इलाममा नौं दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको भन्दै काठमाण्डौं लैजाने तयारी भइरहेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट विहीबार आएको विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षणपछि डा. केसीको स्वास्थ्य अवस्था गम्भिर भएकाले तत्काल उपचारकालागि सुविधा सम्पन्न ठाउँमा लैजानु पर्ने बताएको छ । डा. केसीको मुटुको चालमा बढी उतार चढाव आएको छ । विहीबार काडमाण्डौंबाट आएका चिकित्सा शिक्षा नीति तर्जुमा गर्न गठित उत्चस्तरीय कार्यदलका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गाना र डा. अभिषेकराजसिंहले डा. केसीलाई काठमाण्डौं लैजानका लागि पहल गरिरहेका छन् ।
टोलीले डा. केसीलाई काठमाण्डौं जानका लागि अनुरोध गरिरहेका छन् । तर, डा. केसीले भने जान मानेका छैनन् । तर, स्वास्थ्य अवस्था गम्भीर भएकाले डा. केसीको मञ्जुरी बिना पनि काठमाण्डौं लगिने अधिवक्ता सुरेन्द्र भण्डारीले बताए । विगतमा पनि माथेमा लगायतको सल्लाह सुझाव मान्ने भएकाले काठमाण्डौं जानका लागि पनि डा. केसीले स्वीकृत दिने बताइएको छ । ढिलोमा शुक्रबार १२ बजेसम्ममा डा. केसीलाई काठमाण्डौं लैजाने तयारी भइरहेको छ ।
काठमाण्डौंको टिचिङ्ग अस्पतालमा लगिने र डा. केसीको अनशन भने जारी रहने पनि बताइएको छ ।