इलाम । नेपाली सेनाको पशुपतिप्रसाद गणले सदरमुकाम आसपासका नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बास्केटवल र भलिवलको एक महिने प्रशिक्षण गराएको छ । खेल क्षेत्रमा विद्यार्थीहरुको अभिरुची गराउने उद्देश्यले विद्यार्थीहरुलाई प्रशिक्षण गराइएको प्रशिक्षण कार्यक्रमका संयोजक सेनानी उमेश पुरीले जानकारी दिए । सात विद्यालयका १५ छात्र १५ छात्रालाई तालिम गराउने कार्यक्रम तय गरिएपनि प्रशिक्षणमा सहभागी हुन इच्छुक विद्यार्थी संख्या बढेकले ६० जनालाई प्रशिक्षणमा सहभागी गराइएको सेनाले जानकारी दिएको छ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनसंगको सहकार्यमा भएकोे प्रशिक्षण कार्यक्रमको मंगलबार समापन गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहित प्याब्सनका पदाधिकारी र विद्यालयका प्रतिनिधि सहभागी थिए । खेलमा अब्बल विद्यार्थीलाई सेनाले छात्राबृति प्रदान गर्ने कार्यक्रमको पहल भइरहेकाले यस्तो तालिमलाई निरन्तरता दिने पशुपतिप्रसाद गणका गणपति असिमदिप गुरुङले बताए ।