माइभ्याली गोल्डकपमा कुन कुन टीम भीड्दै छन् ?

  सरलपाटी संवाददाता

 731 पटक हेरिएको

इलाम/अन्तर्राष्ट्रिय टुवोर्ग माइभ्याली गोल्डकपको पाँचौं संस्करणकालागि माइभ्याली फुटबल क्लबले खेल तालिका सार्वजनिक गरेको छ । आगामी फागुन २६ देखि चैत ५ गते सम्म हुने प्रतियोगितमा स्वदेशी र विदेशी गरि दश टीमको सहभागिता हुने पक्का भएको छ ।
तीन विदेशी, तीन विभागीय सहित दशवटा टीम सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ । खेल तालिकामा प्रतियोगितामा समुह ‘ए’ मा आयोजक माइभ्याली फुटबल क्लब, युनाइटेड क्लब दार्जिलिङ भारत, नेपाल पुलिस क्लब, एपिएफ क्लब काठमाडौं र दाउफिन्स क्यामरून रहेका छन् । यस्तै समुह ‘बी’ मा हिमालयन शेर्पा क्लब काठमाडौं, नेप्लीज फुटबल एकाडेमी हङकङ, थ्रीस्टार क्लब ललितपुर, मेची नेत्रालय झापा र त्रिभुवन आर्मी क्लब काठमाडांै रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल २६ गते आयोजक माइभ्याली र युनाइटेड क्लब दार्जिलिङ बीच हुनेछ । यस्तै २७ गते हिमालयन शेर्पा र नेप्लीज फुटबल एकाडेमीबीच हुनेछ भने २८ गते नेपाल पुलिस क्लबसँग २६ गतेको खेल बिजेता सँग प्रतिस्पर्धा हुनेछ । त्यस्तै २९ गते थ्रिस्टारसँग २७ गतेको विजेताको प्रतिष्पर्धा हुने जनाइएको छ ।
फागुन ३० गते एपीएफ र क्यामरुनको दाउफिन्सबीच हुनेछ भने चैत १ गते झापा र त्रिभुवन आर्मी भिड्नेछन् । चैत २ र ३ गते सेमी फाइनलका खेलहरु हुने भएका छन् । यसपटक सहभागी टीम मध्ये यसअघि नेपाल पुलिस क्लब माइभ्यालीले सम्पन्न गरेको भूकम्प स्मृति कपसहित दुई पटकको माइभ्याली गोल्ड कपको गरि तीन पटक इलाममा विजयी भएको थियो । त्यस्तै थ्रीस्टार र त्रिभुवन आर्मी पनि माइभ्यालीको एक–एक पटकका विजेता सूचीमा परिसकेका छन् ।

यसपटक गोल्डकप विजेताले नगद ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) सूचीमा देशकै उत्कृष्ट ३ मा परेको माइभ्याली गोल्डकपमा नेपालसहित हङकङ र भारत दार्जिलिङका उत्कृष्ट टिम सहभागी गराइएको आयोजक क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए । आयोजकले यसपटक प्रतियोगितामा खेलाडीहरूको प्रतिक्यक्ति पाँच लाख रूपैयाँ बीमा समेत गरेको जनाइएको छ । आयोजक, टीम व्यवस्थापन पक्ष, स्वयंसेवक, र खेलाडी गरि २५० जनाको बीमा गरिएको छ । पुरस्कारको रकममा भने नेपाल सरकारको नियम अनुसार २५ प्रतिशत कर काटिने हुँदा विजेतालाई प्राप्त पुरस्कार राशीको १२ प्रतिशत र आयोजक आफूले १३ प्रतिशत कर व्यहोर्ने गरि व्यवस्था गरिएको पनि क्लबले जनाएको छ ।
प्रतियोगिताका लागि इलामको ठूलो टुडीखेलमा बाँसको अस्थायी प्यारापिटमा दश हजार दर्शक अटाउन सक्ने र फाइनल खेल भने करिब १४ हजार दर्शकका माझ सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष चेम्जोङले बताए । प्रतियोगिता भरिमा यसपटक एन्फा बाहेक जिल्ला बाहिरका कुनै पनि टीभी च्यानलहरूलाई प्रत्यक्ष प्रसारण गर्न पनि दिइएको छैन । दर्शकहरूलाई प्रत्यक्ष खेल हेर्न आग्रह गर्दै स्थानीय सञ्चार माध्यमलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार