कस्तो होला इलाममा यसपालि आयोजना हुन गइरहेको मेची क्षेत्र पर्यटन महोत्सव– २०७५ ? यति बेला धेरैको मस्तिष्कमा यो प्रश्न खेलिरहेको छ र त्यसैगरी यस आयोजनाका बारेमा विभन्न कोणबाट चर्चा परिचर्चा समेत भइरहेका छन् ।
सामान्यतः महोत्सव आयोजनाका मुख्य दुई उद्देश्य रहन्छन्– वस्तु तथा सेवाको विज्ञापन र तिनै दुईको बिक्री । यो पर्यटन महोत्सव भएकाले यसको मुख्य उद्देश्य मेची क्षेत्रको पर्यटनको बजारीकरण गर्नु हो । यस क्षेत्रका पर्यटकीय उपज मुख्यतः प्रकृति, संस्कृति र शाहसिक क्रियाकलापसँग सम्बन्धित छन् । यी तिनै पक्षलाई विविध स्वरुपमा एकै थलोमा आकर्षकरुपमा पर्यटकमाझ प्रस्तुत गर्नु यस महोत्सवको मुख्य चुनौति हो ।
सम्पूर्ण मेची क्षेत्रलाई समेटेर व्यवस्थापन गरिने भए पनि यो कार्यक्रम इलाममा आयोजित हुने भएकाले यसको लाभ पनि तुलनात्मक रुपमा इलामलाई नै बढी हुन जान्छ । त्यसैले यस महोत्सवलाई कसरी सफल बनाउने भन्ने चिन्तन र चासो सबै इलामेमा घनिभूतरुपमा पैmलिरहेको देखिन्छ । किनभने पर्यटन उद्योगको लाभांश समुदायको सबै तहमा पुग्दछ ।
विगतमा यस क्षेत्रमा सडक सञ्जालको अभावमा यातायातको सुविधा नभएको अवस्थामा इलाम बजार कच्ची सडकले भए पनि झापासँग जोडिएकाले यो बजार यस क्षेत्रको आपूर्ति केन्द्रका रुपमा थियो । त्यसकारण यहाँको व्यापार व्यवसाय राम्रो थियो । तर अब विभिन्न क्षेत्रमा सडक सञ्जालको बिस्तारका कारण इलाम बजार स्थानीय बजारका रुपमा खुम्चिन पुगेको छ ।
त्यति मात्रै होइन, जिल्ला सदरमुकाम भएको कारणबाट सरकारी कार्यालयहरु यहीँ रहेकाले जिल्लाभरका सेवाग्राहीहरु इलाम बजार आउजाउ गर्ने गर्दथे । यसले इलाम बजारमा चहलपहल हुने गर्दथ्यो तर संघीयताको कार्यान्वयन पश्चात जिल्ला सदरमुकामबाट प्रदान गरिने अधिकांश सेवा स्थानीय तहबाटै प्रदान गरिने भएपश्चात जिल्लाबासीको चहलपहल समेत स्वाट्टै घट्न पुग्दा इलाम बजारको व्यापार व्यवसाय पनि त्यही परिमाणमा घट्नु स्वाभाविक हो । यसले व्यापार व्यसायीलाई मात्रै होइन समग्र नगरवासीलाई चिन्तित बनाएको छ ।
व्यापार व्यवसाय मानिसको आवतजावतमा भर पर्ने कुरा हो । त्यसैले इलाम नगर क्षेत्रमा त्यस्तो चहलपहल फर्काउने एउटा मुख्य उपाय पर्यटन हो । इलाम नगर जिल्लाको केन्द्रमा रहेकाले यो नगर पर्यटकीय चहलपहलको समेत केन्द्र बन्न सक्दछ र त्यो बनाउनु पनि पर्दछ भन्नेमा सबैको सहमति देखिन्छ ।
महोत्सव आयोजनास्थल इलाम बजार भएकाले यस महोत्सवको क्रममा इलाम बजार क्षेत्रमा मानिसको चहलपहल अवश्य नै बढ्ने छ । त्यसले यहाँको व्यापार व्यवसायलाई सघाउने भएकाले यस महोत्सवलाई सफल पार्न नगर क्षेत्रका सम्पूर्ण व्यापार व्यवसायी लगायत आम नगरवासी सक्रियरुपमा सरिक हुन आवश्यक छ । यस बर्षलाई इलाम नगरपालिकाले सदरमुकाम स्थापनाको दुई सय बर्ष प्रवेश उत्सवका रुपमा मनाइरहेको छ । यो महोत्सव पनि त्यही कार्यक्रमको एउटा कडी समेत हो ।
इलामलाई ठूला महोत्सव आयोजनाको उस्तो अनुभव छैन । यो महोत्सवको आयोजनालाई इलामका पर्यटन व्यवसायीको संलग्नतामा गठीत एउटा सानो संस्थाले अगुवाइ गरिरहेको छ । त्यसैले यस आयोजनाको परिकल्पना र व्यवस्थापनमा थुप्रै कमिकम्जोरी हुन सक्दछन् । अतः त्यस्तो कुनै पक्षमा सुधार वा परिस्करण आवश्यक देखिएमा आयोजक संस्थालाई सल्लाह सुझाव दिनु समेत हामी सबैको कर्तव्य हो ।
इलाम हरित नगरका रुपमा चिनिन्छ । हरित नगर भनेको सरसफाइदेखि लिएर सेवासुविधा तथा सांस्कृतिकरुपले समृद्ध नगर भन्ने बुझिन्छ । संस्कृति मानिसको सद्व्यवहारसंग सम्बन्धित पक्ष हो । पर्यटन उद्योगमा आतिथ्यताको ज्यादै ठूलो भूमिका रहन्छ । हाम्रा पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएका उद्योग व्यवसायमा आतिथ्यता अपेक्षितरुपमा परिस्किृत भएन भन्ने गुनासो बेला बखत हामीले सुन्दै आएका छौं । यस कुरालाई महत्वकासाथ ग्रहण गरेर आवश्यक सुधार गर्न आवश्यक छ ।
उद्योगधन्दा तथा व्यवसाय राम्ररी नफस्टाएको हाम्रो जस्तो स्थानमा महोत्सव आयोजना गर्नु निकै खर्चालु हुन्छ । महोत्सवमा आप्mना वस्तु वा सेवा विक्री गरेर व्यवसायीहरुले आर्थिक लाभ लिन सक्दछन् तर आयोजकहरुलाई आयोजनाको खर्च जुटाउनु अत्यन्त कठीन कार्य हो । त्यसैले त्यस पक्षमा समेत हामी सबैले सकेको सहयोग गर्नु आवश्यक छ ।
हिजोआज अन्तुमा आएका पर्यटकलाई सेवा दिन त्यहाँका पूर्वाधारहरुले नभ्याइरहेको चर्चा सुनिन्छ । अन्तुमा पर्यटकको आगमन यसरी बड्नुमा त्यहाँसम्मको पहुँचमा सहजता र त्यहाँका पर्यटकीय उपजहरुको प्रचार प्रसार हो । अन्तुले हामीलाई गर्दा के हुँदैन भन्ने सन्देश दिइरहेको छ । दुई दशक अघिसम्म अन्तुमा पर्यटक तान्न त्यहाँका उद्यमीहरु संघर्षरत थिए । स्थानीयस्तरबाट लगानी र परिश्रम गरेर पर्यटक भिœयाउन महोत्सव आदि गरिरहेका थिए । अन्तु जस्तै सुन्दर र आकर्षक गन्तव्य र उपजहरु हाम्रो जिल्लामा थुप्रै छन् । तर ती सबै गन्तव्यमा पहुँच त्यहाँ जस्तो सहज छैन ।
जिल्लाको पूर्वी भागलाई छाडेर इलामका अन्य गन्तव्यमा पुग्न इलाम नगर प्रवेश आवश्यक छ । टाढाबाट इलाम हेर्न आउनेहरु पहिले सदरमुकाममै ठोकिन्छन् । त्यसैले यो नगर सिनेमाको ट्रेलर जस्तै हो इलामको पर्यटनका लागि । यसलाई हामी जति आकर्षक, मानिसको मन छुने, रम्ने रमाउने किसिमको बनाउन सक्छौं, इलामको प्रचार प्रसार त्यति नै बढेर जान्छ । प्रचार प्रसार पर्यटनको विकासमा निर्णायक पक्ष हो । त्यसैले रमाइलो गरेर भन्ने गरिन्छ– पर्यटन सपनाको व्यापार पनि हो ।
हामीले प्याकेजहरु बनाएर पर्यटन बजारमा लान नसकेकाले इलाम बजारमा एक दिन वा रात बिताएर पर्यटकहरु फर्कन्छन् । इलाम बजारका आसपासमा पर्यटकलाई भुल्याउन सक्ने स्थानहरु निकै भए पनि तिनमा हामीले पूर्वाधार विकास गर्न सकेका छैनौं । नजिकै सेती देवी छ । त्यहाँ भौतिक सुविधाहरु थप्ने मनग्गे सम्भावनाहरु छन् । त्यहाँसम्मको सडकको स्तरोन्नति गरी केही कृतिम सुविधाहरु थप्ने हो भने मानिसलाई एक दिन त्यहीँ अल्मल्याउन सकिन्छ । हामीले दार्जिलिङको रक गार्डन र सिक्किमको झाँक्री फल्स हेरेर सिक्ने कुरा धेरै छन् ।
हामी कुरा गर्दा इलामको समृद्धिको मुख्य आधार पर्यटन हो भन्न बिराउँदैनौं तर राज्यले लगानी गर्दा यस क्षेत्रमा कति छुट्याएका छौं, एक पटक समीक्षा गर्नै पर्दछ । पर्यटन विकासका दुई महत्वपूर्ण कर्ता राज्य र निजी क्षेत्र हुन् । यसपालिको महोत्सव आयोजना गर्न निजी क्षेत्र जुर्मुराएको छ तर राज्यको तर्पmबाट यसलाई सघाउ अपेक्षितरुपमा पुग्न सकेको देखिएको छैन ।
यसपालिको महोत्सवको आयोजना पक्षलाई हेर्दा दुई वटा महत्वपूर्ण कामको थालनी गर्न खोजेको देखिन्छ । एउटा हो क्षेत्रीय सहभागिता । कुनै एउटा सानो ठाउँलाई मात्रै उचालेर पर्यटनको अपेक्षित विकास हुन सक्दैन । पर्यटक भनेका मानिस हुन् । तिनका रुची थरी थरीका हुन्छन् । सबैका रुचीलाई पर्यटन उद्योगले सम्बोधन गर्न सक्नु पर्दछ । जस्तो, कोही हिमाल हेर्न रुचाउलान्, कोही कला संस्कृति हेर्न, बुभ्mन चाहने होलान् । कोही हरियालीमा रमाउलान् कोही पानीमा खेल्न रुचाउलान् । कति वनस्पतिका प्रेमी हुन्छन् कोही चराचुरुङ्गी र जीवजन्तुलाई नजिकबाट नियाल्न चाहान्छन् । यस्तै अरु धेरै कुरा छन् ।
केचना कवलदेखि कञ्चनजंघासम्मको भूगोलमा संसारका पर्यटकले खोज्ने, रुची राख्ने, रम्ने रमाउने गन्तव्य र उपजहरु यथेष्ट छन् । त्यसैले केचना पुगेकाले कञ्चनजंघाबारेको जानकारी पाउने, चुरे क्षेत्र पुगेकाले उच्च पाहाडी तथा हिमाली क्षेत्रबारे सूचना भेट्ने, सतार नृत्य हेरिसक्दा शेर्पा नृत्यको चर्चा सुन्न पाउने जस्तो व्यवस्था पर्यटन प्रवद्र्धनका लागि आवश्यक हुन्छ । त्यस दृष्टिबाट यो महोत्सव आयोजनामा मेचीको समग्र क्षेत्रका पर्यटन व्यवसायीको संलग्नता सामूहिक प्रयासको थालनी हो ।
दोस्रो पक्ष यस महोत्सवले मेची क्षेत्रका पर्यटन व्यवसायीहरुलाई संस्थागत सञ्जालमा बाँधी पर्यटन क्षेत्रको योजनावद्ध विकास प्रयास थाल्ने जमर्को गरेको देखिन्छ । यस महोत्सवको समापनका अवसरमा आगामी बर्ष यस्तै महोत्सव आयोजनाका लागि अर्को कुनै एक जिल्लालाई अवसर समात्न उत्प्रेरित गर्ने देखिन्छ । त्यस समारोहमा यस क्षेत्रको पर्यटनको प्रतीक आयोजक संस्थाले अर्को जिल्लालाई हस्तान्तरण गर्ने छ । यो अवसर पाउने जिल्लाले महोत्सव आयोजनाका लागि एक बर्षको समय पाउने छ । साथै यो महोत्सव सम्पन्न गरेर गरिने यसको समीक्षाले अर्को बर्ष आयोजना गर्ने संस्थालाई यथेष्ट सिकाइ समेत हस्तान्तरण गर्ने छ । भविश्यमा यसले संस्थागत स्वरुप लिनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । र, यो क्रम यस क्षेत्रका चारै जिल्लामा पालैसँग चलिरहनेछ ।
त्यसैले इलामका लागि यो महोत्सव एउटा ठूलो अवसर हो । यसलाई सफल पार्न हामी सबै इलामे जुटौं । आयोजकले पहिचान गर्न नसकेका, समेट्न नभ्याएका कुनै पक्ष देखिन्छन् भने आयोजकलाई जानकारी गराऔं, सुझाव दिऔं । यो महोत्सवलाई हाम्रो बनाऔं, राम्रो बनाऔं ।