इलाम . चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग गर्दै अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसीलाई अस्पताल सारिएको छ । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर देखिएको र छाती, मुटु लगायतका संवेदनशील अङ्गमा संक्रमण देखापर्न थालेपछि उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइएको हो ।
इलाम सदरमुकामस्थित फूलगाँछीमा अनसनमा रहेका डा.केसीलाई बिहान ९ बजे जिल्ला अस्पताल ल्याइएको हो । डा.केसीको स्वास्थ्य चिन्ताजनक बन्दै गएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको उनको उपचारमा रहेका डा. रामकृष्ण आचार्यको भनाइ छ । स्वास्थ्य अवस्था बिग्रदै गएपछि पटक पटक अस्पतान भर्ना गर्न खोज्दा केसी नमानेपछि अस्पताल भर्ना गर्न सकिएको थिएन । तर, स्वास्थ्यमा समस्या देखिएको र थप स्वास्थ्यमा समस्या देखिने खतरा बढेपछि आज भने केसीलाई अस्पताल भर्ना गरिएको डा. आचार्यको भनाइ छ । ‘उहाँको स्वास्थ्यमा धेरै किसिमका समस्या देखिएका छन् । उहाँको पिसाबमा समस्या देखिन थालेको छ भने शरीरमा पानीको मात्र समेत कम भएको छ । त्यस्ले गर्दा शरीर एकदमै सिथिल बनेको छ ।’
संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकको परिमार्जनकोमाग गर्दै डा. केसी पुष २५ देखि इलाममा अनशनमा छन् ।


731 पटक हेरिएको 






