सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक वरिष्ठ नेता झलनाथ खनाल सहित ४ जनाले बहिस्कार गरेका छन् ।
तल्लो तहका कमिटीमा एकता प्रक्रिया टुङ्गो लगाउन बस्ने भनिएको बैठक खनाल सहित नेता माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले बहिस्कार गरेका हुन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई अपमानित गरेपछि बैठक बहिस्कार गरिएको वरिष्ठ नेता खनालले गुनासो गरेका छन् । अपराह्न ३ बजेका लागि बोलाईएको बैठक आधा घण्टा ढिला हुँदा समेत अध्यक्षद्वय उपस्थित नभएपछि बहिस्कार गरिएको उहाँको भनाई छ । नेता खनालले भने, ‘प्रधानमन्त्रीले समयको महत्व नबुझेर हामीहरुलाई धेरै बेर कुराउनुभयो, अनुशासनको ख्याल गरिएन लापरबाहीको हद भयो ।’ पार्टीमा अराजकता बढेपछि अनुशासनको पालना गराउन लागिएको नेता खनालले बताए।
पार्टी महासचिव विष्णु पौडेलले भने निर्धारित समय भन्दा १० मिनेट मात्रै ढिलो भएको प्रतिकृया दिनुभएको छ । पौडेलले भने, ‘बैठक बहिस्कार भएको औपचारिक जानकारी छैन । केही ढिलाई भएको मात्रै हो । बैठक नै छाड्नुपर्ने कारण थिएन ।’ ४ जना नेताले बहिस्कार गरेपनि बैठक भने बसेको पोडेलको भनाई छ । बैठकले आगामी २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको छ ।


528 पटक हेरिएको 






