इलाम नगरपालिका–२ सुम्बेकमा शनिबार सम्पन्न एक दिने स्वास्थ्य शिविरमा आठ सय ४५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सम्पन्न शिविरमा विशेषज्ञ सहितको स्वाथ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणसँगै ल्याब सेवा पनि उपलब्ध गराइएको थियो । परीक्षणपछि निःशुल्क औषधि पनि वितरण गरिएको थियो । चार लाख ५० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको इलाम नगरपालिका स्वास्थ्य शाखाकी सह–संयोजक रमन्ता पौडेलले बताइन् ।
सुम्बेक माविमा सञ्चालन भएको शिविरमा स्त्री रोग, पाठेघरमा क्यान्सरको संक्रमण रहेनरहेको भीआइए परीक्षण पनि गरिएको थियो । यसरीनै छाला रोग, हाड जोर्नी, सुगर परीक्षण, दन्त रोग, परीक्षण र उपचार गर्नका साथै सामान्य चिकित्सा सेवा र स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो ।
शिविरमा इलाम अस्पतालका प्रमुख डा. पवनजंग रायमाझी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुरुराज पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए । यसरीनै मेडिकल अधिकृतहरु डा. शीतल श्रेष्ठ, डा. सुरेन्द्र आचार्य, डा. विजेन्द्रकुमार साह, डा. भीम चौहान, डा. प्रेक्षा दुगड, डा. अभिषेक अमर डा. मासुम अग्रवाल, डा. नरेश मेहता, डा. पंकज गुप्ता, डा. रेमन ढकाल, डा. मञ्जिता गिरीले पनि शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा इलाम अस्पताल, बरबोटे र सुम्बेक स्वास्थ्य चौकीका गरी ५० भन्दा बढी स्वास्थ्यकर्मीहरुले पनि सेवा प्रदान गरेका थिए ।
शिविरमा सरकारी स्तरबाट पनि निःशुल्क औषधि वितरण गरिएको थियो भने औषधि व्यवसायी संघ इलामले पनि एक लाख ५० हजार बराबरको औषधि निःशुल्क वितरण गरेको थियो । गणेश औषधालय, महालक्ष्मी मेडिकल विब्ल्याँटे, द मेडिको, जनसेवा मेडिकल, ओम शिव मेडिकलबाट निःशुल्क औषधि उपलब्ध गराइएको होे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र सुम्बेककी ८४ वर्षीया जेष्ठ नागरिक अजुद्धा नेपालको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गरिएको थियो । इलाम नगरपालिका–२ का वडाध्यक्ष नारद लम्सालको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक मावध श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक विदुर खड्का, प्रमुख अनुसन्धान अधिकृत तुलसी कट्टेललगायतको उपस्थिति रहेको थियो ।