माइभ्याली गोल्डकपको तयारी तीव्र

सेनाले हटायो काडेतार

  सरलपाटी संवाददाता

 874 पटक हेरिएको

इलामको ठूलो टुँडिखेलमा यही फागुन २६ देखि  चैत ५  सम्म आयोजना गरिने पाँचौं संस्करणको माइभ्याली गोल्डकपको तयारी तीव्र पारिएको छ । टुँडिखेलमा प्यारापिट निर्माणदेखि प्रतियोगिताको खर्च जुटाउन आयोजक माइभ्याली फुटबल क्लबले सक्रियता बढाएको छ ।
दर्शकको निकै आकर्षण रहने प्रतियोगिताका लागि दर्शक बस्ने प्यारापिट बनाउन टुँडिखेलपरिपरि बाँसका खाँबाखुट्टी गाढिँदैछ । १ हजार ८ सयभन्दा बढी बाँस किनेर अस्थायी प्यारापिट बनाउँदै गरेको आयोजक क्लबले जनाएको छ । ‘झन्डै अढाई लाख रुपैयाँ खर्चेर बाँस किनिएको छ, पोहोर प्रयोग गरिएका केही बाँस यो पटक पनि प्रयोग गरिँदैछ,’ क्लब अध्यक्ष धिरेन चेम्जोङले भने, ‘प्यारापिट बनाउन २ लाख ९५ हजार रुपैयाँमा ठेक्का दिइएको छ ।’
टुँडिखेल वरिपरि स्थायी प्यारापिट नहुँदा अस्थायी प्यारपिटमा वर्षेनी लाखौं रुपैयाँ लगानी भइरहेको छ । गतवर्षको जति प्यारापिट बनाउन मात्र ठेक्का दिइएको तर प्यारापिट बढाउनुपरे नयाँ खर्च लाग्ने उनले जनाए । ‘वर्षैनी प्यारापिटलाई मात्रै ८ लाख रुपैयाँसम्म खर्च हुँदा प्रतियोगिताको ठूलो लगानी खेर गइरहेको छ,’ उनले भने, ‘स्थायी प्यारापिट नहुँदा दर्शकलाई पनि समस्या हुने गरेको छ ।’ गत बर्खामा टुँडिखेलको तल्लो भागमा पहिरो गएको थियो । अहिले आयोजकले त्यसलाई पनि अस्थायी मर्मत गरेको छ ।
आयोजनाको खर्च व्यवस्थापन र सहभागी टिमसँगको समन्वय तीव्र पारिएको आयोजकले जनाएको छ । ‘पाँचौं संस्करणमा ६६ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान रहेकाले आर्थिक संकलनका लागि धेरैतिर प्रस्ताव पठाइसकेका छौं,’ अध्यक्ष चेम्जोङले भने, ‘तर, कतैबाट अहिलेसम्म प्रतिबद्धता आएको छैन ।’ पाँचौं संस्करणमा दर्शकको टिकट र विभिन्न संघ–संस्थाबाट रकम संकलन हुने आशा आयोजकले गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सूचीमा देशकै उत्कृष्ट ३ मा परेको माइभ्याली गोल्डकपमा नेपालसहित हङकङ र भारत दार्जिलिङका उत्कृष्ट टिम सहभागी हुँदैछन् । नेपालका विभागीय ३ टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिससहित मनाङ–मस्र्याङ्दी, थ्रिस्टार, झापा–११ र आयोजक क्लब प्रतियोगितामा सहभागी हुनेछन् । ‘हङकङ, क्यामरुन र दार्जिलिङका फुटबल क्बल पनि प्रतियोगितामा सहभागी हुने भएका छन्,’ उनले भने, ‘उत्कृष्ट टिम सहभागी हुने भएकाले प्रतियोगिता दर्शकको प्रिय बनेको छ ।’ गोल्डकप विजेताले नगद ७ लाखसहितको ‘मेयर्स प्राइज’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । सबै पुरस्कारका लागि १४ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । माइभ्याली गोल्डकप आयोजना गरिने टुँडिखेलमा गत मंसिरमा लगाएको काँडेतार नेपाली सेनाले हटाएको छ । काँडेतारको घेराबाराले टुँडिखेलमा खेलकुद सञ्चालन गर्न अवरोध भएपछि सेनाले काँडेतार हटाएको हो काँडेतारका कारण टुँडिखेलमा खेलकुद समस्या भएको भन्ने स्थानीयको गुनासो थियो । गडीथुम्कास्थित नेपाली सेनाको पशुपतिप्रसाद गणले काँडेतारले टुँडिखेलमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न समस्या परेको खेलप्रेमीको गुनासो आएको जनाएको छ । गणपति असीमद्वीप गुरुङले काँडेतारले टुँडिखेल बेरा गर्न माथिबाट निर्देशन आएपछि बेरा गरेको तर हटाउन भनेपछि हटाएको जनाए ।
तारबेरा हटेपछि गोल्डकप सञ्चालन गर्न सजिलो भएको माइभ्याली फुटबल क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए । २५ रोपनी क्षेत्रफल ओगटेको टुँडिखेल नेपाली सेनाकै नाममा रहेपनि स्थानीयको सक्रियतामा निर्माण गरिएको थियो । १९३९ सालतिर यहाँ टुँडिखेल निर्माणको पहल सुरु भएको इतिहास छ । त्यतिबेला स्थानीय महिला–पुरुषले टँुडिखेल निर्माण गर्न आफैं कोदालो खन्नेदेखि गोरु नारेर सम्याएका थिए । भुटेको मकैको खाजा खाएर स्थानीय सर्वसाधारणले यो टुँडिखेल निर्माण गरेको स्थानीय अगुवा सम्झन्छन् । १९८० सालको दशकमा राज समशेर बडाहाकिम भएका बेला इलाममा फुटबल खेल जम्न थालेको हो । त्यतिबेला नजिकैको दार्जिलिङका युवाको टिम पनि यही टुँडिखेलमा फुटबल खेल्न आउँथ्यो ।
सशस्त्र द्वन्द्वका बेला सेनाले सर्वसाधारणलाई टुँडिखेलमा भेला हुन र खेलकुद आयोजना गर्न नियन्त्रण गर्न थालेको थियो । स्थानीयले यो टुँडिखेल सेनाबाट स्थानीय तहमातहत ल्याउन पटक(पटक आग्रह गरिरहेका छन् । गत पुसमा इलाम आएका प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेल स्थानीय तहमातहत ल्याउने इलामबासीको मागबारे आफूले पहल गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार