प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास समृद्धि ल्याउने लक्ष्यमा अडिग रहेको बताएका छन् ।
नेपाली काँग्रेस त्यागेर आज नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका पूर्व सांसद तीर्थराज भूषाललाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
नेकपाको विधान र घोषणा पत्र अनुसार नै सरकारले आफ्ना कार्यक्रमहरु अघि बढाउने प्रधानमन्त्री ओलीले बताए । “विकास र समृद्धि नेकपा कै नीति र कार्यक्र अनुसार आउँछ यसमा ढुक्क हुनुहोस । सरकार यही नीति र कार्यक्र अनुसार अघि बढ्छ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरिसकेकोले अब विकासमा अझ गतिका साथ अगाडि बढ्ने बताएका छन् । “संविधान कार्यान्वयनका लागि आवश्यक कानुनको निर्माण गर्नुपर्दा अलिकति समय लाग्यो” प्रधानमन्त्री ओलीले भने “कानुन निर्माणका काम अब सकिएकोले विकासमा थप गतिका साथ अब सरकार अघि बढ्छ ।”
प्रधानमन्त्री ओलीले पार्टी एकतावद्ध भएर अघि बढेको बताए । “पार्टीमा बहस,विवाद र छलफल हुन्छन् ” प्रधानमन्त्री ओलीले भने “तर निर्णय सर्वसम्मत हुन्छन् ।” पार्टी एकतामा केही ढिलाइ भएपनि अब केही समयमै सबै कमिटीहरुको एकताले पूर्णता पाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।