यो वर्षदेखि हात्तीपाइले मुक्त हुँदै इलाम

  कोकिला ढकाल

 569 पटक हेरिएको

इलाम  फागुन

इलाममा हात्तीपाईले विरूद्धको औषधि सेवन गराइएको आठ वर्ष भएको छ । आठौं वर्षमा आगामी फागुन १५ गते जिल्लाभर यो औषधि खुवाइंदै छ । इलामका लागि यो अन्तिम पटकको औषधी सेवन हो । शुक्रबार इलाम नगरपालिका स्वास्थ्य शाखाले हात्तीपाइले रोग विरूद्ध औषधि खुवाउने कार्यक्रम सार्वजनिक गरेको हो । इलाम नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहका सबै वडामा यो औषधि खुवाइने नगरपालिकाका जनस्वास्थ्य अधिकृत मुरारीप्रसाद देवले जानकारी दिए ।
देवका अनुसार इलाम नगरपालिकामामात्रै ४५ हजार ३०५ जनालाई यो औषधि खुवाइने छ । यो वर्ष अनिवार्य रूपले औषधी खाएपछि जिल्लाबासीले पुनः अर्को वर्ष यही औषधी खानु नपर्ने भएको छ, जिल्ला जनस्वास्थ्य कार्यालयका ‘भेट्रल कन्ट्रोल अधिकृत’ बिमल बराले बताए ।
उनले भने ‘इलाममा यो रोगको प्रिभिलेन्स रेट एक प्रतिशत भन्दा कम देखिएको छ, यो वर्ष खाएपछि खानु पर्दैन ।’ औषधी सेवन गराइएको सातौं वर्षमा गत असोजमा स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इलाममा ‘प्रीटा सर्वे’ गरेको थियो । सर्वेमा गोदक र चुलाचुलीका तीन–तीन सय जनाबाट छ सय नमूना संकलन गरि हात्तीपाइलेको परिक्षण गरिएको थियो । यो परिक्षणमा रोगको एक प्रतिशत भन्दा कम मात्रा देखिएपछि इलामले हात्तीपाइलेबाट छुटकारा पाउने पक्का भएको बरालले जानकारी दिए । औषधी सेवन गराइएको पाँचौं र छैटौं वर्षमा पनि साविकका यीनै दुई गाविसमा गरिएको परिक्षणमा हात्तीपाइलेको संक्रमण देखिएको थियो । गतवर्ष जिल्लामा ९१ प्रतिशतले औषधी खाएपछि रोगीको संख्या नभएको बताइएको छ ।
गतवर्ष स्वयंसेविका र स्वास्थ्यकर्मी तथा कर्मचारीहरू खटिने गरेकोमा औषधी खुवाउन यो वर्ष हरेक स्थानीय तहमा स्वास्थ्यकर्मीहरू आफैं खटिने भएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ । ‘१५ गते हरेक वडामा एउटा केन्द्र निर्धारण गरि औषधी खुवाइन्छ,’ बरालले भने ‘दोस्रो दिन तीनै स्वास्थ्यकर्मीले आफू खटिएको वडामा ४० घरका घरले घुमेर छुटेकालाई पनि खुवाउने निर्देशन माथिबाटै आएको छ ।’
‘औषधी सेवन गर्दा शरीरमा भएका हात्तीपाईलेका किटाणु मर्छन्, यदि औषधी खाएन भने क्युलेस जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्छ र त्यसको असर १२–१५ वर्ष पछिमात्र देखिन्छ,’ भेट्रल कन्ट्रोल अधिकृत बराल भन्छन् ‘हातखुट्टामा निला–राता धर्सा आउने, पिसाब सेतो हुनु, महिलाको योनी र स्तन सुनिनु हात्ती पाइले रोगका लक्ष्यण हुन् ।’
यो रोग शरीरमा धेरै फैलिए पछिमात्र खुट्टा सुनिने हुनथाल्छ । पोथी लामखुट्टले टोक्दा मानिसको शरीरमा उचेरिया बाँक्रोफटी ९० प्रतिशत, ब्रुजिया मालायी १० प्रतिशत परजीवी सर्नेगरेको पाइएको छ भने अर्को ब्रुजिया टिमोरी परजीवी पनि सर्नेगरेको छ ।
सन् २००१ बाट नेपालका ६१ जिल्लामा शुरू भएको यो अभियान अहिले २४ जिल्लामा सञ्चालित छ । बाँकी ३७ जिल्लामा भने हात्तीपाईले रोग नपाइएकाले ती जिल्लामा भने औषधी खुवाईंदैन । सन् २०२० सम्ममा कम्तिमा १ प्रतिशतमा रोगीको संख्या झार्ने लक्ष्य रहेको जनाइएको छ । हात्तीपाईले चार सय वर्ष पूरानो रोग हो । सन् १९९७ मा विश्व स्वास्थ्य संघको ५० औं महासभाले आगामी २०२० सम्ममा यो रोग निवारण गर्ने निर्णय गरेको थियो । सन् २००० देखि शुरु भएको हात्तीपाईले रोग विरूद्धको अभियानबाट यसअघि जापान, दक्षिण कोरिया, माल्दिप, श्रीलंका लगायतका ३२ वटा राष्ट्रमा उन्मूलन भएको छ । तर, विश्वका ८० वटा देशका १ अर्व ४० करोड व्यक्ति हात्तीपाईले रोगको खतरामा रहेको जनाइएको छ । १२ करोड व्यक्ति हात्तीपाईलेका संक्रमित छन् । अढाइ करोड व्यक्तिमा हाइड्रोशील र डेढ करोड व्यक्तिमा हात्ती पाईले देखिएको तथ्याकं रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार