आमा जुनिसा थोक्लिहाङ सुसन जन्मिएको एक वर्षपछि नै वैदेशिक रोजगारीमा गएकी छिन् । आमा विदेश गएपछि मावली घरमा बस्दै आएका सुसन हजुरबुबा, हजुरआमा, मामा र सानिमासँग बस्छन् । बिरामी हुनुअघि उनी तीक्ष्ण बुद्धिका थिए । तर, चार वर्षअघि लडेपछि होसमा छैनन् । बोल्न र राम्ररी आँखा देख्नसमेत नसक्ने सुसन सामान्य हिँड्डुल गर्न भने सक्छन् ।
बेहोसी सुरमा जथाभावी हिँड्ने भएकाले काममा जाँदा उनलाई खोरमा थुनेर जाने गरेको सानिमा मनीषा थोक्लिहाङले बताइन् । ‘घरमा बसिरहन पाइँदैन, काममा जाँदा त्यतिकै छाड्यो भने जतासुकै हिँड्छ, लड्छ,’ मनीषाले भनिन्, ‘त्यही भएर कोठामै थुनेर राख्ने गरेका छौँ ।’ आफ्नो सुरका सुसन नयाँ कुनै चिजप्रति पनि कुनै प्रतिक्रिया जनाउँदैनन् ।
उनी आफैं खाना खान पनि सक्दैनन् । अरूले खुवाइदिँदा खान्छन् । दिसापिसाब गरेको पनि थाहा पाउँदैनन् । उनी जीउ बंग्याउँदै सामान्य हिँड्न सक्छन् । जथाभावी हिँडिरहने भएकाले सुसनलाई सुरक्षित राख्न वरपर बार लगाइएको छ । थुनिएकै कोठामा उनी भुइँमा लडिरहन्छन् ।
विद्यालयले भर्ना लिएन
उनलाई फिदिम जोरसालमा रहेको सुस्तमनस्थितिका बालबालिका पढ्ने स्कुलमा पु¥याइएको थियो । तर, उनको अवस्था पढ्न सक्ने नदेखेपछि स्कुलले भर्ना लिन नमानेपछि फर्काइएको मनीषाले बताइन् । सामान्यभन्दा जटिल अवस्था रहेका कारण विद्यालयले उनलाई भर्ना लिन नमानेको वडाध्यक्ष यवाले बताए ।
प्रभावकारी उपचार अभाव
चार वर्षअघि उनलाई उपचारका लागि सुरुमा फिदिम लगिएको थियो । पछि आफन्तले झापा हुँदै सिलगढीसम्म उपचारका लागि लगे । तर, उनी ठीक भएनन् । आर्थिक अभावका कारण बालकको थप उपचार गर्न नसकिएको आफन्तको भनाइ छ । उपचार अभावमा प्रतिदिन उनको अवस्था बिग्रँदै गएको छ ।
फालेलुङ गाउँपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर यवाले बालकको उपचारमा पहिला केही पहल गरे पनि सम्भव नभएको बताए । उनले बालकको उपचारका लागि वडा कार्यालयले थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नयाँ पत्रिकाबाट


390 पटक हेरिएको 







