इलाम, नेपालमै पहिलो पटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले सङ्गठनको तल्लो तह विद्यालय स्तरबाट इलाममा एकता थालेको छ ।
पार्टी एकता भएर सङ्गठनको नाममा सहमति जुटेपनि तल्लो स्तर सम्म एकता पुग्न नसकेको भन्दै सङ्गठन विस्तारका लागि विद्यालय तहबाट एकता शुरू गरिएको हो । तत्कालीन नेकपा एमाले र तत्कालीन माओबादी केन्द्रको एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएर विद्यार्थी सङ्गठनको नाममा समेत सहमति जुटाइएको छ । तर, नाममा मात्र जुटाएर एकता नहुँदा सङ्गठन विस्तारको काम नभएको भन्दै तत्कालीन दुवै सङ्गठन मिलेर एकताको काम शुरू गरेका हुन् ।
सङ्गठनको नाम तय भएपनि जिल्ला माताहतका सङ्गठनहरू निष्कृय भएकाले पुनर्गठनको काम शुरू गर्न थालिएको बताइएको छ ।
नेतृत्वलाई तत्काल सङ्गठनको एकीकरण गर्न दबाब दिदै कार्यकर्ता माझ एकीकरणको सन्देश दिलाउनका लागि विद्यार्थी सङ्गठनको एकता शुरू गरिएको तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको भनाइ छ ।
लामो समय सम्म जिल्ला तथा गाउँ स्तरका सङ्गठनहरू निष्कृय भइरहदाँ पार्टी समेत कमजोर हुने भन्दै विद्यालय–विद्यालयमा गठन गर्न थालिएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीले हाल सम्म एउटा विद्यालयमा मात्र एकता अन्य विद्यालयमा समेत एकता गर्ने योजना रहेको बताउनुभयो ।
जिल्ला, गाउँ तथा विद्यालयमा समेत एकीकरणको काम नहुँदा विद्यार्थीमा समेत दक्षता र क्षमता कमजोर हुने भन्दै एकीकरणको काम शुरू गरिएको हो । तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य सन्धिभक्त शङकरका अनुसार विद्यार्थीमा सङ्गठनमा रहने इच्छा भएपनि सङ्गठन विस्तार नहुँदा समस्या भएकाले पार्टी एकताको झल्को दिने गरि गठन शुरू गरिएको हो । उहाँका अनुसार सङ्गठन विस्तार गर्दा अध्यक्ष र सचिवमा दुवै सङ्गठनको एक÷एक जना मिलाएर राख्ने गरेपनि अन्य पदमा समेत आवश्यतका अुनसार गरेको छ । शङ्करले जिल्लाका सबै विद्यालयमा एकताबद्ध तरिकाले सङ्गठन विस्तार गरिने जानकारी दिनुभएको छ । जिल्लाको आदर्श माध्यमिक विद्यालयमा ३९ सदस्य अनेरास्ववियूको कमिटी गठन गरिएको छ ।


430 पटक हेरिएको 






