इलाममा किन १६ प्रतिशतले मात्र गराए स्वास्थ्य विमा

स्वास्थ्य विमा गराउनेको संख्या ४७ हजार मात्र

  सरलपाटी सम्वाददाता

 721 पटक हेरिएको

अढाई वर्षअघि शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा इलामका ४७ हजार जनाले बिमा गराएका छन् ।
दुई लाख ९० हजार जनसंख्या रहेको इलाममा मंसिर समान्तसम्ममा ४७ हजार पाँच सय ९१ जनाले बिमा गराएका हुन् । त्यसयता बिमा गरिएका कतिपयको दर्ता बाँकी रहेकाले पुस मसान्तसम्ममा बिमा गराउनेको संख्या तीन हजार थप हुने दर्ता अधिकारी खेम अधिकारीले बताए । स्वास्थ्य सेवालाई सवै नागरिकको पहुँच पुर्याउने उदेश्यले शुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम इलाममा लागु भएको अढाई वर्षमा १६ प्रतिशत नागरिकको मात्रै पहुँचमा पुगेको छ । गत वर्षको तुलनामा इलाममा छ प्रतिशत मात्रै बिमागराउनेको संख्या बढेको पाइएको छ । यस्तै गतिको बृद्धिले जिल्लाका सवै नागरिकको पहुँचमा पुग्न अझै बर्षे लाग्ने भएको छ ।
अहिलेसम्ममा इलामका दश हजार पाँचसय भन्दा बढि परिवारले स्वास्थ्य बिमा गराएका छन् । २०५८ सालको जनगणना अनुसार इलामको घरधुरी संख्या ६४ हजार पाँचसय दुई रहेको छ । इलाममा शुरुमानै स्वास्थ्य बिमा कार्यक्रम लागु भएपनि उपचार पाउने केन्द्र टाढा रहेकाले बिमा कार्यक्रमले ब्यापकता लिन नसकेको हो । जिल्लाका चार प्राथामिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा बिमितले सेवा पाउँछन् । प्राथामिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल पायक नपर्ने स्थानका नागरिक बिमाप्रति आकर्षित हुन नसकेको दर्ता कर्मचारी स्वीकार्छन् । ‘प्रास्वके र अस्पताल वरिपरी बिमा गराउनेको संख्या बाक्लो छ’–उनले भने–‘उपचार पाउने ठाउँ टाढा परेका ठाउँमा कमैले मात्र बिमा गराएका छन् ।’
कतिपय ठाउँमा दर्ता सहयोगी समेत खालि रहेकाले बिमा गराउन समस्या छ । इलामका पाँच ठाउँका दर्ता सहयोगीले काम छाडेका छन् । ‘दर्ता सहयोगीनै अन्यत्र गएपछि कुनै ठाउँमा छ महिनादेखि दर्ताको काम रोकिएको छ’–उनले भने–‘दर्ता सहयोगी खाली भएको ठाउँमा छिट्टै दर्ता सहयोगी छनोट गरेर नियुक्ती गर्छौ ।’ दर्ता सहयोगीलाई निश्चित कमिशनमा काम लगाइएकाले बिमा गराउने काम उनीहरुको पार्टटाइम जव जस्तो भएको छ । त्यसकारण बिमा गराउन इच्छुक नागरिकले समेत इच्छाएको बेला बिमा गराउन समस्या छ । बिमा गराउन दर्ता सहयोगी घरघरै पठाइने कार्यक्रम छ । प्रत्येक एक हजार नागरिकको बिमा गराउँन एक जनाको दरले दर्ता सहयोगी परिचालीत छन् ।
बिमा गराए नागरिहरुले इलाम जिल्लाबाट मात्रै ५० हजार सात सय २४ पटक सेवा लिएका छन् । इलामबाहिरका स्वास्थ्य संस्थाबाट सेवा लिनेको संख्या पनि बाक्लै छ । ‘२० हजार हाराहारीले इलामका स्वास्थ्य संस्थाहरुबाट सेवा लिएका छन्’–अधिकारी भन्छन्–‘ विशेषज्ञ सेवाका लागि काठमाडौं या अन्यत्र गएर उपचार गराउने पनि छन् ।’
बिमा कार्यक्रम मार्फत गरिव नागरिकको निशुल्क बिमा गराउने कार्यक्रम छ । तर, इलाममा गरिवीको रेखामुनी रहेका नागरिकलाई परिचयपत्र वितरण गरिएको छैन । परिचय पत्र नहुँदा गरिवहरुले निशुल्क स्वास्थ्य बिमा गराउन पाएका छैनन् । गरिव घरपरिवार सहयोग समन्वय बोर्डले गरेको सर्वेक्षण अनुसार इलाममा २१ हजार गरिव छन् । तर उनीहरुलाई परिचय पत्र वितरण नुहँदा सेवासुविधाबाट बञ्चित छन् ।
इलाममा उपचार सेवा नभएका बिरामी बिरामीले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको नोवल मेडिकल कलेजमानै पुग्नुपर्ने ब्यवस्था छ । मध्यमस्तरका रोगीका लागि झापामानै उपचार गराउने ठाउँ नहुँदा टाढा धाउनुपर्ने बाध्यता छ । यसअघि झापाको विर्तामोड स्थित विएण्डसी अस्पतालले बिमीतलाई सेवा दिने गरेको थियो । तर, बिएण्डसीमा डेढवर्ष अघिदेखिनै सेवा बन्द छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार