इलाम . विश्वमै लोपोन्मुख मानिएको रातो हाब्रे(रेड पाण्डा) जोगाउन केही वर्ष अघि देखि इलाममा पाठ्यक्रममै समावेश गरेर पठाउन सुरु गरिएको छ । गत दुई वर्षदेखि रेडपाण्डाको बारेमा मानिसलाई जानकारी गराउन यहाँका तीनवटा विद्यालयमा रेडपाण्डाका बारेमा पठनपाठन समेत सुरु गरिएको हो । तर, अहिले आएर रेडपाण्डाको प्रमुख चुनौती मानिस नभई कुकुर र चितुवा बनेका छन् ।
छ महिनामा जिल्लामा तीन वटा रेडपाण्डा कुकुर र चितुवाले मारिसकेको छ । पाँच महीना अघि इलामको पुवामझुवामा एउटा रेडपाण्डालाई कुकुरले आक्रमण गरेको थियो । उक्त रेडपाण्डा आक्रमणपछि स्थानीय बासीले बचाउन नसकेपछि मरेको थियो भने यस्तै एक महीना अघि मात्र अर्को रेडपाण्डालाई पनि कुकुरले नै सिकार गरेर मारेको छ । यस्तै दुई दिन अघि मात्र जमुनाको सामुदायिक वनमा एउटा रेडपाण्डा चितुवले सिकार बनाएको थियो ।
यसरी पटक–पटक रेडपाण्डामाथि कुकुर र चितुवाले आक्रमण गर्दा सम्बन्धित संस्थालाई रेडपाण्डालाई कसरी बचाउने भन्ने अन्योलता बढेको छ । सबैभन्दा बढी रेडपाण्डालाई आक्रमण गर्ने छाडा छोडिएका कुकुर भएकाले उक्त कुकुरलाई न्यूनीकरण गर्नका लागि संस्थाले पहल सुरु गरेको रेडपाण्डा सम्बन्धी काम गर्ने संस्था उच्च पहाडी संस्थाका प्राविधिक युवराज पौडेल बताउछन् ।
उनका अनुसार छाडा छाडिएका कुकुरलाई व्यवस्थापन गर्न नसकेमा रेडपाण्डा अझै लोप हुने खतरा बढेको छ । पौडेलले अनुसार चितुवाका लागि भने आफूहरूले केही गर्न नसक्ने बताए । चारैतिर चितुवाले आतङक फैलाएकोले यसले मानिसलाई समेत आक्रमण गर्न सक्ने भएकाले प्रशासनको सहायता बेगर चितुवाको समाधान गर्न नसक्ने जानकारी दिए ।
‘हामीले पाठ्यक्रममा हालेर नै रेडपाण्डाका बारेमा जानकारी गराएपनि धेरै मानिसले यसका बारेमा बुझेका छैनन् । यदि बुझेका भए कुकुर छाडा छाड्ने थिएनन्’ पौडेलले थपे,‘तर, ठूलो जङ्गल रहेको भएकाले चितुवाको समाधानका लागि भने हामीले केही गर्न सक्दैनौ’
केही वर्ष अघि मात्र जिल्लामा रेडपाण्डा पाइने गरेको सर्वेक्षणले देखाएपछि रेडपाण्डाका बारेमा जङगल व्यवस्थापन गर्न समेत थालिएको थियो । अहिले मानिसले रेडपाण्डाको सिकार बनाउन नपाउन् भनेर जङगल भित्रै सीसी क्यामरा समेत जडान गरिएको छ । छाडा छाडिएका कुकुरलाई बन्ध्याकरण गरेर वा कुकुरको प्रजननमा बन्ध्याकरण गरेर भएपनि कुकुर व्यवस्थापन गर्नुपर्ने रेडपाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरी शेर्पाले बताए ।
‘रेडपाण्डा कुकुरबाट आक्रमण हुने क्रम देशभरि नै चलेको छ । त्यसैले हामीले अहिले यस्ता कुकुरलाई भ्याक्सिङ लगाउने काम समेत गर्न थालेका छौं ं’