प्राकृतिक सुन्दरता देशको गहना हो । आकर्षणको केन्द्र अनि मनलाई उत्तेजित र आनन्दित बनाउने साधन पनि हो । प्राकृतिक सुन्दरता अनि मनोरम दृश्यहरुको संगम थलो हो ईलामको छिन्टापू । समुन्द्रि सतहबाट ३२४०मि को उचाईमा अवस्थित छिन्टापू ईलाम र पाँचथर जिल्लाको सिमा क्षेत्रमा पर्दछ । हिजोआज प्राकृतिक र धार्मिक आस्थाका पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा छिन्टापूलाई लिन सकिन्छ । प्राकृतिक दृष्टिले बिषेशगरि हिमालको दृश्यावलोकन यस क्षेत्रका लागि बिषेश मानिन्छ । यहाँबाट कञ्चनजँघा हिमशृङखलाका अधिकाँस हिमालका दृश्यहरु देख्न सकिन्छ साथै पाँचथर, ताप्लेजुँग, तेह्रथुम लगायतका बिभिन्न जिल्लाहरुको पनि अवलोकन गर्न सकिन्छ । एघार प्रजातिका लालिगुँरास, स साना हजारौँ जडिबुटि अनि चराहरु पनि पाईने गरेका छन् । हिउँदको समयमा सेतै तुसारोको घुम्टोले सजिने उक्त क्षेत्रमा हिमाली बन्यजन्तुहरुले पनि धनि छ ।
हिमाली मृग र बँदेल जातिको बिषेश बासस्थानका रुपमा मान्दै आएको उक्त क्षेत्रमा कहिँकतै रातो हाब्रेको पनि बसोबास रहेको छ । चिराईतो, लौठ सल्ला यहाँ पाँचऔँले लगायतका अति अमुल्य जडिबुटिहरु पनि पाईन्छन् । रमाईलो दृश्य त हिउँदको समयमा बँदेलको दाराहरुले खनेको पनि देख्न सकिन्छ । बसन्त ऋतुमा फुल्ने गरेका गुँरासका फक्रिएका थुङ्गाहरुले पर्यटकको मन कटक्कै खाने गरेको छ । साथमा भुटेका मकै, साँधेको गुन्द्रुक र सातुका पोकाहरु लिएर उकाली लागेको दृश्य देखेर जान नचाहाने को होला र।। तैपनि कोहिकोहिलाई हिउँदको मौसम अनि फुलको बासनाले लेक पनि लाग्ने गर्दछ जसका कारण यात्रुहरुलाइ निक्कै सास्ती पर्ने गर्दछ तैपनि त्यहाँको मनोरम दृश्यहरुले अनेकौँ थकान र पीडाहरु भुल्ने गर्दछन् । साविक सुलुबुङ्ग टप्पू खप्परे हुँदै जाने सडक केहि सहज बन्दै गएकाले हाल पैदल यात्रा केहि सहज हुँदै गएको छ साथै सन्दकपुर गाउँपालिका बडा नं २ को कार्यलय हुँदै पनि पुग्न सकिन्छ ।
प्राकृतिक हिसावले धनि मानिएको उक्त क्षेत्र धार्मिक एवं साँस्कृतिक विविधतामा पनि उत्तिकै प्रसिद्ध छ । चारमाई मध्येको एक पुवामाईको उद्गम स्थल भएकाले पनि यस क्षेत्रमा धार्मिक पर्यटकहरु पनि यस क्षेत्रमा नपुगि फर्कन चाहाँदैनन् । शिलाहरुमा कतै पाइला कतै बिभिन्न आकृतीहरु पनि प्रशस्तै देखिन्छन् ती आकृतीहरुलाई स्थानीयहरुले भगवान शिवको प्रतिमुर्ति मान्दछन् । पहाडको चुचुरो ढुङ्गाबाट बनेकाले निक्कै अप्ठ्यारो छ, करिब पाँच बर्गमिटर गुफा, गुफाभित्र एउटा कढा आग्नेय चट्टान छ यसलाई उचाल्न सक्ने मानिसले पुण्य कमाउने धार्मिक विश्वास छ ।
करिब ५० बर्ष अगाडी गाईपाल्ने मासिहरुको प्रशस्त बसोबास भएको पाइए पनि हालसालै भने बसोबास छ्रैन। पुराना गोठहरु पानी पिलाउने कुवा र गाईचरनका अवशेषहरु प्रशस्त पाईन्छन् । ढुंगाहरुको नामबाट पनि प्रसिद्ध यहाँ दैलेढुंगा पनि पाईन्छ । ढोकाको बिषेश आकृतिले सजिएको ढुंगा हुनाले दैलेढुंगा नामाकरण गरिएको हो । बिषेश अच्चम्मको कुरा त कुवा त्यो पनि ढुंगाको माथीपटि, ढुंगेपानि नामको कुवा जसमाथी गाईबस्तु चर्ने गरेको कुरा स्थानिय जानकार सनतकुमार खतिवडा बताउनुहुन्छ ।
सन्दकपुरगाउँपालिका स्थित देउराली बजारबाट करिब ६ घण्टा पैदल यात्रा गरिसकेपछि छिन्टापू पुग्न सकिन्छ । पहाडको चुचुरो भएता पनि यस क्षेत्रमा पानिका श्रोतहरु भने प्रशस्त पाईन्छन् । छिन्टापूपोखरी, तालपोखरी,गुराँसेपोखरी लगायत ५ पोखरी छन् । धार्मिक विश्वास अनुसार हाँडिपोखरी नामक पोखरी खास जो कोहिले देख्न नसकिने बताईन्छ तर धर्ममा आस्थावान एवं श्रद्धालूजनले भने देख्न सकिने कुरा सुन्न पाईन्छ तर छ वा छैन भन्ने वैज्ञानिक कारण भने पाईएको छैन । धार्मिक विश्वास गर्नेहरुले यसलाई भगवान शिवको बासस्थान पनि भन्ने गरेको पाइन्छ साथै धार्मिक महत्वका मठ मन्दिर पार्टी पौवाको पनि कम छैन । बर्षमा एकपटक पुग्नै पर्ने गन्तव्यका रुपमा लिनुहुन्छ स्थानिय घनश्याम पौड्याल ।
धार्मिक तथा ऐतिहासिक रुपमा सजिए पनि कठिन भौगोलिक अवस्थाका कारण त्यस क्षेत्रमा पुग्नु त्यति सहज छैन। केहि बर्षयता पैदल यात्राको लागि केहि सहज बनाईए पनि सवारी चल्ने सडकको अवाभ झेलिरहेको छ । यतिमात्र नभई उपयुक्त खानेबस्ने सुविधा सम्पन्न होटलका अवाभले पर्यटकहरुलाई कठिन हुनेगरेको छ । बसोबासको अवाभ अनि कठिन यात्रापछि मात्र पुगिने हुनाले खाद्यन्न ढुवानीमा पनि समस्या देखिन्छ । बसोबासका निमित्त निर्माण गरिएका भौतिकसंरचनाहरुको न प्रयोग छ, नत पुनर्निमाण त्यसैले पनि जीर्ण बन्दै गएको देखिन्छ । खाद्यन्न र बसोबासको व्यावस्था भए निर्धक्क डुलघुम गर्न सकिने पर्यटकहरु बताउँछन् ।
अग्लो स्थान अनि फराकिला चौरहरु भएकाले दृश्यावलोकन एवं प्याराग्लाइडिङ्गको प्रमूख सम्भावना रहेको छ । बनभोज अनि सुटिङ स्पटको रुपमा पनि यसलाई बिकास गर्न सकिन्छ । पर्यटन क्षेत्रको रुपमा विकास गर्नसके होमस्टे अनि ससाना होटलहरुको पनि बिस्तार गर्न सकिन्छ । यसो गर्न सकियो भने मनग्गे आम्दानी पनि गर्न सकिन्छ । हालसालै सन्दकपुर गाउँपालिकाले यस क्षेत्रको पर्यटन प्रवर्दनमा केही जोड दिएको भने देख्न सकिन्छ । तर अझै काम गर्न धेरै बाँकि छ । केहीगरी बस्ती बसाउन सकियो र पुर्वाधार बिकाश गर्न सकियो भने गाउाँबासीको आर्थिक बृद्दिमा टेवा मिल्ने छ ।