इलाममा पर्यटक थपिँदै

  सरलपाटी सम्वाददाता

 679 पटक हेरिएको

अन्तुडाँडाका होमस्टे व्यवसायी रुद्र घिमिरेलाई घरमा आएका पाहुनाको सत्कार गर्न भ्याइनभ्याइ छ । आएका पाहुना फस्र्याउँदै उनी हातमा धेरैबेरदेखि ‘रिङ टोन’ बजिरहेको मोबाइल उठाउँछन् र कोठा ‘बुक’ पनि गरिदिँदैछन् ।
‘केही दिनयता चाहिँ पाहुनाको चापाचाप अलि कम छ,’ उनी भन्छन्, ‘दुई साताअघिसम्म कसैले फोन गरेर कोठा छ कि छैन भनेर सोधे फर्काउनुपर्ने अवस्था थियो । यो वर्ष सिजन (असोज)को सुरुदेखि नै जिल्लामा पर्यटक आउनेक्रम ओइरो नै छ । पोहोरभन्दा संख्यात्मक रूपले बढी मात्र होइन, वर्षभर आएका पर्यटकको संख्या हाराहारीमा यो वर्षको ४ महिनामै पर्यटक इलाम आइसकेका छन् ।
असोज–कात्तिकमा मौसम अत्यन्त राम्रो भएकाले यो वर्ष सुरुमै पर्यटकको संख्या बढेको हो । मंसिर र पुसको दोस्रो सातासम्म इलामका पर्यटकीयस्थल छ्यांग खुलेका छन् । ‘केही दिनअघि धुम्मिएको मौसम फेरि खुलेको छ,’ घिमिरे भन्छन्, ‘अहिलेसम्म पनि अन्तुडाँडाबाट सूर्याेदय र सूर्यास्त अत्यन्त मनमोहक देखिइरहेको छ ।’ ग्रामीण पर्यटनमा जिल्लाकै नमुना बन्दै गएको अन्तु र समालबुङ गाउँ असोजदेखि अहिलेसम्म पर्यटकले खचाखच छन् ।
कात्तिकका एकैदिन ३ हजार हाराहारी पर्यटक अन्तु घुम्न आएको स्थानीय व्यवसायी बताउँछन् । मंसिरयता पनि प्रत्येक दिने डेढ–दुई सय पाहुना घटेका छैनन् । ‘शुक्रबार र शनिबार अन्तु र समालुबुङमा अहिले पनि १२ सय हाराहारी पर्यटक भेला हुन्छन्,’ अन्तुका अर्का व्यवसायी धरणी घिमिरे भन्छन्, ‘अहिले केही कम भएको छ यो संख्या ।’ अन्तुडाँडाबाट झुल्केघाम हेर्न, यहाँको चियाबारीमा रमाउन, चियाबारीको बीचमा रहेको सुन्दर अन्तुपोखरीमा डुंगा सयर गर्न र स्थानीय लोपोन्मुख लेप्चा जातिको संस्कृति अवलोकन गर्न अन्तुमा हरेक वर्ष पर्यटक थुप्रिन्छन् । चिसो मौसम भएका बेला यहाँ आएर एक रात बिताउन पर्यटकको घुइँचो लाग्छ । सूर्याेदय, सूर्यास्त मात्र होइन, उत्तरतर्फ देखिने मनमोहक हिमशृंखलाको दृश्य अवलोकन गर्न पनि यहाँ पर्यटक आकर्षित हुन्छन् ।
इलामकै गाउँ–गाउँ, झापा, काठमाडौं, विराटनगर, सुनसरीलगायतका जिल्लाबाट इलाममा आन्तरिक पर्यटकको संख्या बाक्लिएको छ । अन्तु, कन्याम, पशुपतिनगर, सन्दकपुर र माइपोखरीमा भारतको पश्चिम बंगालबाट पनि बर्सेनि हजारौं पर्यटक आउँछन् । तेस्रो मुलुकका पर्यटकको संख्या भने इलाममा ज्यादै न्यून रहन्छ । होटलभन्दा होमस्टेमा बस्न रुचाउने पर्यटक अन्तु, जमुना, बालनगाउँलगायतका गाउँ पुग्छन् । अन्तुमा एक सिजनमा एउटा घरले होमस्टेमा आएका पर्यटकबाट ८० हजार रुपैयाँसम्म कमाइ गर्ने गरेको घिमिरेले बताए ।
‘यहाँका व्यवसायीले सिजनमा २० हजारदेखि ८० हजार रुपैयाँसम्म आम्दानी गर्दैछन्,’ उनले भने, ‘साढे ४ सय रुपैयाँ बोकेर आउने हो भने १ जनालाई १ छाक खान, १ रात सुत्न र भोलिपल्ट बिहानको चिया–नास्ता गर्नसम्म पुग्छ ।’ स्थानीयले अन्तुडाँडा सामुदायिक होमस्टे सञ्चालन गरेका छन् । सामुदायिकअन्तर्गत ४३ र बाँकी १३ घरमा नयाँ होमस्टे व्यवस्था गरिएको छ । यहाँ नयाँ ५ होटल पनि खुलेका छन् ।
अन्तुमात्र होइन, जिल्लाकै अग्लो डाँडो सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई)मा पनि यो वर्ष पर्यटकको चाप उत्तिकै बढ्यो । १–२ वटा मात्रै नेपाली होटल रहेको सन्दकपुर आएका पर्यटकमध्ये कतिपय बासै बस्न नपाएरसमेत फर्किएका थिए । स्थानीय होटल व्यवसायी पेमाडन्डु शेर्पाले असोजदेखि अहिलेसम्म नेपाली र भारतीय पर्यटकको चाप निकै रहेको बताए । ‘यो वर्ष मौसम खुलेकाले पर्यटक धेरै आएका छन्,’ उनले भने, ‘अस्तिसम्म त अग्रिम बुकिङ गर्न चाहनेले समेत कोठा पाएनन् ।’ सन्दकपुर नेपाल–भारत सीमाक्षेत्र भएकाले भारतको बाटो भएर यहाँ तेस्रो मुलुकका पर्यटकसमेत धेरै आउँछन् ।
हिउँदमा बोलेरो जिपसम्म जाने सडक बनेपछि यहाँ दिनमा २ देखि ५ सयसम्म पर्यटक आएका छन् । ‘कात्तिक–मंसिरमा दिनमै १ हजारजति पर्यटकसमेत आए, कतिपय त यहाँ बास नपाएर गाउँसम्म झरेर होमस्टेमा समेत बसेका थिए,’ उनले भने, ‘हिउँदमा आउन सडक केही सहज भएकाले पनि यो वर्ष पर्यटक धेरै आए ।’ सन्दकपुरमा पनि बंगाली पर्यटकको घुइँचो लाग्छ । यहाँ आएका पर्यटक माइमझुवा, माबु, जमुनालगायतका गाउँ झरेर होमस्टेमा बास बस्छन् । नेपाल, भारत र भुटानका दर्जनौं हिमशृंखला देखिने सन्दकपुर जैविक विविधतामा समेत धनी भएकाले पर्यटक यहाँ आउन लालयित हुन्छन् । यहाँबाट सूर्याेदय र सूर्यास्तको दृश्यसमेत अत्यन्त आकर्षक देखिन्छ ।
इलाम सदरमुकाम, कन्याम, पशुपतिनगर, फिक्कल, पाथीभरा, माइपोखरीलगायत क्षेत्रमा पनि यो वर्ष पर्यटकको चाप बढेको छ । ‘माइपोखरीको दर्शन गर्न आउने आन्तरिक पर्यटक धेरै छन्,’ माइपोखरी मन्दिरका पुजारी तुलाराम पौडेल भन्छन्, ‘शनिबार र मंगलबार त थामिनसक्नु गरी धर्मावलम्बी आउन थालेका छन् ।’
जिल्लामा आउने पर्यटकको यकिन संख्या रहँदैन । तर, झापाबाट इलाम छिर्नेबित्तिकै पर्यटन सूचना केन्द्रमा सम्पर्क गर्ने पर्यटकको संख्या गणना गर्ने गरिएको छ । केन्द्रका अनुसार गत आर्थिक वर्ष इलाममा ९३ हजार ९ सय ७६ पर्यटक झापा भएर इलाम भित्रिएकामा यो वर्षको ५ महिनामै ७० हजार हाराहारी पर्यटक आएका छन् । साउनमा १ हजार ४ सय १५, भदौमा १ हजार ५ सय १६, असोजमा ४ हजार ९ सय ८१, कात्तिकमा ३३ हजार ६ सय १७ र मंसिरमा २६ हजार ३ सय पर्यटक इलाम भित्रिएका छन् । ‘यो संख्या ठूला गाडी सामूहिक रूपमा आउने पर्यटकको मात्रै हो,’ केन्द्रका सूचना संकलक गगन घिमिरे भन्छन्, ‘इलाम घुम्न आएपनि हामीलाई जानकारी नगराइ छिर्नेको संख्या पनि धेरै हुन्छ ।’
इलाममा पशुपतिनगर, मानेभञ्ज्याङ, सन्दकपुर र पाँचथरतिरबाट भित्रिने पर्यटकको संख्यासमेत धेरै हुन्छ । तर, उनीहरूको तथ्यांक राख्ने गरिएको छैन । ‘यो वर्षको पर्यटक आगमनले जिल्लाका व्यवसायीलाई निकै आशा पलाएको छ,’ होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल भन्छन्, ‘यो वर्ष सिजनका बेला सदरमुकामका होटलहरूमा समेत पर्यटक अटाएनन् ।’ जिल्लामा पर्यटकीय पूर्वाधार विकास गर्न सके पर्यटन व्यवसायले समृद्धिको ढोका खोल्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली बताउँछन् । ‘एउटा बजार, एउटा पर्यटकीयस्थल वा एउटा जिल्लामात्र होइन, सामूहिक रूपमा पर्यटन प्रवद्र्धनमा पहल गर्ने हो भने पर्यटकलाई सुविधा पनि हुन्छ, व्यवसाय पनि उकालो लाग्छ,’ उनले भने, ‘अन्तरजिल्लाका व्यवसायी र पर्यटनसँग सरोकारवालाले एक भएर प्रयास गर्नु उपयुक्त हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार