खेलकुद विकास समिति सुम्बेकको आयोजना सुम्बेकमा विहिबारदेखि सुम्बेक गोल्डकप शुरु भएको छ । सुम्बेक गोल्डकपको उद्घाटन खेलमा सल्लेरी फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
सुम्बेकको नयाँ खेलमैदानमा शुरु भएको सुम्बेक गोल्डकपको उद्घाटन खेलमा प्रतगतिशिल विकास समाजलाई १–० गोलको अन्तरले हराएर सल्लेरी विजयी भएको हो । विहीबारनै हुने भनिएको अर्को खेलमा ओख्रे फुटबल क्लब अनुपस्थित भएपछि आयोजक खेलकुद विकास समितिलाई विजेता घोषित गरिएको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकरले खेलको उद्घाटन गरेका थिए । समितिका अध्यक्ष गिरीराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष ठाकूर श्रेष्ठ, वडा नं. २ का अध्यक्ष नारद लम्साल, प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम समितिका सचिव कर्णराईले सञ्चालन गरेका थिए भने कोषाध्यक्ष मिना दाहालले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा सुम्वेक माध्यमिक विद्यालयका स्काउटका विद्यार्थीहरुले मार्चपास गरेका थिए ।
२० टीमको सहभागिता रहेको सो प्रतियोगिताका विजेतालाई एक लाख एक सय एक रुपैयाँ नगद पुरस्कार, ट्रफि र मेडल र उपविजेतालाई नगद ५० हजार एक सय एक रुपैयाँसहित ट्रफि र मेडल प्रदान गरिने आयोजक समितिका अध्यक्ष रिजालले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल माघ १६ गते हुने भएको छ ।
प्रतियोगिताको शुक्रबार (आज)को पहिलो खेल चित्र फुटबल क्लब र हेल्लो जसबीरेका बीच हुनेछ । भने दास्रो खेल हेलिबोध फुटबल क्लब र माइपातल फुटबल क्लबबीच हुँदैछ ।