‘जनप्रतिनिधिले इमान बचाएर काम गर्नुहोस्’

  सरलपाटी संवाददाता

 575 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवशको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विश्वास पनि डगमगाउने बताए । ‘जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाएका छन् । ‘अवसरहरु सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन’ प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।’
प्रधानमन्त्री ओलीले फरक प्रसंगमा नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारेका छन् । ‘पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेहरुले अहिले यसको बिरोध गरेका छन्’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् । ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘लुटेरा प्रवृत्तिले देशको विकास हँुदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।’
प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिती महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार