लामो समय राजनीतिमा रहेर समाजसेवा गरेका एक व्यक्तिलाई शनिबार सम्मान गरिएको छ । प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी चक्रबहादुर साउदेनलाई एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसले सम्मान गरेको छ ।
पूर्व गाविस अध्यक्ष तथा नेपाली काङ्ग्रेसका पूर्व जिल्ला उपसभापति ८० वर्षीय साउदेनलाई नेपाली काङ्ग्रेसले उनकै घरमा सम्मान गरेको हो । १९९५ सालमा जन्मिएका साउदेन लामो समय राजनीति र समाजसेवामा थिए । अहिले विरामले थलिएर घरैमा विश्राम लिइरहेका छन् ।
सम्मान समारोहमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्य, सचिव खगेन्द्र देवान लगायतका नेताले साउदेनलाई खादा र मालासहित सम्मान पत्रले सम्मान गरेका थिए ।
स्वास्थ्यमा समस्या देखिएको भएपनि साउदेनले समारोहमा बोल्दै आफूलाई पार्टीले सम्मान गरेकामा खुशी व्यक्त गरे । सम्मान समारोहमा नेपाली काङ्ग्रेसका नेता तथा सर्वसाधारणको उपस्थिति थियो ।