इलामे सञ्चारकर्मी रीता राई राराहाङद्धारा लिखित वान्तवा राई भाषाको शब्दकोष सार्वजनिक भएकोे छ । ‘चेइन्यान्ओ यङ’ बोलचालको भाषा नाम दिइएको शब्दकोषमा पाँच हजार बढी वान्तवा शब्दको नेपालीमा उल्था गरिएको छ ।
इलाम, भोजपुर र भारतको सिक्किम तिर बढी प्रयोग गरिने शब्दलाई शब्दकोषमा समेटिएको राराहाङले बताइन् । ‘सञ्चार क्षेत्रमा प्रवेश गरेको करिब ११ वर्ष पछि आफ्नै मातृ भाषाको सिकाइ पछि यो शब्दकोष तयार गरेकी हुँ’ राराहाङ भन्छिन ‘नयाँ पुस्ताले त हाम्रो भाषा प्रयोगनै गर्दैनन्, पुराना व्यक्तिले पनि भाषा बिर्सि सकेका छन् । पुरानालाई सम्झाउन र नयाँलाई सिकाउन यो शब्दकोषले सहयोग गर्छ भन्ने अपेक्षा छ ।’
सन्दकपुर – २ माइमझुवा घर भएकी राराहाङले ०६४ सालदेखि इलाम स्थित नेपालबाणी एफएममा काम गर्दा वान्तवा भाषाकै कार्यक्रमबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी हुन् । राराहाङले क्रमशः फिक्कल एफएममा नुलाम अर्थात राम्रो बाटो, इलाम एफएममा वुङवाखा अर्थात फुलबारी र वान्तवा समाचार, गोर्खा एफएममा सेमुना अर्थात नमस्कार जस्ता भाषाका कार्यक्रम सञ्चालन र भाषाका समाचार वाचन गर्दै भाषाको यात्रालाई निरन्तरता दिएकी छन् । नेपाली भाषालाई हेरेर सोझै वान्तवा भाषामा अनुवाद गरेर समाचार वाचन गर्नै राराहाङले अहिले भने कान्तिपुर एफ एममा ‘हेनखामा’ धर्ती र इन्डिजिनियस टेलिभिजन काठमाडौंमा ‘आनखिम आनयङ’ हाम्रो घर हाम्रो भाषा नामको कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । ‘रेडियो, टेलिभिजनको समाचार बाहेक भाषा प्रशिक्षण र भाषाका स्टेज कार्यक्रमका लागि पनि धेरै समय खर्चने गरेकी छु,’ राराहाङ भन्छिन् – ‘सञ्चार क्षेत्रको यात्रा र भाषाको संरक्षण प्रयास मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति बनेको छ ।’