पुसको जाडोमा पनि तातेको इलाम

  धर्म गौतम

 944 पटक हेरिएको

पुस महिना यसै जाडो उसै जाडो । त्यसमाथि पनि यसपालि पुसको थालनीमै सामान्य पानी मात्र परेन हिउँ पनि खस्यो । डेढ दशक यताकै बाक्लो हिमपात भने जानकारहरुले । सामान्यभन्दा इलामको निकै तल्लो भागसम्म आइपुग्यो हिउँ यसपालि । साता दिन नबित्दै फेरि थपियो पानी र हिउँ । यसले जाडो नबढाउने कुरै भएन । तर पनि इलाम तातिरह्यो आप्mनै चर्चाले ।
इलामले यसरी चर्चा पाउने मुख्य तीन परिघटना रहे– मेची क्षेत्र महोत्सव, लगानी प्रवद्र्धन सम्मेलन र नागरिक अभियन्ता डा. गोविन्द केसी । महोत्सवले चर्चा पाउने नै हो, अर्को अर्थमा भन्दा चर्चा चलाउनकै लागि आयोजित हुन्छ महोत्सव । देशमै लगानीका लागि अनुकूल वातावरण बन्न सकेन भनेर निजी क्षेत्रले भनिरहेका बेला इलाममा लगानी प्रवद्र्धनका लागि तामझाम हुनुले पनि चर्चा पाउने नै भयो ।
लगानी सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री आउने कुराले चर्चा थप्नु स्वाभाविक हो । जिल्लामा लगानी सम्मेलन आयोजना गर्ने इलाम नगरपालिकाले यस्तो सम्मेलन आयोजना गर्दा समेत अन्य राजनीतिक दलसँग परामर्शसम्म नगरेको चर्चाले अर्को चर्चा थप्यो । अन्य दलको कुरै छाडौं आप्mनै दलको नेतृत्वमा रहेको जिल्ला समन्वय समितिलाई पनि सुइँको नदिई नगरप्रमुखले सम्मेलनको तयारीमा राजधानीमा देखाएको फ¥याकफुरुकले चर्चाको दीयोमा राम्रै वर्तन थप्ने काम गरेको सुनियो ।
‘बेला न कुबेला वजि नेला’ भनेजस्तो भयो लगानी सम्मेलनसँग जोडिएको प्रधानमन्त्रीको नागरिक अभिनन्दन गरिने हल्ला । के निहुँ पाउँ र कनिका बुकाउँ भनेर धुर कसिरहेको प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीको नागरिक अभिनन्दन गर्ने नगरको कार्यक्रमको बिरोध मात्रै जनाएन त्यसो गरिए नागरिक अभिनन्दन थाप्नेलाई कालो झण्डा देखाउने घोषणा समेत ग¥यो । त्यही घोषणाबाट तर्सिएर होला आयोजकले ठूलो टुँडिखेलमा गरिने भनेको नागरिक अभिनन्दन कार्यक्रमलाई सभागृहभित्र गर्ने गरी कार्यक्रम परिवर्तन गरेको सुनियो । प्रतिपक्षीको कालो झण्डा धम्कीले सफलता पायो, धम्क्याउने दङ्ग परे होलान् । कोठामा गरिने नागरिक अभिनन्दन पुसको जाडोमा कठ्याङ्ग्रििने नै भयो । कठै, बिचराहरुको चाकडी महात्म्यले संक्षिप्त स्वरुपमा विसर्जन हुन प¥यो !
त्यस्तै, लगानी सम्मेलन र प्रधानमन्त्रीको इलाम आगमनको पूर्व सन्ध्यामा सत्ताधारीका लागि आतङ्क बनेर सदरमुकाम आइपुगे नागरिक अभियन्ता डा. गोविन्द केसी । उनको १५ औं सत्याग्रहका क्रममा प्रधानमन्त्री केपी ओलीले मेडिकल शिक्षा र स्वास्थ्य सेवा सम्बन्धी आवश्यक कानुन बनाउँछु भनेर डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरिएकाले पुनः सत्याग्रह थाल्ने योजनाका साथ इलाम आएका थिए डा. केसी । इलामबाटै १६ औं अनशन थाल्ने डा. केसीको निर्णका पछाडिको अड्कल गीता पनि चर्चामै रह्यो । कुचर्चामा परे डा. केसीको बिरोधमा कुर्लिएका आपूmलाई प्रगतिशील भन्ने एकाध ठेट्नाहरु । माफियाका पाइताला चाटेर कसरी होइन्छ प्रगतिशील उनीहरु नै जानुन् ।
चर्चाको पहिलो चुरो मेची क्षेत्र महोत्सवले पाएको चर्चालाई महोत्सव सफलताको रुपमा लिनु अन्यथा होइन । केचनाकवलदेखि कञ्चनजंघासम्म तन्किएको मेची क्षेत्रले धेरै पर्यटकीय सम्भावना बोकेको छ । त्यसलाई उजागर गर्न झापादेखि ताप्लेजुङसम्म नै यस अघि पनि सानातिना कार्यक्रम स्थानीयस्तरमा नहुने गरेकाहोइनन् तर समग्र मेची क्षेत्रलाई प्रतिनिधित्व दिने खालको यो पहिलो महोत्सव भयो ।
महोत्सवको मूल आयोजक एउटा सानो संस्था थियो साना उद्यमी व्यवसायीहरुले बनाएको । इलाम पर्यटन प्रवद्र्धन सरोकार समिति नामको त्यो भुरे संगठनले यत्रो काम आँटेको देख्दा ओठ लेब्य्राउनेहरु पनि देखिएका थिए । तर त्यो संस्था जिरे खोर्सानी भएर अगाडि आयो । आजसम्मको यस क्षेत्रको सबैभन्दा ठूलो, सबैभन्दा लामो समयको महोत्सवलाई सफलतापूर्वक सम्पन्न गरेर आँटे के हुँदैन भन्ने एउटा अर्को उदाहरण दिन सफल रह्यो । घेरावन्दी गर्नेहरु निराश भए हुनन् ।
महोत्सवको परिकल्पनाको सर्वत्र प्रशंसा भयो । त्यो परिकल्पना थियो मेचीका चारै जिल्ला मिलेर संगठीत रुपमा यस क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनमा लाग्नु पर्दछ । त्यसका लागि यस्तो महोत्सव हरेक बर्ष पालैसँग चारै जिल्लाले आयोजना गर्ने र यस्तो महोत्सवको थलोबाट चारै जिल्लाका पर्यटकीय गन्तव्य, ऐतिहासिक तथा धार्मिक धरोहर, लोक कला, संस्कृति र खाद्य परिकार पस्कने ।
यस अवधारणालाई कार्यरुप दिन आयोजकहरुले खेलकुदमा रनिङ शील्ड जस्तो प्रतीक चिन्ह बनाए मेची क्षेत्रको प्रतिनित्वि गर्ने । हरेक महोत्सवको समापनमा त्यो प्रतीक चिन्हलाई अर्को बर्षको आयोजक जिल्लालाई हस्तान्तरण गर्ने तय भयो । प्रतीक चिन्ह समाइसकेपछि महोत्सव आयोजना गर्नु र त्यसलाई भव्यता दिनु सम्बन्धित जिल्लाका लागि चुनौति र अवसर एकसाथ जुट्ने भयो । बाँकी तीन जिल्लाले पनि सघाउनै पर्ने थिति कसियो ।
पुस ५ देखि १६ सम्म बाह्र दिन चलेको महोत्सवको समापन समारोहको पूर्व सन्ध्यामा मेचीका चारै जिल्लाका सरोकारवाला बसेर इलाम पर्यटन घोषणा पत्र जारी गर्ने तयारी गरे । यसै तयारी बैठकमा २०७६ सालको महोत्सव ताप्लेजुङले आयोजना गर्ने सर्वसम्मत निर्णय गरे अनुरुप समापन समारोहमा प्रतीक चिन्ह ताप्लेजुङलाई हस्तान्तरण गरियो । यो प्रतीक चिन्ह हस्तान्तरण समारोह सरोकारवालालाई निकै भावुक बनाउने खालको थियो ।
इलाम पर्यटन घोषणा पत्रमा उल्लेख भए अनुसार चारै जिल्लामा महोत्सव सञ्जाल बनाइने छ । त्यसको नेतृत्व उद्योग वाणिज्य संघले लिनेछ । नेपालमा महोत्सवहरु प्रायः उद्योग वाणिज्य संघकै नेतृत्वमा हुने गर्दछन् । त्यसका लागि नेपाल उद्योग वाणिज्य संघले समेत कार्यक्रम बनाउने गर्दछ । अतः यो व्यवस्थाले आगामी महोत्सवहरु आयोजनाको जिम्मेवारीलाई सुनिश्चित गरेको देखिन्छ ।
पहिलो पटक भए पनि इलाम महोत्सवमा मेचीका चारै जिल्लाको प्रतिनिधित्व भयो । उद्घाटन समारोहको मञ्चमा झापाको सन्थाल नृत्यदेखि ताप्लेजुङको शेर्पा नृत्य देख्न पाइयो, पाँचथर र इलामका त निकै थिए साँस्कृतिक प्रस्तुतिहरु ।
महोत्सव स्थलमा राखिएका तीन चौरी गाईले महोत्सवको शोभा बढाएको देखिन्थ्यो । सामान्यतया तीन हजार मीटरभन्दा तल चौरीलाई झार्ने गरिँदैन औलो लाग्छ भनेर । तर करिब १२ सय मीटरमा रहेको इलाम सदरमुकाममा अनुकूल मौसम भएकाले चौंरी रमाएरै रहे र तिनलाई हेरेर र तिनमा चढेर फोटो समेत खिचेर मानिसहरुले खुब मनोरञ्जन लिएको देखियो ।
महोत्सवमा अर्को आकर्षण थियो रेडपाण्डाको मूर्ति । हतारहतारमा धरानका मूर्तिकारले तयार गरेको मूर्तिलाई प्रदर्शनमा राखेर बुद्धिमानी प्रदर्शन गरेका थिए आयोजकहरुले । त्यस लजालु र लोपोन्मुख जनावरको मूर्तिसँग सेल्फि मार्नेको घुइँचो आपैmमा हेर्नलायक देखिन्थ्यो ।
महोत्सवमा समाजका सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्न सास्कृतिक झाँकीदेखि जातीय खाद्य परिकारका स्टलहरु समेत राखिएका थिए । हरेक दिन हुने अलग अलग क्रियाकलापमा स्वस्थ बालबालिकाको प्रतियोगितात्मक प्रदर्शनीदेखि महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका बालबालिकाका खेलकुद आदि गराइएको थियो । ज्येष्ठ नागरिक खेलकुदमा ९२ बर्षका उत्साही ज्येष्ठ नागरिकको समेत सहभागिता थियो ।
महोत्सवमा भएका कार्यक्रमहरुमध्ये सबैभन्दा धेरैको सहभागिता साँझतिर हुने सांस्कृतिक कार्यक्रममा देखिन्थ्यो । राष्ट्रियस्तरमा चर्चा पाएका कलाकारहरुलाई प्रत्येक साँझ मञ्चमा सहभागी गराइन्थ्यो । राजेशपायल राई, भीषण मुकारुङ, मेलिना राई, यम बराल लगायतका कलाकारले ठूलो टुँडिखेलको चिसो वातावरणलाई जोडदारसँग तताएको देखियो । युवा मात्र होइन ज्येष्ठ नागरिक समेत संगीतमा झुमेको देखिन्थ्यो । पुसको चिसोमा भएको जनसहभागिता भनिसाध्यको थिएन ।
इलामसंग एउटा दुःखद प्रसङ्ग जोडिने गर्दछ– नेपालका अन्य जिल्लाको तुलनामा यहाँ आत्महत्या गर्नेको दर निकै उच्च छ । आत्महत्याको ८० देखि ९० प्रतिशत कारण मानसिक अस्वस्थता मानिन्छ । मानसिक अस्वस्थताका कारणहरु धेरै हुन्छन् । कुनै कुरामा रम्ने रमाउने वातावरण नहुनु पनि ती कारणमध्येको एक हो । महोत्सवले दिएको मनोरञ्जनले हुनसक्छ इलाम महोत्सवको दुई साताभर इलाममा कतै आत्महत्या भएको समाचार सुनिएन । यो कुरालाई गहिराइमा हेर्न आवश्यक छ । यदि यो सही हो भने यस्ता कार्यक्रमहरुलाई बाक्लै आयोजना गर्नु पर्ने हुन सक्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार