इलाम । ‘कान्छा तिमी पनि आँखा देख्दैनौ र यहाँ आएको ?’ फाकफोकथुम गाउँपालिका–३ रातमाटे निवासी ७० वर्षीया राममति लिम्वूले यसो भनिरहँदा पछिल्तिर बसेका सोही ठाउँका ७२ वर्षीय जसबहादुर राईले उत्तर दिनुभयो ‘म पनि आएको हुँ ।’
चार वर्षअघि दाहिने आँखा एकसे एक बन्द भएपछि राममतिका पछिल्ला दिन घरमै बितिरहेका थिए । आँखा बन्द भएपछि आफ्नै घर बिरानो लाग्ने राममति अहिले आफूले संसार देख्न पाएकोमा खुशी हुनुहुन्छ । ‘दाहिने आँखा त बन्द भयो भयो, अर्काे आँखाले पनि त्यत्ति काम गरेको थिइन्, यत्तिकै बितिन्छ की भन्ने पिर थियो तर दैबले गाउँघरमै आँखा लगाईदिए, अहिले संसार देख्न पाए, आफैं घरसम्म पुग्छु’ उहाँले हर्षका आँशु झार्दै चिकित्सकहरूतर्फ फर्केर भन्नुभयो ‘हाम्रा लागि भगवान यही आउनुभएछ ।’
आमचोककै जसबहादुर राई पनि आफू आँखा देख्नेभएपछि निक्कै हर्षित हुनुहुन्छ । छ वर्षअघिदेखि बन्द रहेको आफ्नो देब्रे आँखा आज खुल्दा धेरै खुशी छ, उहाँ भन्नुहुन्छ ‘उपचारका लागि कहीं जानुपरेन घरआँगनमै संसार देख्न पाइयो ।’ आँखामा मोतिबिन्दु हुँदा आफ्नै घर बिरानो लाग्ने उहाँ सफल शल्यक्रियापछि ठमठम हिंडेर घर जानुभयो ।
दुबै आँखा बन्द भएर घरको एउटा कुनामा आफ्नो जीवन बिताईरहेका फाकफोकथुम–४ फूएतप्पाका ७५ वर्षीय यामबहादुर लुङ्गेलीले पनि संसार देख्न पाउँदा गौरब लागेको महशुस गर्नुभयो । छ÷सात महिनादेखि दुबै आँखा बन्द भएर हिंड्डुलमा समेत समस्या भोग्दै आएका लुङ्गेलीले आँखाको सफल शल्यक्रियापछि आफैं घर जाने प्रतिक्रिया दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घ र फाकफोकथुम गाउँपालिकाको संयुक्त आयोजनामा आमचोकमा शल्यक्रियासहितको शिविर आयोजना गरिएको हो । यस गाउँपालिकाको फूएतप्पा, लुम्दे, एकतप्पा, फाकफोकमा सञ्चालित परीक्षण शिविरमा ५६ जना मोतिया बिन्दूका बिरामी भेटिएका थिए । तर शिविरमा लक्ष्य अनुसार बिरामी नआएको उपचारमा सङ्लग्न अप्टामरलोजी रूकेस सिंह बताउनुहुन्छ । सङ्घले मङ्सिर १५ गतेदेखि सुरू गरेको शिविरमा १५ जनाको आँखाको सफल शल्यक्रिया गरिएको छ । मोतिबिन्दु लागेर आँखा नदेख्ने १५ जनाको शल्यक्रिया गरिएको र शल्यक्रियापछि उहाँहरूले आँखा देख्न सकेको उपचारमा सङ्लग्न आँखा अस्पताल विराटनगरकी डा.हनी केसीले बताउनुभयो । बिरामीलाई खाना र बस्नको प्रबन्ध भएको लक्ष्य अनुसार प्रगति हुने थियो । शिविरमा आएका सामान्य बिरामीलाई निःशुल्क औषधी, चश्मा वितरण गरिएको थियो ।
शिविरका लागि गाउँपालिकाले चार लाख आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । ‘आँखा जस्तो संवेदनशील अंगका लागि आगामी वर्ष पनि सहयोग गर्न तयार छौं, उहाँले भन्नुभयो ।
नेपाल नेत्रज्योति सङ्घका उपाध्यक्ष तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बितेको एक वर्षमा सङघले एक हजार जनाको मोतिया बिन्दूको शल्यक्रिया गरेको बताउनुभयो । सन् २०२० सम्ममा मोतिबिन्दू र रतन्धो लागेको मानिसको सङ्ख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको बताउनुभयो ।