लुनार पात्रो अनुसार कोरियन नयाँ बर्ष अर्थात ‘सलनाल’ भर्खरै सकिएको छ । प्रायः अङ्ग्रेजी पात्रोको फेब्रुअरी महिनाभित्र पर्ने ‘सलनाल’ यो बर्ष ५ तारिख परेको थियो ।
कोरियाको ठुला २ चाड मध्ये कोरियन दशै “छुसक“ पछि यो दोस्रो महत्पूर्ण को पर्व हो । विशेष गरी एकापसमा शुभकामना आदानप्रदान गरेर मनाइने नयाँ वर्षमा कोरियन राष्ट्रिय पोसाक ‘हानबोक’ लगाएर आफुभन्दा ठुलाबडाहरुलाई ढोग गरी आशिर्वादसँगै दक्षिणा लिने चलन छ ।
बितेका आफन्तहरुको सम्झना गर्दै मनाइने ‘सलनाल’ मा विषेश परिकारका रुपमा पिठोबाट बनाइएको तकको झोल खाने, चङ्गा उडाउने र पासा खेलिन्छ । हरेक बर्ष तीन दिनसम्म मनाइने कोरियन नयाँ बर्ष सलनालमा यो पटक शनिबार र आइतबारको सार्वजनिक विदा समेत सँगै परेकोले प्रायः सबै कम्पनीहरुले लगातार ५ दिनसम्म विदा दिएका थिए ।
नेपालीहरुको लागी रोजगारीको आकर्षक गन्तव्यको रुपमा रहेको कोरियामा करिब ५० हजार बढी नेपालीहरु रहेको अनुमान गरिन्छ । विदाको समयमा आफन्त तथा साथीभाई भेट्न सहज भएकोले प्राय सबै नेपाली राजधानी सौलस्थित पर्यटकीय शहर तोङ्देमुनमा अरुठाउँभन्दा बढी उपस्थित हुने गरेका छन् । त्यसो त नेपालीहरुकै भिडभाडका कारण स्थानीयलाई आवत जावतमा समेत समस्या देखिन थालेपछि छुसक र सलनालमा कोरियन सरकारले भीड व्यवस्थापनको लागी प्रहरी समेत परिचालन गर्ने गरेको छ । तोङ्देमुन रेल स्टेसनको ३ नम्बर गेट नेपालीहरु माँझ निकै लोकप्रिय छ, जसले जसलाई भेट्न चाहे पनि प्रायः ३ नम्बर गेट भेट्ने उपयुक्त स्थल हो । तीन नम्बर गेट आउनुस् भने पछि ढुक्क हुन्छ । सजिलै भेट हुन्छ । त्यही गेटको वरिपरी नेपाली व्यवसायीहरुद्वारा संचालित होटल तथा पसलहरु प्रशस्तै छन् । विभिन्न कार्यक्रमका टिकट बिक्रेताहरुको पनि भ्याइनभ्याई हुन्छ । विभिन्न उदेश्यले स्थापित सामाजिक संघ संस्थाहरुले नेपाली कलाकार सहितको कार्यक्रम हरेक छुसक र सलनालमा गर्दै आइरहेका छन् । यस्ता किसिमका कार्यक्रमहरु गर्नअघि आयोजक संघ संस्थाहरु र अभिभावक संस्थाको रुपमा रहेको नेपाल सम्पर्क समिति एनसिसि सहितको संयुक्त छलफल पछि अनुमति दिइने नेपाल सम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष अञ्जु केसीले बताइन् । विगत जस्तै यो बर्ष पनि धेरै कार्यक्रम रहेकोले सबैबाट निमन्त्रणा आएको र ल्होसार समेतसँगै परेको कारण आफु अत्यन्तै व्यस्त हुनु परेको गैरआवासीय नेपाली संघ दक्षिण कोरिया एनआरएनए की अध्यक्ष लक्ष्मी लामा गुरुङले बताइन् ।
कोरियामा नेपालीहरुद्वारा संचालित संस्थाहरु अहिले सम्मको तथ्यांक अनुसार १०० भन्दा बढि रहेको अन्तर्राष्ट्रिय झापाली समाज एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष राजु थापा बताउँछन् । यो पटकको सलनालमा आधिकारिक रुपमा तीनवटा संस्थाहरुले नेपाल आइडल सिजन–२ का टप–५ सहभागीदेखि लिएर द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी श्रेया राईसम्मका चर्चित कलाकारहरुलाई कोरिया ल्याएर नेपालीहरुलाई भरपुर मनोरञ्जन दिलाए ।
मासिक १ लाख ५० हजार रुपैयाँ न्यूनतम तलब रहेको कोरियामा औद्योगिक क्षेत्रको तुलनामा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नेहरुका लागि भने यस्ता चाड पर्वहरुले खासै महत्व राख्दैन । छुट्टी नमिल्ने या मिले पनि कार्यस्थल राजधानीबाट धेरै टाढा हुने भएकाले सहभागी हुन गाह्रो हुने गरेको छ । सहकर्मीहरुँग आफैले आलोपालो गरेर बस्नुपर्ने महिनामा प्रायः दुई दिन मात्रै विदा दिने कम्पनीहरु धेरै छन् ।
उदयपुर सेवा समाज दक्षिण कोरियाले ४ तारिखमा कलाकारहरु शिव परियार, मिलन नेवार, निशान भट्टराई, सन्ध्या बुढा, श्रेया राई लगायतका कलाकारहरुमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो । दुर्गम क्षेत्रका बृद्ध तथा बालबालिकाहरुको स्वास्थ्य सेवाको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक महेन्द्र राईले जानकारी गराए । नेपाल आइडल सिजन –२ का टप–५ प्रतिस्पर्धी सहितका कलाकारहरुको प्रस्तुतिमा नुवाकोट समाज दक्षिण कोरियाले पनि यो बर्षको सलनाल धमकेदार बानायो । दुर्गम गाउँको शिक्षा र स्वास्थ्यको लागि सहयोगार्थ कार्यक्रम गरिएको संयोजक सोम तामाङ बताउँछन् । यस्तै जातीय संस्थाहरु पनि कोरियामा प्रसस्तै छन् । यस मध्ये यो बर्ष नेवार समुदायहरुको साझा संगठनले पनि गायक पुस्पन प्रधान, गायिका शर्मिला श्रेष्ठ, डान्सर रेखा राई लगायतका चर्चित कलाकारहरुका साथ भिन्तुना सांगीतिक सौगात भाग–२ सलनालको पहिलो दिन ३ तारीख सम्पन्न गर्यो । पत्रकार रबि लामिछानेले घोषणा गरेको रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको नेवाः स्पुस्च दक्षिण कोरियाका अध्यक्ष पुरु जोशीले अवगत गराए । यस्तै सिरिजङ्गा इन्टरट्रेनमेन्टले पनि लिम्बू कथानक चलचित्र “के साङ्ला“ नायिका लक्ष्मी योङहाङको उपस्थितिसँगै प्रदर्शन गरेर नयाँ बर्ष मनोरञ्जनात्मक बनायो । नेपालका विभिन्न राजनैतिक दलहरुको प्रवास संगठनहरुले पनि विदाको अवसर पारेर अधिवेशन, भेटघाट, चियापान लगायतका कार्यक्रमहरु सम्पन्न गरे भने विभिन्न उदेश्यले संगठित युवाहरूको समुहहरुले डान्स पार्टी लगायतका कार्यक्रमको आयोजना गरेर सन २०१९ को कोरियन नयाँ बर्ष सलनालमा कोरियामा रहेका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिलाए ।