इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सबै जातजातिको भाषा र संस्कृति मुलुकको साँझा सम्पत्ति भएको बताएका छन् ।
चासोक तङनाम (उधौली पर्वको अवसरमा किरात याक्थुङ चुम्लुङ्ग बरबोटेले आयोजनाको गरेको शुभकामना आदानप्रदान कार्यक्रम उद्घाटन गर्दै मेयर बस्नेतले नगरले सबैको विकास संरक्षणमा लगानी गर्ने बताए । ‘भाषा, सँस्कार, संस्कृतिलाई संकुचन गर्नु हुन्न ।’ उनले भने, ‘निश्चित समुदायभित्र मात्र संकुचन गरियो भने लोप हुने खतरा रहन्छ ।’ प्रमुख बस्नेतले बरबोटेमा निर्माणधिन रहेको चुम्लुङ ही (सामुदायिक भवन) का लागि १० लाख रुपैयाँ उपलब्ध गराउने र आगामी वर्षमा समेत थप बजेटको व्यवस्था गर्ने बताए ।
किरात याक्थुङ चुम्लुङ्गका केन्द्रीय उपाध्यक्ष यामप्रसाद योङहाङ्गले राज्यसत्ता विभेदकारी भएको बताए । समाजको चरित्र अनुसार राज्यसत्ता समावेशी हुन नसकेको भन्दै राज्यसत्ता समाजको सत्ताजस्तै हुनु पर्दछ । राज्यको ढोका सबै जातजातिका लागि खुल्ला हुनुपर्ने कुरामा पनि उहाँको जोड थियो ।
चुम्लुङ्ग बरबोटेका अध्यक्ष प्रेम सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुम्लुङ्गका जिल्ला अध्यक्ष गायत्री थेगिम, केन्द्रीय सदस्य विष्णु तुम्बापो, पूर्व केन्द्रीय सदस्य मनराज जबेगू, इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष ठाकूर नारायण श्रेष्ठ, नागरिक समूहका अध्यक्ष एवं समाजसेवी गंगा भूर्तेल, अमर माविका अध्यक्ष गोविन्द पौडेल, नेवा देयः दबु बरबोटेका अध्यक्ष बालकुमार श्रेष्ठ, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य गुल्छन आङबुहाङ्गलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा च्याबुङ्गका कलाकार मदन राईलाई सम्मान गरिएको थियो । यसरीनै अन्य कलाकारहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा फेदाङ्गमा मार्फत नुवागी पूजा पनि गरिएको थियो ।


795 पटक हेरिएको 






