पूर्वीपहाडमा जलविद्युत् आयोजना निर्माण गति तीव्र हुँदैछ । कुनै बाधा–अवरोध नभए अबको आधा दशकमा पूर्वीपहाडले देश उज्यालो बनाउने निश्चित छ ।
संघीयदेखि स्थानीय तहसम्मका सरकार प्रतिनिधिले बारम्बार दोहो¥याइरहेको ‘समृद्धि’को सपनालाई विद्युत् उत्पादनको गतिले आशालाग्दो बनाउँदैछ । निर्माणाधीन र उत्पादनको नयाँ अनुमति पाएका आयोजनाको संख्या हेर्दा विद्युत्मा पूर्वीपहाडले देश समृद्धिमा महŒवपूर्ण इँटा थप्नेछ । देशभित्र र बाहिरबाट सामग्री ल्याएर अर्बाैं रुपैयाँ लगानी भइरहेका दर्जनौं आयोजनाले उत्पादनसमेत सुरु गरिसकेका छन् ।
संखुवासभाको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम धमाधम छ । सन् २०२२ मा काम सक्नेगरी निर्माणाधीन आयोजनाको अनुमानित लागत १ खर्ब २० अर्ब रुपैयाँ छ । ९ सय मेगावाटको यो आयोजना भारतीय सतलज कम्पनीले निर्माण गर्दैछ । संखुवासभाको मकालु गाउँपालिकामा इन्टेक र चिचिला गाउँपालिकामा पावरहाउस रहने आयोजनाको सुरुङ निर्माणको काम चलिरहेको छ । सदरमुकाम खाँदबारीबाट आयोजनास्थलसम्मको मोटरबाटो निर्माण हुँदैछ । निर्धातिर मितिमा आयोजना सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।
इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह«थुमलगायत पहाडी जिल्लामा जलविद्युत् आयोजना निर्माणको सर्वेक्षण अनुमति लिनेको संख्या हेर्दा केही वर्षभित्र पूर्वीपहाड विद्युत् उत्पादन करिडोर’ नै बन्ने देखिन्छ । विद्युत् विकास विभागको पुस ९ सम्मको तथ्यांक हेर्दा यी जिल्लामा विद्युत् उत्पादन सर्वेक्षणको अनमुति जारी भएका आयोजनाको संख्या ५५ छ ।
ताप्लेजुङमा सबैभन्दा बढी २४ आयोजनाले अनुमति पाएका छन् । अनमुति लिनेमा संखुवासभामा १५, इलाममा ५, पाँचथर र भोजपुरमा २–२ तथा तेह«थुममा एउटा आयोजना छन् । सय मेगावाटभन्दा माथिका ४ वटा, २५ देखि सय मेगावाटका १२ र बाँकी २५ मेगावाटभन्दा मुनिका आयोजनाले अनुमति पाएको विभागको तथ्यांक छ । इलाम, ताप्लेजुङ र पाँचथरका ८ आयोजनाको विद्युत् अहिले इलामको गोदक सबस्टेसन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । इलामको हिमालदोलखाको विद्युत् चाहिँ तिल्केनी सब स्टेसनमा जोडिएको छ । सबस्टेसन तथा काबेली करिडोर आयोजना प्रमुख दीपेन्द्र द्विवेदीका अनुसार वर्षामा पूरा क्षमतामा उत्पादन हुने यी आयोजनाबाट हिउँदका केही महिना १ तिहाई हाराहारी मात्रै उत्पादन भइरहेको छ ।
निकै मोटो रकम खर्च हुने आयोजना निर्माणमा खासै जटिलता नभएपछि कतिपय मेसिन–उपकरण भारत र चीनबाट समेत ल्याउनुपरिरहेको आयोजना निर्माणकर्ता बताउँछन् । आयोजनाहरूका लागि हाइड्रो मेकानिकल सामान विशेषगरी भारतबाट र इलेक्ट्रो मेकानिकल सामान युरोपेली मुलुकहरूबाट समेत ल्याउनु परिरहेको छ । ‘स्टिल प्लेट्स्, टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, स्विचगेयरलगायत धेरै सामान विदेशबाटै आउँछन्,’ पञ्चकन्या हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक सन्तोष प्रधान भन्छन्, ‘सिमेन्ट, गिटी–बालुवा, डन्डीजस्ता सामान नेपालकै प्रयोग गर्छाैं ।’
पञ्चकन्याले इलामको माबुमा १८ मेगावाटको अप्पर माई र अप्पर माई (क्यासकेड) आयोजना सञ्चालन गरेको छ । आयोजनाका लागि ३ अर्ब ३८ करोड रुपैयाँ लगानी भएको उनले बताए । ‘आयोजना निर्माण गर्न प्रतिमेगावाट १८ करोड ७० लाख रुपैयाँ हाराहारी खर्च हुन्छ,’ उनले भने, ‘जुनसुकै आयोजनाका लागि कम्तीमा २० प्रतिशत निर्माण सामग्रीमा विदेशकै भर पर्नुपर्छ ।’
इलाममा भर्खरै सञ्चालनमा आएको ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ । आयोजना प्रवद्र्धक सुपरमाई हाइड्रोपावर प्रालिका अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना निर्माणका लागि केही वर्षअघिसम्म चीनबाट धेरै मूल्यका सामग्री ल्याउनुपरेपनि अहिले भारत र युरोपेली मुलुकहरूबाट आउन थालेको बताए । ‘अहिले त युरोपको प्रविधिमा भारतमै पनि धेरैखाले मेसिन–उपकरण निर्माण हुन थालेका छन्,’ उनले भने, ‘पेनस्टक, हेडरेस पाइपलगायत सामान ल्याउन त्यति झन्झटिलो पनि छैन ।’ जलविद्युत् आयोजनाका सामग्री आयात गर्दा १ प्रतिशत मात्रै भन्सार लाग्छ ।
सुपरमाईले इलामकै इलाम माइखोलामा १ अर्ब ७९ करोड लगानीमा ९.६ मेगावाटको सगरमाथा जलविद्युत् आयोजना निर्माण गर्दैछ । सुपरमाईले दैलेखमा ३.७ मेगावाटको द्वारीखोला र दोलखामा १ मेगावाटको कुथेलीभोखरी आयोजना सञ्चालन गरेको थियो ।
इलाममा सानिमा माई, पञ्चकन्या, हिमाल दोलखा, पुवाखोला, पुवाखोला–१ र जोगमाई आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । इलाम, पाँचथर र ताप्लेजुङका सबै आयोजनाबाट अहिले २७ मेगावाट हाराहारी मात्रै विद्युत् उत्पादन भइरहेको सबस्टेसनले जनाएको छ ।