मूल्य घटेपछि चिराइतो मास्दै किसान

  सरलपाटी सम्वाददाता

 2800 पटक हेरिएको


वर्षेनी चिराइतोको मुल्य घट्न थालेपछि लेकाली क्षेत्रका किसानले चिराइतो खेतीनै घटाउन थालेका छन् ।
चिराइतो, लौठसल्ला, ओखेआलु, अर्गेली, विखमा, पाखनवेद, बुढीओखती, पाँचऔंले सतुवा जस्ता जडीबुटीको खेती गरेर राम्रो आम्दानी लिने गरेका किसानले पछिल्लो समयमा मूल्यनै कम हुनथालेपछि जडीबुटीको खेतीनै घटाउन थालेको माबुका फूर्वा शेर्पाले बताए । ‘पहिला आलु, मकै, जौ हुन्थ्यो, गाइवस्तु पालिन्थ्यो, घिउ, छुर्पी हुन्थ्यो,’ शेर्पाले भने ‘अहिले ती सबै मासेर चिराइतो रोपेको लगानीनै नउठ्ने अवस्था छ ।’ ९३ रोपनी जमिनमा चिराइतो लगाएका शेर्पाले अहिले चिराइता बिक्री गर्नेे समय भएपनि मूल्य नभएको बताए । गतवर्ष २५ मन चिराइतो बिक्री गरेका शेर्पा नेपाली चिराइतोकोलागि अन्तर्राष्ट्रिय बजार नहुँदा बिक्री मूल्यमा कम भएको बताउँछन् । छ वर्ष यता चिराइतो खेती सुरु गरेका शेर्पाले गत वर्ष १८ हजार रुपैयाँ प्रतिमनका दरले बिक्री भएको भएपनि अहिले प्रतिमन चार हजार रूपैयाँले बिक्री हुने गरेको जानकारी दिए ।
खाद्यान्न बाली मासेर चिराइतो खेती सुरु गरेका माइमझुवाका दिलबहादुर गुरुङ पनि चिराइतोको मूल्य वर्षेनी घट्दै गएकोले आफूहरू समस्यामा परेको बताउँछन् । अर्काको जमिन भाडामा लिएर पनि चिराइतो लगाएका गुरुङ, विगत वर्षहरुमा चिराइतोमा भएको मिसावट र अन्तर्राष्ट्रिय बजार अभावको कारण चिराइतोको मूल्य कम भएको बताए । ‘किसानले उत्पादन राम्रो गरेपनि चिराइतो सँग मिल्ने अर्को जातको वनस्पति मिसावट गरेर व्यापारीहरुले पनि छल गर्दा बिक्रीमा समस्या आएको हुनसक्छ’, गुरूङले भने ‘भारतीय बजारमा एकाधिकार र चीन निकासी हुन नसक्नु पनि चिराइतोको मूल्य कम भएको हो ।’ करीब ३० रोपनी जमिनमा चिराइतो लगाएका गुरुङको यो वर्ष ५०–६० मन चिराइतो उत्पादन हुने अनुमान छ ।
औषधी बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुने चिराइतोको वर्षेनी मूल्य घट्दै गएपछि किसानहरूले अहिले किवी, मटर जस्ता वैकल्पिक खेती गर्न थालेको माइपोखरीका अर्का किसान युवराज पीसि बताउँछन् । उच्च रक्तचाप हुँदा, ज्वरो आउँदा घरेलु औषधीका रुपमा गाउँमा प्रयोग हुने चिराइतो सुलुबुङ्ग, माइपोखरी, माइमझुवा, माबु, जमुना, प्याङ, नयाँबजार लगायतका क्षेत्रमा चार हजार भन्दा बढी चिराइतो किसानहरु रहेका छन् ।
यी किसानहरुले गत आर्थिक वर्ष ०७२÷०७३ मा उत्पादन गरेको ४२ हजार ८९५ किलो चिराइतो निकासी भएको जिल्ला वन कार्यालयको तथ्याकं छ । जिल्ला वन कार्यालय इलामको तथ्याकं अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा सतुवा २५ किलो, अर्गेली २५ हजार दुईसय किलो, इन्द्रेणीको बियाँ दुई सय ४५ किलो, बिखमा दुईसय किलो, मजिटो एक हजार दुईसय किलो, पाखनवेद दुई सय ८० किलो र लौठ सल्ला दुई हजार पाँच सय किलो उत्पादन भएको उल्लेख छ । यस्तै पाँचथरको सिदिन, प्राङबुङ, मेमेङ, च्याङ्थापु र फलैंचामा पनि यसको व्यावसायिक खेती हुँदै आएको छ । ताप्लेजुङको सुरुङ्खिम र कालिखोलामा पनि किसानले जडीबुुटी खेती गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार