इलामको रोङ गाउँपालिकाकी मनमाया राईलाई आज भन्दा चार वर्ष अघि घरायसी काम बाहेक केही पनि थाहा हुदैनथ्यो । बिहान, बेलुकाको खाना बनाउने, छोराछोरीलाई तयार गरेर विद्यालय पुर्याउने र गाई वस्तुको स्याहारनै उनको दिनचार्य बनेको थियो ।दुर्गम क्षेत्रमा हुर्किएर विवाह बन्धनमा बाधिएकी मनमायाले गरीवीकै कारण धेरै औपचारिक शिक्षा लिन पनि पाइनन् । त्यही कारण घरायसी काम र वस्तुको स्याहार सुसारको काम बाहेक अरू थाहा पनि भएन ।सामाजिक काम, तालिम र कार्यक्रममा समेत श्रीमानलाई पठाएर उनी घरको काममा व्यस्त हुन्थिन । औपचारिक शिक्षा कम भएपछि सामाजिक काममा जानका लागि घरमा आवाज उठाउन सक्ने राईको हिम्मत पनि पुगेन । तर,पछिल्लो समय भने मनमायाको जीवन ठीक उल्टो भएको छ ।उनको काम घरमा गाईको स्याहार र छोराछोरीको हेरविचार होइन , दैनिक जसो वडाकार्यालयमा बैठकमा बस्नु पर्छ भने अन्य सामाजिक काममा समेत पुग्नु पर्छ । मानव अधिकार मञ्च नेपाल, इलामले महिला सशक्तिकरणको तीन वर्षे कार्यक्रममा संलग्न भएपछि उनलाई धेरै कुरामा जानकारी भएको छ ।
सशक्तिकरण कार्यक्रम मार्फत महिलाको अधिकार, महिलाको क्षमताका बारेमा बुझेपछि मनमायालाई धेरै कुरा थाहा भएको हो । अहिले उनले घरमा समेत पहिले जस्तो काममा व्यस्त हुनुपर्दैन । उनले सिकाएकै कारण बाल बच्चा र श्रीमानले समेत अहिले सहयोग गर्छन् ।उनी अहिले अखिल नेपाल महिला संघको गाउँ अध्यक्ष छिन् । महिलालाई सचेत र महिला अधिकारका बारेमा जानकारी गराउन उनलाई गाउँ गाउँमा खटाइएको छ । ‘मानव अधिकार मञ्चको सशक्तिकरणले हामीलाई धेरै फेरिदियो । आफ्ना अधिकार र उत्तरदायित्वका बारेमा सिक्न पाइयो’मनमायाले भनिन्–‘मञ्चको कार्यक्रममा पुगेर महिलाहरू सँग छलफल गर्दा धेरै कुरा थाहा पाइयो भने गाउँ समाजमा अन्यायमा परेका महिलाका बारेमा पनि कुरा राख्न पाइयो।’
चुलाचुली गाउँपालिकाकी सङ्गीता तुम्बाफोको कथा पनि मनमायाको जस्तै छ । उनलाई पनि चार वर्ष अघि सार्वजनिक कार्यक्रममा उभिएर बोल्नु पर्दा साह्रै गाह्रो लाग्थ्यो । केही बोल्छु भनेर आटै गरेर उभिएर बोल्दा पनि डरले नै आधा जत्ति बिर्सिने समस्या थियो । तर, अहिले भने उनी कार्यक्रममा गएर दुई मिनेट बोल्न मात्रै होइन , विभिन्न ठाउँमा कार्यक्रम समेत सञ्चालन गर्छिन् ।महिला सशक्तिकरण र महिला अधिकारका विषयमा अध्ययन गरेकाले उनी महिलाले यस्ता काम गर्नुपर्छ भन्ने कुरा बुझाउन सक्छिन् । ‘सशक्तिकरण कार्यक्रमले धेरै सिकायो । हामीलाई राजनीतिमा लाग्नमा यसले धेरै सहयोग गरेको छ’,संगीता भन्छिन्–‘हामी महिलालाई जागरूक समेत बनाएको छ ।’ संगीताले अहिले गाउँपालिकाले महिलाका बारेमा कति बजेट छुट्याएको छ ? कति खर्च हुन्छ ? चासो राख्न थालेकि छिन् ।मनमाया र संगीता उदाहरणका पात्र मात्र हुन् । जिल्लाका विभिन्न दुर्गम तथा सुगम क्षेत्रमा रहेका अधिकांश महिलाहरू पछिल्लो समय साक्षर र सक्षम बन्न थालेका छन् । उनीहरूलाई मानव अधिकार मञ्च नेपाल र जागरण नेपालको कार्यक्रमले महिलाहरूलाई सक्षम बनाएको हो ।
तीन वर्ष अघि देखि जिल्लाको दुर्गम क्षेत्र शान्तिपुर,चुलाचुली, दानाबारी, महमाई र चिसापानीमा यो परियोजना अन्तर्गत महिला अधिकार सम्बन्धि सचेतना कार्यक्रम,स्थानीय निर्वाचनमा महिलाका सवाल अभिमुखिकरण, नेतृत्व विकास तालिम लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । मानव अधिकार मञ्च नेपाल इलामका परियोजना संयोजक शिखरनाथ सापकोटाले परियोजनामा संलग्न २६ जना मध्ये नौ जना महिलाले व्यावसयिक रूपमा अचार बनाउने उद्यम सुरु गरेको, उद्यमशीलता सम्बन्धी तालीम लिएका १५ जनामध्ये छ जनाले व्यावसायिक रूपमा ढाका बुन्ने,टेलरिङ र व्यूटीपार्लर सञ्चालन गरको बताउछन् । ‘हामीले यसै तालीम मार्फत घरेलु कार्यालयमा समेत तालीम लिन अनुरोध गरेपछि केहीले त्यहाँबाट पनि तालिम लिएर सक्षम बन्नुभएको छ ’ सापकोटाले भन्छन्–‘साविक दानाबारीका महिला सशक्तिकरण समूहका २५ जना मध्ये १० जनाले व्यवासय दर्ता गरेर कुखुरा पालन समेत गर्न थालेका छन् ।’
महिलालाई सक्षम बनाउन तीन वर्षमा ८ लाख ४५ हजार रूपैयाँ लागत लागेको जनाइएको छ । परियोजनामा समावेश भएका मध्ये १२ जना महिला स्थानीय तहमा जनप्रतिनिधिमा समेत निर्वाचित भएका छन् ।जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले परियोजनाले महिलामा जनचेतना बढाउनुका साथै सफल उद्यमी समेत बनाएको जानकारी दिए । उनले यो परियोजना सकिए पनि स्थानीय तहले बजेट विनियोजन गरेर सशक्तिकरण कार्यक्रम चलाउनु पर्ने जानकारी दिए ।


808 पटक हेरिएको 






