सुनिल खड्काको ह्याट्रिकसँगै हिमालयन शेर्पा क्लव काठमाडौं इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
हङकङ नेप्लिज एकाडेमीलाई एकको विरुद्ध पाँच गोल गर्दै हिमालयन शेर्पाले क्वार्टर फाइलनको स्थान सुरक्षित गरेको हो ।
हिमालयन शेर्पाका लागि सुनिल खड्काले खेल शुरु भएको पहिलो मिनेटमैै गोलको खाता खोलेका थिए । खेलको नौ मिनेटमानै अर्को गोल गर्दै खड्काले आफ्नो टिमलाई २–० को अग्रता दिलाए ।
खेलको ३७ औं मिनेटमा विसन गुरुङले गोलपोष्टभन्दा ३० यार्ड टाढाबाट सेकेण्ड बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो । हङकङ नेप्लीज एकाडेमी खेलको पहिलो हाफमानै ३–० गोल अन्तरले पछि परेको थियो । खेलको ६४ औं मिनेटमा विसन गुरुङको क्रस पासमा बललाई जाली चुमाउँदै सुनिल खड्काले ह्याट्रिक पूरा गरे ।
कप्तान मान बहादुर तामाङले खेलको ७५ आंै मिनेटमा गोल गरेपछि हिमालयन शेर्पाले ५–१ गोल अन्तरको नतिजा निकाल्यो । हङकङ नेप्लीज एकाडेमीका लागि भने खेलको ४७ औं मिनेटमा समिर लिम्बूले एक मात्रै सान्तवना गोल फर्काए ।
पहिलो हाफमा हिमालयन शेर्पाको चर्को दवाब झोलेको हङकङ नेप्लीज एमाडेमीले दोेस्रो हाफमा भने केही सम्हालिएको थियो । तर, पाएको मौकामा स्कोर गर्नबाट चुक्दा पराकिलो गोल अन्तरको हार व्यहोर्नु प¥यो । हङकङका विक्की चौधरीले पेनाल्टी क्षेत्रमा पाएको बललाई वन भर्सेस वनमा समेत गोल गर्न सकेनन् । आशिष चापागाईंको प्रहारलाई हिमालयन शेर्पाका गोल रक्षक किशोर गिरीले उत्कृष्ठ बचाउ गरेका थिए ।
खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका सुनिल खड्का घोषित भए । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । हिमालयन शेर्पा क्लवका प्रशिक्षक बिजेन्द्र पुडासैनीले पहिलो हाफ दवाबमा राख्न सकेकाले नतिजा आफ्नो पक्षमा आएको बताएका छन् । यता हङकङका प्रशिक्षक नविन राईले नयाँ खेलाडीका कारण कम्युनिकेशन नमिल्दा हार व्यहोरेको बताए । क्वार्टर फाइनलमा हिमालयन शेर्पाले थ्रीस्टार क्लवको सामना गर्र्नुपर्ने छ । मंगलबार भारतको युनाइटेड क्वल दार्जिलिङ र नेपाल पुलिस क्लवबीच पहिलो क्वार्टर फाइनल खेल हुनेछ । युनाइटेड क्लव दार्जिलिङले आयोजक माइभ्यालीलाई पाखा लगाउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।


665 पटक हेरिएको 






