एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयतालाई विफल हुन नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । इलामको सूर्योदय नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले संघीयता प्रदेश र स्थानीय सरकारका कारणले मात्रै बिफल हुन सक्ने बताउँदै आफुहरु कुनैपनि हालतमा संघीयता सफल पार्नेगरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
उनले संघीयतामाथि धारे हात लगाउने काम शुरु भइसकेको भन्दै कसैले कामना गर्दैमा संघीयता बिफल नहुने बताए । संघीयता कार्यान्वयन पछि गठन गठन भएको प्रदेश र स्थानीय सरकार अलमलिएको जस्तो, सरकार धिमा गतिमा देखिएको भएपनि त्यो स्वभाविक भएको मुख्यमन्त्री राईको तर्क छ । ‘मान्छे पटक पटक हिडेको बाटोमा समेत अलमलिन सक्छ’–उनले थपे–‘संघीयता हाम्रो लागि नयाँ बाटो हो, नयाँ बाटोमा हिड्दा अलमलिनु स्वभाविक छ ।’ अहिलेको सरकारहरुलाई टालटुल काम गरेर कार्यकाल पुरा गर्ने छुट या सुविधा नभएको भन्दै प्रतिफलमा सम्बृद्धि पस्किने बाचा गरे । मुख्यमन्त्री राईले परम्परागत शैलीमानै काम गरे सम्बृद्धि प्राप्त नहुने बताए । ‘पहिलेजस्तो पैसा मात्रै खर्च गर्दा सम्बृद्धि प्राप्त हुँदैन’–उनले थपे–‘विज्ञहरुको परामर्शमा मास्टर प्लान बनाएर अघि बढेमात्रै प्रतिफल आउँछ ।’ उनले एक नम्बर प्रदेशको विकासको लागि आधुनिक मोडल तयार पार्न आफुहरु लागि परेको दावी गरेका छन् । उनले स्थानीय तहलाई समेत मोडल बनाएर काम गर्न सुझाए ।
राईले एक नम्बर प्रदेशलाई कृषिमा आधुनिक विकासका लागि अभियान थाल्ने तयारीमा प्रदेश सरकार रहेको जानकारी दिए । कृषिलाई अग्र्यानिकरण गर्दै खाद्यान्नमा प्रदेशलाई आत्मनिर्भर बनाउने सरकारको नीति रहेको बताए । फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री राईले आउँदो २० गतेबाट शुरु हुने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण गर्ने बताए । नगरपालिकाको चौथो नगरसभामा प्रदेशसभा सदस्य धिरेन शर्मा, राम राना, खिनु लङ्वा लिम्बु, काजिमान कागते, माइ नगरपालिका प्रमुख दिपक थेवे, माइजोगमाइका अध्यक्ष जेवी राई, जिससका उपप्रमुख चित्रकला बराइली, नेकपाका प्रदेश कमिटि सदस्य ध्र्रुव श्रेष्ठ, नेपाली कांग्रेसका दुर्गा बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू लगायतले मन्तब्य राखेका थिए ।
सूर्योदय पर्यटकीय नगरी घोषणा
प्रदेश सरकारले सूर्योदयलाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने नीति कार्यक्रममा समावेश गरेपछि सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरिएको छ । नगरसभाको उद्घाटनको अवसरमा मुख्यमन्त्री राईले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरेका हुन् । पर्यटकीय नगरी घोषणा भएपछि सूर्योदय नगरपालिकाले आफ्नो लेटर प्याडको लेटर हेडमा ‘सूर्योदय पर्यटकीय नगरी’ बाक्याशं थप्ने भएको छ । सो लेटर प्याडको पनि मुख्यमन्त्री राईले लोकार्पण गरे । संघीय सरकारले सार्वजनिक गरेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचिमा सूर्योदय नगरपालिकाको कन्याम श्रीअन्तु र फिक्कल समावेश भएको छ । सूर्योदयले थलथले पोखरी सहित कन्यामको विकासको लागि गुरुयोजना बनाएर कार्यान्वयन गर्दैछ ।
चियाको समस्या समाधान गर्न उद्योगीको आग्रह
चिया उद्दोगी व्यवसायीहरुले चिय क्षेत्रमा देखिएको समस्या समाधानमा पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । चिया किसान, उद्योगी तथा ब्यवसायीहरुले मुख्यमन्त्रीलाइ चिया क्षेत्रमा रहेका समस्याको समाधान गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले कृषि क्षेत्रमा सहुलियत ब्याजमा पाइने ऋण चियामा पनि लगानी गर्नुपर्ने, दोहोरो कर हटाउनुपर्ने, भारत निकासी भइरहेको हरियोपत्ति रोक्नुपर्ने, बजारको ब्यवस्था गर्नुपर्ने, नेपाली जातको बिरुवा विकास गर्नुपर्ने, पुनररोपणमा सहुलियत दिनुपर्ने लगायतका माग राखेका थिए । जवाफमा मुख्यमन्त्री राईले चिया क्षेत्रमा देखिएको समस्या समाधान हुने आश्वसन दिएका छन् । कृषि प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले चिया क्षेत्रको समस्या समाधान गर्ने आश्वसन दिएका हुन् । ‘चियाको समस्या समाधान नगरी सम्बृद्धिको कुरा अर्थहिन हुन्छ’–उनले भने–‘चियामा देखिएको समस्या समाधान गर्न हामी लाग्छौ, सवै समस्या समाधान हुन केही समय लाग्न सक्छ ।’ उनले चियामा देखिएको समस्या समाधानको लागि बोर्ड गठन गर्ने, नीति बनाउनको लागि विज्ञहरुसंग परामर्श गर्ने बताए ।