इलाम । इलाम सदरमुकामको ठूलो टँुडिखेलमा आज (आइतबार)बाट माइभ्याली गोल्डकपको पाँचौ संस्करण सुरु हुँदैछ ।
उद्घाटन खेलमा आयोजक माइभ्याली फुटवल क्लव र भारतको युनाइटेड दार्जिलिङका बीच पहिला चरणकोे प्रतिष्पर्धा हुने छ । माइभ्यली फुटलव क्लव र युनाइटेड क्वल दार्जिलिङको पहिलो भेट हो । स्थानीय तहका प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आएको आयोजक टिमका लागि होम ग्राउण्डको सुविधा छ । तर, आयोजक टिमले आफ्नो मैदानमा खुलेर अभ्यास गर्ने मौका पाएका छैनन् ।
आयोजक टिममा अघिल्लो सिजनमा उत्कृष्ठ प्रदर्शन गरेका छिरिङ्ग गुरुङ र मनिस थापालाई पाँचौ संकरणमा भने गुमाउँदैछ । अण्डर २३ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका कारण भरपर्दा दुई खेलाडी नपाउँदा आयोजक टिमलाई थप दबाब छ । माइभ्याली फुटवल क्लवले झापामा सञ्चालित अण्डर १९, तेह्रथुममा सम्पन्न गोल्डकपको उपाधि जितेको थियो । स्थानीय स्तरमा भएका प्रतियोगीताहरूमा समेत माइभ्यालीले राम्रो प्रदर्शन गरेकाले घरेलु टिमको उत्कृष्ठ प्रदर्शन हुने आयोजकको विश्वास छ ।
‘यस अघि विभिन्न ठाउँमा गरेको प्रदर्शनबाट राम्रो संकेत पाएका छौ,’माइभ्याली फुटवल क्लवका टेक्निकल कमिटीका संयोजक तथा प्रशिक्षक मंगेश बस्नेतले भने,‘योे प्रतियोगीतामा पनि राम्रो रिजल्ट आउँछ भन्नेमा आशावादी छौ ।’ युनाइटेड दार्जिलिङ क्वललाई पनि अब्बल मानिन्छ ।
नेपालको पूर्वी पहाडी क्षेत्रमा हुने प्रतियोगिताहरूमा युनाइटेडले राम्रो प्रदर्शनको छाप छाडेको छ । पाँचथरको फाल्गुनन्द गोल्डकप, ताप्लेजुङको पाथिभरा गोल्डकपमा युनाइटेड क्लवले प्रतिष्पर्धा गरेको थियो ।
दश टिम सहभागी रहेको प्रतियोगीतामा छ टोलीले बाइ पाएर दोस्रो चरणका खेलबाट प्रतिष्पर्धा सुरु गर्नेछन् । हिमालयन शेर्पा क्लव र नेप्लीज फुटवल एकेडेमी हङकङबीच पहिलो चरणकै प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा तीन विभागीय त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, सहित क्यामरुनको दाउफिन्स क्लव, नेची नेत्रालय झापा र थ्रिस्टार क्लव भिड्दैछन् । तीन विभागीय टिम, थ्रिस्टार र आयोजक बाहेक अन्य टिमको लागि माइभ्याली गोल्डकप पहिलो अुनभव गर्दैछन् ।
नौ खेलमा पूरा हुने प्रतियोगिताका बिजेताले सात लाख रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण–पत्र पाउने छन् भने उपविजेतामा सीमित हुनेले चार लाख रुपैयाँमा चित्त बुझाउनु पर्ने छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडी र अन्य अफिसियलको लागि पहिलमे पटक दुर्घटना बिमाको व्यवस्था गरिएको छ । दुर्घटनामा परेमा पाँच लाखको बिमा गरिएको आयोजकले जानकारी दिएका छन् ।
विदेशी टिमहरू समेत सहभागी रहेको प्रतियोगितामा बिमा भने देशको सीमाभित्र मात्रै कायम हुने बताइएको छ । प्रतियोगिताको अघिल्लो सिजनमा सहभागी लिग विजेता मनाङ मस्र्याङदी र उपविजेता संकटा क्लब पाँचौ संस्करणमा सहभागी छैनन् । देश बाहिरका अन्य प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले लिगको विजेता र उपविजेतालाई पाँचौ संस्करणमा सहभागी गराउन नसकेको माइभ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङले बताए । त्यस्तै दोस्रो र तेस्रो संस्करणको विजेता बनेको झापा–११ भने यो सिजनमा सहभागी नै भएन तर, मेची नेत्रालय झापाबाट झापा–११ का धेरैजसो खेलाडी सहभागी हुने बताइएको छ ।
गोल्डकपको पहिलो संस्करण त्रिभुवन आर्मी र चौथो संस्करण थ्री स्टारले जितेको थियो । प्रतियोगीताको उद्घाटन एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्दैछन् ।