बौद्धिक अपाङ्गता भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाहृदशी गाँउपालिका–५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७५ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका असई दुर्गा खनालले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा गरिएको छ । यता गर्भवती महिलासहित दुई जनाको हत्या गरेको आरोपमा ताप्लेजुङको मिक्वाखोला गाँउपालिका–४ साँवाका २७ वर्षीय चतुरमान साँवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी २८ वर्षीया गर्भवती महिला शान्ता राई र उनका ३५ वर्षीय पति दिलकुमार राईको ०६५ वैशाख ५ गते हत्या गरी फरार रहेका आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि विभिन्न ठाउँमा लुकेर बस्दै आएका आरोपितलाई कास्की प्रहरीको सहयोगमा फागुन ५ गते पोखराबाट पक्राउ गरी जिल्ला ल्याईएको ताप्लेजुङ्गका डिएसपी सञ्जयसिंह थापाले बताए ।
हत्या गरिएका दम्पती झापाको गौरीगञ्ज गाँउपालिकाका स्थायी बासिन्दा हुन् । शवको पोष्टमार्टम जिल्ला अस्पताल ताप्लेजुङ्गमा ०६५ वैशाख ६ गते गरिएको थियो ।