पर्यटन महोत्सवको तयारी धुमधाम, प्रचारप्रसारमा तीब्रता

  किरण पौड्याल

 451 पटक हेरिएको

इलाम, ः इलाममा आयोजना भएका मध्ये हाल सम्मकै सबै भन्दा ठूलो पर्यटन महोत्सवका रूपमा हुन लागेको ‘मेची पर्यटन महोत्सव’को तयारी तीब्र बनाइएको छ । मेचीका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुष ५ देखि १६ गते सम्म हुन लागेको उक्त महोत्सवको प्रचारप्रसार, स्टल निर्माण र सांस्कृतिक विषयवस्तुको सङ्कलनमा तीब्रता दिइएको छ ।
चार जिल्लामा बसोबास गर्ने जातजातिको लोप हुन लागेको सांस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि आयोजना हुन लागेको महोत्सवमा पचार हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको जनाइएको छ । स्टल निर्माण, पाहुनाको स्वागतका लागि बनाइने गेट निर्माण र प्रचारको कार्यक्रम सकिन लागेको आयोजक समितिका महासचिव देवी पौड्यालले जानकारी दिनुभयो ।
महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सतार नाच, इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडा समेत ल्याउने तयारी भइरहेको छ ।
चार जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारका लागि उक्त पर्यटकीय क्षेत्रको ‘स्केच’ तयार गरिने समेत कार्यक्रम रहेकाले यसका लागि बढी तयारी गरिरहनु परेको उहाँको भनाइ छ ।‘हामी चार जिल्लाका सबै पर्यटकीय स्थलको बारेमा जानकारी गराउन गइरहेका छौ’ पौड्यालले थप्नुभयो,‘अहिले चारै जिल्लाका पर्यटकीय स्थलको फोटो खिच्ने र प्रिन्ट गरेर सङ्कलन गर्न थालेका छौ ।’
उहाँका अनुसार इलामको पहिचानका रूपमा रहेको विश्वमै लोपोन्मुख रातो हाब्रे(रेडपाण्डा) समेत ल्याउने तयारी भएपनि सम्भव नभएपछि कृत्रिम रेडपाण्डाको प्रदर्शन गरिने जनाइएको छ ।
महोत्सवमा प्रमुख अतिथिका रूपमा प्रदेश नं.१ क पर्यटन मन्त्री जगदीश कुशियतलाई निमन्त्रणा गरिसकिएको छ भने भारतीय भूभाग सिक्किम, दार्जिलिङ, कलकत्ता लगायतका क्षेत्रका समेत चर्चित व्यक्तिलाई निमन्त्रणा गरिएको छ ।
उक्त पर्यटन महोत्सवले दुई देश बीचको सम्बन्ध समेत प्रगाढ बनाउने विश्वास रहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमको भनाइ छ । यस क्षेत्रको प्रचार प्रसारका लागि राष्ट्रिय तथा स्थानीय कलाकार समेत सहभागी रहने छ ।
महोत्सवमा गायिक मेलिना राई, लोक गायिका ज्योती मगर, साहित्यकार श्रवण मुकारुङ, हाँस्य–व्यङ्ग्य कलाकार विल्सन बिक्रम राई(तक्मे बुढा) लगायतको प्रस्तुति रहने छ ।
पर्यटकको सङ्ख्यामा वृद्धि
मौषममा आएको अनुकुलता सँगै जिल्ला आउने पर्यटकको सङ्ख्या समेत यस वर्ष बढेको छ । जिल्लाका प्रमुख पर्यटकीय स्थल माईपोखरी, कन्याम, श्रीअन्तु, गजुरमुखीको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेको जनाइएको छ ।
इलाम–झापाको सीमा क्षेत्रमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार यस वर्षको मङ्सिर मसान्त सम्ममा मात्रै एक लाखको हाराहारीमा पर्यटक भित्रिएका छन् । केन्द्रका अनुसार उक्त सङ्ख्या गत वर्षको भन्दा दोब्बरले बढी हो ।
पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेका अनुसार गत वर्षको मङ्सिर महिनामा ५० हजारको हाराहारीमा पर्यटक भित्रिएका थिए ।
उहाँका अनुसार पर्यटक बढ्नुको मुख्य कारण भनेको इलाममा पर्यटकीय महोत्सव बढी हुनु, प्रचार प्रसार बढी हुनु र सबै क्षेत्रमा सडकको पहुँच पुग्नु हो । मौषमको अनुकुलताका कारण जिल्लाका पर्यटकीय स्थल श्री अन्तु, सन्दकपुर, छिन्टापू र सिद्धिथुम्काबाट ‘सन राइज’ हेर्नका लागि पनि पर्यटक आउने गरेको घिमिरेको भनाइ छ ।
यस वर्ष जिल्लामा धेरै चलचित्रको सुटिङ भएकाले पनि आन्तरिक पर्यटकको बाहुल्यता बढेको यातायात व्यवसायी गृष्म सुब्बाको भनाइ छ । केही समय अघि मात्र प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनित ‘प्रेम दिवश’ चलचित्रको सुटिङ जिल्लाका विभिन्न क्षेत्रमा भएको थियो ।
यस कारण पनि पर्यटकको चाप बढी रहेको हो । जिल्ला भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको र बाँकी १० प्रतिशत मात्र बाह्य पर्यटक रहेका छन् । जिल्ला भित्रिएका मध्ये पनि ४० प्रतिशत पर्यटक इलामका श्रीअन्तु, कन्याम मात्र घुमेर जाने गरेको घिमिरेले जानकारी दिनुभयो ।–––

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार