विभागीय टोली नेपाल पुलिस क्लवलाई रोक्दै क्यामरुनको दाउफिन्स क्लव इलाममा जारी माइभ्याली गोल्डकपको फाइनमा प्रवेश गरेको छ । नेपाल पुलिसक्लब विरुद्ध २–० गोल अन्तरको नतिजा निकाल्दै दाउफिन्सले फाइनलमा स्थान पक्का गरेको हो । खेलको १७ औ मिनेटमा पाएको फ्री किकलाई सदुपयोग गर्दै दाउफिन्सले खेलमा अग्रता लिएको थियो । एन्डूाले डि एरिया बाहिरबाट गरेको फ्री किकलाई टिनाले गोलमा परिणत गरेका थिए । पुलिसका अञ्जान राईले पेटेङ्गालाई फल गरेपछि दाउफिन्सले फ्री किकको मौका पाएको थियो । खेलको ७१ औ मिनेटमा दाउफिन्सले अग्रता दोब्बर बनायो । अइन्डा इसाले ३० याड टाढाबाट गरेको प्रहारले जाली चुमेपछि दाउफिन्सले पुलिसमाथि २–० गोल अन्तरको जीत दर्ता ग¥यो । खेलभर प्राय दवाबमा रहेको पुलिसले काउन्टर मुभमा निकालेको मौका खेर पाल्दा प्रतियोगीताको सेमिफाइनलबाट बाहिरिनुपरेको छ । पुलिसका निर कुमार राईले दाउफिन्सको डि एरिया भित्र पाएको बल गोल पोष्टभन्दा बाहिर प्राहार गरे । त्यस्तै सन्तोष हेमरुनले पेनाल्टी लाईन नजिकैबाट गरेको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोको पञ्जामा प¥यो । पुलिसका निर कुमार राईले दाउफिन्सका गोलरक्षक विरुद्ध वन भर्सेस वनमा पाएको गोल पोष्टमा प्रहार नगरी सौजन्य याख्यालाई पास गरे । याख्याले पेनाल्टी क्षेत्र नजिकै पाएको क्रसलाई गोलमा परिणत गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच दाउफिन्सका टिना घोषित भए । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । फाइनलमा प्रवेश गरेको दाउफिन्सले कम्तीमा चार लाख रुपैयाँ सुरक्षित गरेको छ ।
नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले भने फल नभएकोमा रेफ्रीले फाल दिएकाले खेलनै मोडिएको बताए । ‘फल नभएकोमा रेफ्रीले फल दिए, त्यही फ्री किक खेलको टर्निङ पोइन्ट भयो ।’ थापाले टिमको नियमीत खेलाडीहरू राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेकाले दवाब झेल्नुपरेको बताए । दाउफिन्सका टिम म्यानेजर अशोक थापा मगरले भने जित्नै पर्ने दवाबमा खेलेकाले नतिजा आफ्नो पक्षमा पारेको बताए । ‘हाम्रो खेल अघिल्लो खेल भन्दा राम्रो प्रदर्शन गर्न सक्यौ,’उनले भने,‘हामीलाई जित्नैपर्ने दवाब थियो ।’ दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै सेमिफाइनल खेलेको हो । पुलिसले भने भारतको युनाइटेड दार्जिलिङलाई पराजित गरेको थियो । आइतबार प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा झापाको काँकरभिट्टा फुटवल टूेनिङ सेन्टर र हिमालयन शेर्पा क्लबीच हुने छ ।


731 पटक हेरिएको 






