इलाम । माईभ्यालि फुटबल क्लब इलाम र उदयपुर एघार तेह्रथुममा जारी प्रथम भगिमान सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।
तेह्रथुम सदरमुकाम म्याङलुङस्थित खेलमैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा झापाको जलथल एफसीलाई २ – 0 गोल अन्तरले पराजित गर्दै माईभ्यालि फुटबल क्लब इलामले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
इलामको जितका लागि खेलको ३० औँ मिनेटमा मनिष राइले पहिलो गोल गरे भने खेलको ७० औँ मिनेटमा पासाङ शेर्पाले दोस्रो गोल गर्दै टिमलाई उपाधि नजिक पुर्याए । खेलको म्यान अफ दी म्याच माईभ्यालि फुटबल क्लब इलामका पासाङ शेर्पा घोषित भए ।
कुल दश टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल तेह्रथुम सदरमुकाम म्याङलुङस्थित खेलमैदानमा शनिबार हुनेछ । श्री भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ हजार प्राप्त गर्नेछ ।