तुसारोबाट जोगिने रायो सागबाट राम्रो आम्दानी

  सरलपाटी सम्वाददाता

 2122 पटक हेरिएको

बाक्लो तुसारो पर्न थालेपछि सूर्योदयको नगरपालिका–६ तारगाउँमा लगाइएका आलुको बोटनै मर्न थालिसक्यो । बालि नपाक्दै तुसारोले बोटै सखाप पारेपछि आलु उत्पादन होलो दिलीप खवासलाई आशा छैन । आलु मात्रै होइन तुसारोले अलैची अम्लिसो लगायतका अन्य बोट विरुवा मर्न थालिसकेको छ । तर, रायोको सागलाई भने तुसारोको मलनै लागेको जस्तो लहलह हुँदैगएको छ । तुसारोले रायोलाई कुनै असर गर्दैन । झन लहलह हुन्छ । तुसारोपछिको रायो लयालु र स्वादिलो हुने समेत हुने भएकाले लेकाली क्षेत्रको रायोले राम्रो भाउ पाउँछ ।
सुर्योदय गाउँपालिका तारगाउँका किसानको लागि हिउँदेयामको मुख्य आम्दानीको श्रोतनै रायोको साग बनेको छ । यहाँका किसाले हिउँदे बालिको रुपमा बारीभरि रायोको खेती लगाएका छन् । तारगाउँकै लिलबहादुर भुजेलले दुई अढाइ रोपनी क्षेत्रमा रायो खेती लगाएका छन् । त्यसबाट उनले एक सिजनमा ४०–५० हजार रुपैयाँ आम्दानी गर्छन् । वर्षाको बेला रायोको खेती गर्दा १०–१५ हजार आम्दानी हुन्छ । गाउँभरका धेरैजसोको घरमा रायो रोपिएको छ । ‘अलि औल तिर मात्रै रायो खेती हुदैन’–स्थानीय ठाकुर नेत्र खड्काले भने–‘यहाँ रायो नलगाएको बारी भेटिदैन ।’
एउटा घरमा कम्तीको २० हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्मको रायो साग उत्पादन हुने गरेको स्थानी ठाकुर खवास बताउँछन् । ‘नभएको पनि १०–२० हजारको साग हुन्छ’ उनले भने–‘धेरै बारीमा साग रोप्नेले लाख रुपैयाँसम्म कमाउँछन् ।’ रायो उत्पादन गर्ने किसानलाई बजारको खासै समस्या छैन । मची राजमार्गले भेट्ने नजिकको बजारमा पु¥याउँदा रायो विक्री हुन्छ । कतिले तराइका ब्यवसायिलाई साग पठाउने गरेका छन् । ‘थोर थोरै भएको बेला हर्कटे बजारमा पु¥याउँछौं ।’ –रायोको बजारका बारेमा जानकारी दिदै किसान लिलबहादुर भुजेल भन्छन्–‘अलि बढि भयो भने झापा पठाउँछौ, बारीबाटै साग उठाउन ब्यपारी यहि पनि आउँछन् ।’
साग मुठा बनाएर दैनिक गाडीमा लोड गरी झापा पठाउने किसान रकम बुझ्न १५–२२ दिनमा पुग्छन् । स्थानी बजारमा रायोको साग मुठाको १० देखि १५ रुपैंयाँका दरले विक्री हुन्छ । झापाका बजारमा पु¥याउँदा अलि बढिमा विक्री हुन्छ ।
रायोलाई अरु बालीको जस्तो कडा मेहेनत गर्नु पर्दैन । मलिलो बारीमा रोपेको एक महिनादेखि आम्दानी लिन सकिन्छ । ओसिलो जग्गामा फस्टाउने रायोका लागि न गोडमेल गर्नुपर्छ न त अरु बालीमा जस्तो पानी नै लगाउनु पर्छ । आकासे शितकै भरमा उत्पादन दिने रोयो बारीमा रोपेपछि टिप्न मात्र पस्छन् ।
दैनिक १०–१२ गाडी (पिकअप) यहाँ उत्पादन भएको रायो लिएर विहानको झिसमिसेमा झापाका विभिन्न बजारमा पुग्छन् । झापाको विर्तामोड, चारआली, धुलाबारी, काँकडभिट्टा, बुधबारे बजार इलामको सागको मुख्य बजार हो । इलामको कन्याम पञ्चकन्या फिक्कल, गोदक पशुपतिनगर, बरबोटे, चमैता रायो खेती हुने मुख्य ठाउँमा छ ।
इलाममा वर्षेनी नौ हजार ६ सय ३० मेट्रिक टन रायो साग उत्पादन हुने गरेको छ । यहाँको पाँच सय ३५ हेक्टर क्षेत्रफलमा रायोको खेती हुने गरेको तथ्याङ्क छ । रायो सागको विक्रीबाट ३४ करोड रुपैंयाँ भन्दा बढी रकम किसानले हात पार्ने गरेका छन् । एक किलो सागलाई तीन मुठा बनाइन्छ । सरदर १२ रुपैंयाँ प्रतिमुठाका दरले ३४ करोड ६६ लाख ८० हजार रुपैंयाँ रकम इलामका किसानको हातमा पुग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार