डा. गोविन्द केसीले १६ औं अनशनलाई निरन्तरता दिइरहनु भएको छ । अनशन गर्ने, विरोध गर्ने, फरक विचार राख्ने व्यक्तिको नैसर्गिक अधिकार हो । यसलाई मानवअधिकारको दृष्टिले हेर्दा सवर्था जायज देखिन्छ । यसका लागि डा. केसीलाई सलाम । चिकित्सा शिक्षामा सर्वसाधारण नेपाली जनताको पहुँचमा हुनुपर्छ भन्ने तपाईंको माग उचित हो । त्यही विषयलाई तपाईंले आफ्नो १५ औं अनशन मार्फत सरकारलाई सहमति गराउनु भएको हो । र, त्यसैको परिणाम स्वरुप सरकारले शिक्षा तथा स्वास्थ्य विधेयक संसदमा पेश गरेको अवस्था छ । उक्त विधेयकलाई अध्ययन गर्दा तपाईंको माग ९५ प्रतिशत सम्बोधन भएको देखिन्छ । यसको जस तपाईंलाई नै जानु पर्छ । आजफेरि तपाईं आफ्नो माग पूरा भएन भनेर आफ्नो ज्यानलाई जोखिममा राखेर अनशनरत हुनुहुन्छ । आन्दोलन मेरो गोरुको बाह्रै टंका भनेजस्तो हुँदैन । राज्यले तपाईंको माग सम्बोधननै नगरेको भए । तपाईंलाई जनताको समर्थन हुन्छ । आज लाखौं जनताले गोविन्द केसीको जीत भयो भनिरहेका छन् । आएको विधेयक केसीको आन्दोलनको परिणाम हो भनिरहेका छन्, एकातिर भने अर्कातिर तपाईं अनशनको निरन्तर बालहटमा हुनुहुन्छ । तपाईंलाई केही हजार समर्थकले साथ पनि दिइरहेको देखिन्छ । तिनलाई पनि मेरो सलाम । तर, हामी अनशनकारी, नेता र विद्दवानको भन्दा जनताको चेतनास्तर कमजोर छ भन्ने सोच्नु महामुर्खता हो । अहिले भइरहेको त्यहीँनै छ ।
कुनै पनि व्यक्तिको ज्यानको सुरक्षा गर्ने पहिलो कर्तव्य राज्यको हुन्छ । डा. केसीको जीवनको सुरक्षा राज्यले गर्नुपर्छ । केसीमा मात्र होइन, केसीले जस्तै माग राखेर अर्का अनशनकारी विजय थापा पनि इलाममा अनशनरत हुनुहुन्छ । वहाँको अनशन बस्ने अधिकारलाई पनि सलाम । उनको पनि जीवन रक्षा राज्यले गर्नुपर्छ । डा. केसीलाई महत्व दिने र थापालाई कम महत्व दिने विभेदपूर्ण व्यवहार राज्यले गर्नु हुन्न । डा. केसीको पक्षमा उभिनेहरुले थापाको विरुद्धमा बोल्नु पर्ने कारण पनि होलान् । त्यस्तै थापाको पक्षमा जस्तै केसीको समर्थकहरुले जसरीनै थापा पक्षकाले समर्थनमा विरोध जुलुस निकाल्न पनि पाउँछन् । यसै गर्दै जाने भए के हाम्रा सडकका चोक चोकमा एकपछि अर्को गर्दै अनशनकारीहरुलाई भेलापार्ने र राजनीतिक पार्टीहरुले आफ्नो सैद्धान्तिक पक्षलाई विर्सेर अनशनकारीको कार्यकर्ता बनेर नारा जुलुस मात्र गरिरहने हो । यो सोचनीय विषय छ । महान दार्शनिक विलियम सेक्सपियरले मृत्यु दर्शनलाई आत्मसाथ गरेका छन् । अर्थात मान्छे जन्मनु भनेकै केही गर्ने र मर्नलाई हो । आज डा. केसीले राज्य सर्वथा निरकुंश भएकै हो, जनताको पक्षबाट उठाएको मागलाई सरकारले सम्बोधन नगरेकै हो भने आफू र नागरिकप्रति सर्वथा अन्याय भएकै हो भन्ने लागेको भए डा. केसीले आफ्नो प्राण त्यागेर लोकलाई देखाउनु सक्नु पर्छ । जसरी हाम्रै देशको क्रान्तिकारी नारी योगमायाले राणा शासनको अत्याचारको विरुद्धमा आफूले अरुण नदीमा जलसमाधिस्थ गरिन् । र, उनले आफ्ना अनुनायीहरुलाई सामुहिक जलसमाधिस्थ हुन आव्ह्रान गरिन । उनको आव्ह्रानमा ७८ जनाले जलसमाधिस्थ गरेर राणा शासनको विरुद्धमा आन्दोलन गरिन । आज यो देशको सरकार तपाईंले भने जस्तै निरकुंश भएको हो भने उसको अन्त्यका निम्ति योगमायाले जस्तै तपाईंले आन्दोलनको आव्हान गर्न सक्नु पर्छ । त्यतिखेर तपाईंलाई अहिले साथ दिनेहरु कति जनाले समर्थन गर्छन् र तपाईंसँगै आत्मदाह गर्न तयार हुन्छन् । त्यो लोकले देख्न पाउनु पर्छ । त्यस उप्रान्त सार्वभौम जनता आफैंले फैसला गर्छन् डा. गोविन्द केसी ठीक कि राज्य ठीक ? निरकुंश राज्य जनताले पालेर राख्नु पर्दछ भन्ने छैन । सार्वभौम नेपाली जनताले तपाईंका कुरालाई ठीक देखे भने तपाईं अमर रहनुहुन्छ । होइन, तपाईंले भने जस्तै वर्तमान सरकार निरकुंश हो भने तिनलाई पनि जनताले पत्ता साफ गर्ने छन् ।
हाम्रा देशका महान चिन्तक विपी कोइरालाले इच्छा मृत्युको कानुन यो देशमा आवश्यक छ भनेका थिए । आज मान्छेले आत्महत्या गर्नु गैर कानुनी ठहरिन्छ । त्यसैलाई आधार मानेर हेर्दा डा. केसी राज्यको नजरमा मर्नु हुँदैन । र, अर्का अनशनकारी थापा पनि मर्नु हुँदैन । तर, मर्छु भन्नेलाई मर्न पाउने अधिकार हुन्छ कि हुँदैन । आदिदेखि आजसम्म मृत्यु रोज्नेहरुलाई कसले रोक्न सकेको छ ? म विपीको विचारलाई सतिसाल जस्तो उभिएर समर्थन गर्छु । डा. गोविन्द केसी आफू मरेर आफ्नो मागलाई पूरा गर्न चाहानु हुन्छ भने उहाँको अभियानलाई मेरो सतत् सलाम छ । होइन, विगतकै जस्तो निरन्तरता दिनु हुन्छ भने तपाईंको आन्दोलन पनि सेक्सपियरले भने जस्तै रङ्गशालामा आएका एउटा नाटकको पात्र जसले आफ्नो अभिनय गरेको मात्र ठहर्छ ।