थिए ।


1695 पटक हेरिएको 






