इलाम/प्रयोग तथा परामर्श विधिबाट थेरापी गरिने गरि विगेन नेपालले आफ्नो १७ औं शाखा इलाममा विस्तार गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले आज शाखाको उद्घाटन गरे । २५ वर्ष अघि कोरियन थेरापीका रूपमा शुरु भएको यो थेरापी प्रविधि नेपालमा चार वर्ष अघि भित्रिएको थियो । अपाङ्गता भएका व्यक्ति, हिंड्न नसक्ने, हातखुट्टा नचल्ने, दीर्घरोगी, मधुमेय, उच्चरक्त चापका विरामी, प्यारालाइसेस भएका विरामीलाई थर्मल थेरापीका माध्यमबाट तन्दुरूस्त गराउने उद्देश्यले यो शाखा विस्तार गरिएको विगेन नेपालका प्रबन्धक तेजबहादुर गुरूङले बताए ।
शाखाले निःशुल्क रूपमा सेवा प्रदान गर्नेछ । शाखाको उद्घाटन गर्दै नगरप्रमुख बस्नेतले, सर्वसाधारणका लागि नीजि स्तरबाट आएको यो थेरापी सेन्टरलाई नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आधुनिक जीवन शैली, खानपानआदिका कारण विरामी परेका व्यक्तिहरूलाई यो थेरापी कामयोगी रहेको बताए । यसैगरि इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्ला बासीको सेवाका लागि निःशुल्क सेवा प्रदान गर्न आएको यो शाखालाई आवश्यक सुरक्षा प्रदान गर्ने बताए । विगेन नेपालले बिरामीको थेरापीका लागि चारवटा मेशिन तथा प्रविधि जडान गरेर थेरापीको काम शुरू गरेको छ ।