
इलाम/मध्य पहाडी क्षेत्रमा रहेको नेपालको एक मात्र रामसार क्षेत्रमा सुचिकृत माइपोखरीको संरक्षण र विकासको लागि १० वर्षे कार्ययोजना निर्माण गरिने भएको छ । पहिलो पाँच वर्षे कार्यायोजनाका काम पुरा नहुँदै त्यसको म्याद सकिएपछि अर्को कार्ययोजना बनाउने निर्णय गरिएको हो । विश्व सिमसार दिवसको अवसरमा शनिबार माइपोखरीमा बसेको माइपोखरी सामसार व्यवस्थापन समितिलेको बैठकले दश वर्षे कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो । पहिलो कार्ययोजनाको म्याद दुई वर्ष अघिनै सकिएको थियो ।
पहिलो कार्ययोजना कार्यान्वयन हुन नसक्नुका कारणहरु समिक्षा गर्दै अर्को कार्ययोजना बनाउने माइपोखरी रामसार ब्यवस्थापन समितिका सदस्य सचिव डिभिजन वन अधिकृत श्रीप्रसाद बरालले बताए । ‘पहिलेको कार्ययोजना कार्यान्वयन हुन नसक्नुका कारण समिक्षा गर्छौÕ–डिभिजन वन अधिकृत बरालले भने–‘कार्यान्वयन हुनसक्ने किसिमको कार्ययोजना बनाउन जोड गर्छौ ।Õ इसिमोडको सहयोगमा रिकाष्ट भन्ने कन्सलट्यान्ट मार्फत कार्ययोजना बनाउने तयारी भइरहेको डिभिजन वन अधिकृत बरालले जानकारी दिए । त्यसका लागि केही तयारी समेत शुरु भइसकेको बताइएको छ । कन्सलट्यान्टले ड्राफ्ट तयार पारेपछि जिल्लाका सरोकारवालासँग छलफल पछि कार्ययोजनालाई अन्तिम रुप दिइने छ । पहिलो कार्ययोजनामा उल्लेखित कृयाकलाप गर्नको लागि बजेटको अभावका काम हुन सकेको थिएन । सरकारले पर्याप्त बजेट विनियोजन नगर्ने र दाताको भर पर्दा कार्यायोजनाले निर्धारण गरेको अवधिमा पर्याप्त काम हुन नसकेको स्थानीय बताउँछन् । पहिलो कार्ययोजनामा विभिन्न ३२ क्रियाकलाप समावेश थिए । तीय योजना कार्यन्वयन गर्नका लागि तीन करोड ७८ लाख २० हजार रुपैयाँ लाग्ने थियो । कार्यायोजना लागू भएयता विभिन्न सरकारी निकायबाट २० लाख हाराहारी रकम मात्रै कार्ययोजनाले तोकेको काम गर्न लगानी भएको थियो । पहिलो कार्ययोजनामा माइपोखरी रहेका मिचाहा प्रजातिको बोटा बिरुवा हटाएर रैथाने प्रजातिका बिरुवा लगाउने महत्वपूर्ण कार्यक्रम राखिको थियो । स्थानीय तह गठन भएपछि सन्दकपुर गाउँपालिकाले आयातित विरुवा हटाएर स्थानीय विरुवा लगाउन शुरु गरेको छ । गाउँपालिकाले स्थानीय प्रजातिका विरुवाको नर्सरी स्थापना गरेको छ । अहिले अन्यत्रबाट ल्याएर भएपनि माइपोरी क्षेत्रमा स्थानीय प्रजातिका विरुवा लगाउन थालिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए ।
पहिलो कार्ययोजनामा उल्लेख भएको पोखरीमा रहेको मिचाहा प्रजातिका माछा निकाल्ने, जलवायु परिवर्तनले माइपोखरीमा पारेको प्रभाव अध्ययन, ठकठके संरक्षण क्षेत्रको सुधार, गलैंचे झ्याउ विस्तार, साना पोखरीको सुधारका लागि चेक ड्याम निर्माण, निजी जग्गा व्यवस्थापन, पर्यटन व्यवसायीको क्षमता विकास, अर्गानिक कृषि प्रणालीको विकासजस्ता कार्य अपुरै छन् । माइपोखरीमा पहिले प्रसस्तै पाइने धनेश चरा अहिले लोप भइसकेका छ । त्यसलाई त्यहीं फर्काउनेगरी पोखरी आसपासको विकास गर्ने भनिएपनि अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । कार्यायोजना अनुसार व्यवस्थापन समिति गठन, रामसार क्षेत्रको सीमांकन, केही क्षेत्रमा वृक्षरोपण, बगैंचा व्यवस्थापन, सूचना केन्द्र निर्माण, पोखरीमा लागेको जालो फाल्ने, नर्सरी व्यवस्थापन, पोखरीमा पानी हाल्नेलगायत काम मात्र भएका छन् ।
९० हेक्टरमा फैलिएको माइपोखरी सन् २००८ मा रामसार सूचीमा सूचीकृत भएको हो । रामसार क्षेत्रको १.८५ हेक्टरमा पानी छ । जैविक विविधता, धार्मिक, सांस्कृतिक रूपमा महत्वपूर्ण मानिएको माइपोखरीमा २ सय ३१ प्रजातिका बोटबिरुवा, १७ प्रजातिका अर्किड, ६२ प्रजातिका जडीबुटी, ३ सय प्रजातिका चरा पाइन्छन् ।
सिमरास दिवसमा बृक्षारोपण
विश्व सिमरास दिवसको अवसर पारेर माइपोखरी क्षेमा बृक्षारोपण गरिएको छ । कार्यक्रमका अतिथिहरुले चाँप र रुद्राक्षे प्रजातिका विरुवा रोपण गरेका हुन् । अतिथिले रोपेको विरुवामा उनीहरुको नेम ट्याग समेत राखिएको छ । त्यस अघि भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बढ्दो जलबायु प्रभावबाट बच्नको लागि सिमसार क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले विकसित मुलुकको गतिविधिका कारण नेपाल जस्ता गरिव मुलुकले क्षति ब्यहोर्नु परेको बताउँदै त्यसको क्षतिपुर्ति लिनको लागि सम्बन्धित निकायहरु लाग्नुपर्नेमा जोड दिए । सन्दपुर गाउँपालिकाका अध्यक्ष उदय राईले भने सन्दकपुर क्षेत्रमा हरियाली विकास भएमात्र नदिनालामा पानी रहने भन्दै सन्दकपुर क्षेत्रमा वनको विकासमा साझेदारी गर्न अन्य स्थानीय तहरुलाई समेत आग्रह गरे । प्रमुख जिल्ला अधिकारीले वन र सिमसारको संरक्षण गरेमात्रै प्राकृतिक अवस्था भावि पीडिलाई बचाउन सकिने बताए । डिभिजन वन अधिकृत श्रीप्रसाद बरालले सिमसार क्षेत्रहरुले धेरै मात्रामा कार्वन सञ्चित गर्ने भएकाले जलबायुमा देखिएको प्रभावहरु नियन्त्रण गर्न सकिने बताए । शनिबारनै नयाँबजारको उत्तरे पोखरीमा समेत विभिन्न कार्यक्रम गरेर विश्व रामसार दिवस मनाइएको छ ।


901 पटक हेरिएको 






