
माघ २६ गते रिमझिम पानी रहेको थियो । माथि पौवा सारतापमा सेताम्मे हिउँ परिरहेको थियो । जाडोले यसै घरमा बसेर इलामको साहित्यिक इतिहास लेखिरहेको थिए । पत्रकार सटेन्द्र जबेगूको फोन आयो । अमर दाइ विते अरे, केही थाहाँ भयो सरलाई ? भने । उनको कुरा सुनेर म अनुत्तरित बनें । सिधैं अमर दाइको नम्बरमा फोन डाइल गरे । उत्तरमा भाउजु रोइरहेको आवाज मात्र आयो ।
थाहाँ भयो । अमर दाइ अस्ताएछन् ।
उनी गाउँपालिकामा एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ढलेछन् । हट एट्याक भएछ । उपचारार्थ इलाम अस्पताल ल्याउँदै गर्दा बाटैमा अमर दाइको पराण पखेरु उडेछ । कुद्दै इलाम अस्पतालमा म हरि सुवेदीसँग पुगें । दाइ चीर निद्रामा थिए । बोलाए उनलाई अमर दाइ भनेर । अहँ ! बोल्दै बोल्नु भएन । एक थुङ्ग फूल दाइको छातीमा चढाए । तेत्तिकैमा म पनि विह्ल भएछु । उता भाउजु र सुशीला दिदी कुडिंदै रोइरहेका थिए । अपत्यारिलो घटना, तर सत्य त्यस्तै थियो । विक्रम सम्वत् २००० सालमा पाँचथरको पौवासारतापमा उदाएका अमर नेम्बाङ्ग २०७५ माघ २६ गते अस्ताए ।
उनी कसैको आँखामा नबिझाउने लालगेढी थिए । उनी बाँच्दै मैले उनको बारेमा, उनको कृतिको बारेमा यसरी लेखेको रहेछु–‘त्यो मध्य दिन अर्थात ४ असार २०६४ का दिन इलाम पुस्तक पसलमा झुण्डिरहेको एउटा किताब देखें, सम्झनाका तरेलीहरु । किताको नाम देख्ने वित्तिकै मलाई आकर्षित गर्यो । तत्काल आकर्षण गर्ने एक मात्र कारण थियो, सम्झनाका तरेलीहरु शीर्षकको स्तम्भ मैले २०६० सालदेखिनै आँखा साप्ताहिकमा लेख्दै आएको थिए । कसले लेख्यो स्तम्भको नाममा त्यो किताब ? हत्त न पत्त किताव हेरें । अमर नेम्बाङ्गको सृष्टि रहेछ । चुपचाप किनेर झोलामा हाले । त्यो दिन बेलुका जब छोरा किसान निदायो । अनि पढ्न थाले । अमर नेम्बाङ्गको सम्झनाका तरेलीहरु । मानिस बलैले बाँच्दै छ यहाँ भन्ने शुरुको शीर्षकदेखि पढ्न थाले । जति पढ्यो, उति पढौंपढौं लाग्ने कस्तो सरल भाषा शैली, शब्द चयन र वाक्य गठन पनि उस्तै मिठो । पौवासारतापको परिवेश अलि पर लुङ्गरुप्पा वासुमसम्म । अलि तल इलामसम्मको परिवेश । एक निमेषमै मनकी प्रियसीले पठाएको गोप्य प्रेमपत्र जस्तै थाहैं नपाई आँखैं नझिम्क्याईं मुटुभरि माया छ मेरो प्यारो गाउँलाई भन्ने अन्तिम शीर्षक सिद्दिएछ । लामो स्वास तानिएर आयो भित्रैबाट । घडी हेरे रातको तीन बजेछ । एक ग्लास पानी पिए । र, त्योभन्दा पहिले मैले चिनेको अमर दाइलाई मनभित्र भित्रै चारै पाटाबाट हेर्न थालें । उ कुनै बेला पौवासारतापको प्रधानपञ्च थियो । पाँचथर जिल्ला पञ्चायतको उपसभापति थियो । रापंसको उम्मेद्वार बनेर लावतीसँग हाथ्र्यो । र, गाविसको अध्यक्ष भएर सारतापको पाश्र्वचित्र कोथ्र्यो । एक भद्र समाजसेवी राजतीतिज्ञ र विद्धवान व्यक्तित्व ।’ (आँखा साप्ताहिक १२ मंसिर २०६४)
अमर दाइको बारेमा आजभन्दा ११ वर्ष पहिले गरेको मूल्याकंनको एक अंश हो यो । त्यसयता अमर दाइसँग मेरो घनिष्ठता बढ्दै गयो । पछि सम्झनाका तरेलीहरु कृतिकै समिक्षात्मक कृति द्रष्टाको दृष्टिमा अमर नेम्बाङ्ग लिम्बूका सम्झनाका तरेलीहरुको कृतिको सम्पादन मैले नै नगरी भएन । यो कृति २०६५ सालमा छोरा मुनिन्द्र नेम्बाङ्गले प्रकाशित गरिदिए । यहाँ प्रा.डा. गोविन्दराज भट्टराईलगायत १९ जना विद्धान समालोचकको लेख छन् । उनीसँग गरिएको पाँच वटा अन्तरवार्ता समावेश छन् । यसरी सम्झनाका तरेलीहरु कृतिबाट अमर दाइको साहित्यिक व्यक्तित्व राष्ट्रिय बन्न पुग्यो । पर्यावरण साहित्यको प्रवद्र्धक र शिखर श्रष्टा बन्न पुगे । त्यस यताका वर्षहरुमा अमर दाइसँगको मेरो घनिष्ठता भनि साध्य छैन । एउटा ग्रेट न्यारेशन हुन्छ, उहाँसँगको घनिष्ठताका कथा । भो, त्यता नगई केही कुरा मात्र भन्छु यहाँ । त्यस्ता विद्धान लेखक राजनीतिज्ञको घरका किताबहरु माओवादीले फ्याँकी दिएपछि, अमर दाईलाई सामन्ती भनेपछि उनको मनमा ठूलो चोट परेको थियो । ति कुराहरु मसित धेरै पटक भन्नुहुन्थ्यो । भन्दाभन्दै आँखाबाट आँशु छचल्किन्थ्यो दाइको । त्यहीं पीरले उहाँ बरालिएर अमेरिका जानु भो । जाने बेलामा मैले दाइलाई छिट्टै फर्कनु पर्छ भनेको थिए । त्यो आज जस्तो लाग्छ । उत्तरमा दाइले यतिमात्र भने यस आइ वील ट्राई ।
अमर दाइ अमेरिका गएपछि म यता घर फर्क उपन्यास लेख्न थाले । उहाँसँग निरन्तर सम्पर्क हुन्थ्यो । दाइको अनुपस्थितिमा म आफूलाई एक्लो महसुस गर्थें । धेरै पल्ट उहाँसँग काठमाण्डौंको गल्लीमा हिँडेको ठाउँमा पुग्दा त्यतै कतै छन् कि जस्तो लाग्थ्यो । उहाँसँग गरिएको साहित्यिक विमर्श सम्झन्थें । पाँचथर स्रष्टा मञ्च काठमाण्डौंको स्थापना गर्दा उहाँले नै मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको र वैरागी काँइला दाइलाई संरक्षक प्रस्ताव गर्नु भएको । यस्ता घटनाहरु झल्झली आइरहन्थ्यो मेरो आँखामा । त्योभन्दा पनि महत्वपूर्ण कुरा बैरागी काँइलाले दार्जिलिङ्गमा साहित्यको तेस्रो आयाम चलाइरहँदा, तेस्रो आयामको प्रकाशक स्वयम् आफू बनेको बेला बैरागी काँइला दाइको अमृतालतासँग भएको लभ ट्राजिटीको विषयमा कम मर्माहान्त घटनाहरु सुनाउनु हुन्थ्यो मलाई । उता अमृतलताले काल्दाइलाई मन नपराएको काल्दाइको एकोहोरो प्रेम मात्र भएको कुरा उहाँलाई थाहाँ थियो । दिनैपिच्छे काल्दाइको खबर सुनाउन अमृतलताको घरमा पुग्नु पर्ने । उता अमृत लताले काल्दाइको कुरा के गर्छौं यु आर नट रेडी ? भन्ने । अमृतलताको कुराले म लज्जित हुन्थें । रेडी हुँ भनु भने दाइको प्रियसी । फेरि यता घरमा आउँदा मेरीलाई आँखा लाइस् कि भनेर काल्दाइको हप्की खानु पथ्र्यो । त्यो मेरा लागि कम पीडादायी क्षणहरु थिएनन् । यस्ता अनगिन्ति क्षणहरु सुनाउनु हुन्थ्यो मलाई । एक पल्ट पौवासारतापको दाइको साथी बुढो खोल्मेको रुखसँग भने मैले, तेरो साथी अमर नेम्बाङ्ग गए हैं । अब छिट्टै आउँछन् अरे । बुढो खोल्मे त नरोई बस् ल ।
मैले घर फर्क उपन्यासमा अमर दाईलाई एक जना अमर पात्रको रुपमा उभ्याएको छु । यसरी–‘अमर दाइ साहित्यकार हुन देशको । उनी अमेरिकाको एउटा कुनामा सडिएर बस्दैछन् । अस्ति फोन सम्पर्क भयो । त्यहाँ मर्दा कुकुर मराई हुन्छ । यहाँ गाउँघरले सम्मान गर्छन् । आऊ, स्वदेशमै आएर मर । तिम्रो चिहान हामी बाँच्नेका लागि मन्दिर हुन्छ भन्दिए । दाइ हुन् रिसाए रिसाउन् ।’ (पृष्ठ २३)
हो मैले अमर दाइलाई अमेरिका छँदा बारम्बार यसै भनेको थिए । उपन्यासमा लेखें । यो उपन्यास लेखिसक्न छ वर्ष लाग्यो । यसै बीचमा अमर दाइ अमेरिकाबाट फर्केर पौवासारतापको मुल घरमा बस्न थाले, भाउजूसँगै । म औधी खुशी भए । दाइलाई भेट्न घर पुगें । उपन्यासको रचना गर्भबारे सुनाए । दाइ फर्केपछि पुनः अमर दाइबारे । उपन्यासमा यस्तो भनेछु मैले फेरि– ‘एउटा खुशीको कुरा पनि पाए आमा तपाईंको अमर दाइ जसलाई तपाईले स्वदेश फर्केर आउनु, अमेरिकामा कुकुर मराई मर्नुभन्दा आफ्नै गाउँमा इज्यतसाथ मरेर शुभचिन्तकलाई रुवाउनु राम्रो हुन्छ भनेर भनेँ भन्नु हुन्थ्यो नि ! हो तिनैको घरमा पनि पुगें । एउटा संयोग म तपाईंको अर्थिबाट प्रभावित छोरो अभियानमा निस्कदा तपाईंले नै चिन्नु भएको, मान्नु भएको व्यक्ति घर फर्किएछन् । चिनजान भयो । मैले ताराको छोरा हुँ भन्दा बडो भावुक हुनु भो । मैले आमाले भनेको कुरा सुनाउदा उहाँको आँखाबाट आँशु खसे । तपाईंको भनाईले मन दुखेर आफ्नै गाउँ फर्किआए भन्नु हुन्थ्यो । घरमै बसेर साहित्य लेख्दै हुनु हुँदोरहेछ । आफ्नै घरमा मर्ने, अब अमेरिका नजाने भन्नु हुन्थ्यो । मलाई बधाई र आर्शिवाद दिनु भयो । साच्चै एउटा शिखर व्यक्तित्व, एकजना विद्धान समाजसेवी र राम्रा स्रष्टा रहेछन् अमर दाई । एक रात उहाँकै घरमा आत्मिय आतिथ्यतामा बसें । उहाँसँग साक्षात्कार गर्ने मौका पनि पाए । भाउजू पनि उस्तै, तपाईं जस्तै । शिक्षिक जागिर छाडेर पेन्सनमा दाजुसँगै अमेरिका गएकी अहिले दाजुसँगै घर फर्किछन् । दाइले तपाईंलाई संझेको छ भन्नु हुन्थ्यो ।’(पृष्ठ १२८)
उपन्यास प्रकाशनपछि पढेर दाइले मलाईं आभार प्रकट गर्नुभयो । उपन्यासबारे सयौंसँग बोल्नु भयो । र, यसबारे आफ्नो समालोचकीय समालोचना लेखिरहनु भएको थियो । सायद, उहाँको डायरीमा त्यसले पूर्णता पाएको हुनुपर्छ । यसरी अमेरिकाबाट घर फर्केपछि साहित्य र राजनीतिमा उसरीनै क्रियाशिल हुनु भो । एउटा साँझको अवसान नामक कविता कृति २०७१ मा प्रकाशित भयो । जीवनको उत्तराद्र्धमा आएर पनि उहाँ आवद्ध राजनीतिक पार्टी नेपाली कांग्रेसले फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा उठायो । जनताले जितायो । उहाँ गाउँको विकासमा क्रियाशिल थिए । अध्यक्ष भएपछि पोहोर साल मात्र राँकेमा राष्ट्रियस्तरको साहित्य सम्मेलन गरे । पौवासारतापको राजनीतिक इतिहासमा उहाँ मेन अफ दी इलेक्शन हुनु भो । जीवनभर त्यहाँको नेता भए । यस्तो अवसर इतिहासका थोरै पात्रले मात्र पाउँछ, जो अमर दाईले पाउनु भो ।
पौवामा बैरागी काँइला साहित्य प्रतिष्ठान बनाउने, सम्झनाका तरेलीहरुको अंग्रेजी संस्करण निकाल्ने, स्वर्गीय भाइ, राजेन्द्र प्रदेशीको स्मृति ग्रन्थ निकाल्ने, आफ्ना्े पालिकालाई नमूना बनाउने, स्वर्गीय बुबा आमाको नाममा स्थापना गरेको स्रष्टा पुरस्कारलाई संस्थागत गर्ने लगायतका उहाँका दर्जनौं योजनाहरु थिए । जो अमर दाइले पूरा गर्न भ्याउनु भएन । एक पटक मैले विपी कोइरालाको मृत्यु चिन्तनबारे उहाँसँग सोधेको थिए । दाइ भन्नुहुन्थ्यो–विपीका कुरा ठीकै लाग्छ मलाई । हिड्दा हिड्दै, बोल्दा बोल्दै फ्याट्ट मर्न पाए हुन्थ्यो जस्तो लाग्छ मलाई भन्नु हुन्थ्यो दाइ । नभन्दै त्यस्तै भयो, २६ गते आफ्नो पालिकाको जनतालाई सम्बोधन गर्दा गर्दै दाईको परान पखेरु उड्यो । अझ दशक बाँचेको भए हुन्थ्यो, दाइले धेरै काम गर्नुहुन्थ्यो । तर, सोचजस्तो कहाँ हुनु र जीवन ? भएन । बाँच्नेलाई भेट्न पाइएन, बोल्न पाइएन्, देख्न पाइएन भन्ने पीर हुनु स्वभाविक हो । तर, जन्मेपछि केही गर्ने र मर्ने निश्चित भएपछि मरण त अमर दाईको जस्तो होस् । यस्तो मराई स्वर्गीय मराई हो । यो प्रकृतिको मराई थोरै मान्छेले मात्र मर्न पाउँछन् । जसले जनताको सधैं सोझो चिताएर काम गरेको होस् । हो, दाइ तपाईंको भौतिक शरिर मर्यो । तर, तपाईं आफ्नो सिर्जनामा अमर हुनुहुन्छ, नाम जस्तै । फेरि पनि भन्छु–‘सिलौटीमा अजम्बरीको बोट छ, त्यहीँ बोट हो । सम्झनाका तरेलीहरु । त्यहाँ मणिको खानी पनि छ । त्यहीँ हो, स्रष्टा अमर नेम्बाङ्ग । त्यहाँ युवासाम, थेबासाम पनि देखें मैले । नेपाली बाङ्मयको सधैं साधना गर्ने तपश्वी पनि नेम्बाङ्गनै हुन्, जो संझनाका तरेलीहरुमा उत्रियो छ्यातछ्याती भएर । अनि त्यो अजम्बरीको बोट कसरी मर्छ ? मर्दै मर्दैन, अब त्यो बोट कतै कल्पिदैंन पनि ।’(आँखा साप्ताहिक)
यिनै शब्दमा मेरो श्रद्धाञ्जली अनुदित होस् । अमर दाइ नमस्ते !


2649 पटक हेरिएको 






