‘इलाम नगरपालिकाका पाँचवटा वडामा वडा सचिव छैनन्, स्थानीय तहका अन्य कर्मचारीले वडा चलाउनु परेको अवस्था छ,’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने ‘त्यहाँभन्दा समस्या स्थानीय तहलाई कति हुन्, कर्मचारी समायोजको कुरामात्र भएको छ, हामी कुरा होइन काम चाहान्छौं, कर्मचारी समायोजन चाँडो होस ।’
वडामा पुगेर वडा सचिव भन्दा बाहेकको कर्मचारीले सविचको जिम्मेवारी सम्हाल्नु पर्दा उनीहरूलाई पनि त्यति सजिलो छैन । सचिवले गर्दै आएका कामहरू पुराना फाइल हेरेर त्यसकै आधारमा गर्नुपरेको छ, इपना– १ को कार्यालय सचिवको काम चलाइ रहेका एक कर्मचारीले भने ‘सबै कुरा त थाह हुँदैन, सिफारिस, वडाका अन्य काम पुरानै फाइल हेरेर अघि बढाउँदै छु ।’
वडाध्यक्ष भएपनि वडाध्यक्ष र वडा सविचको कामको फरकपन र तालमेल निकै भिन्ननै हुनेगरेको छ । प्रशासनिक कामकाज चलाउन वडा सचिव पोक्त हुनैपर्नै स्थिति छ भने, वडाका विकास निर्माण देखि सर्वसाधारणलाई परेका पीरमर्का बुझ्न सम्म वडाध्यक्ष खट्नै पर्छ । ‘छिमेकीले कान्लाको ढुस काटिदिन्छ, अर्को सुनाउन आउँछ, कोही बेला त रातको १२ बजेपनि नभनि त्यस्ता साना तिना समस्यामा पुग्नु पर्ने बाध्यता हुन्छ,’ वडा – ५ का अध्यक्ष ठाकुर श्रेष्ठ भन्छन् ‘वडाको काम देखि सर्वसाधारणका समस्या, गाउँघरका सानातिना विवाद सबै गर्दा कहिले वडा कार्यालय पुग्नै पनि समस्या हुन्छ, यस्तो अवस्थामा वडा सचिव पनि नहुँदा वडाध्यक्षहरू सबै जसोलाई काम गर्न निकै समस्या छ ।’
इलाम नगरपालिकाको मात्र समस्या यो होइन, सूर्योदय नगरपालिका, माइ नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिकालगायतका जिल्लाका दशवटै स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज चलाउन समस्या भएको स्थानीय तहले जनाएका छन् ।
त्यसोत राज्यको पुर्नसंरचना सँगै जिल्ला तहका विषयगत सरकारी कार्यालयहरू स्थानीय तहमै जाने भएपछि खुशी भएका सर्वसाधारण नागरिकलाई अहिले सेवा पाउन भने निकै मुस्किल परेको छ । स्थानीय तह र वडा कार्यालयबाटै सेवा पाउने र सानोतिनो कामका लागि चाहेको समयमा काम हुने आशा बोकेका सर्वसाधारणका लागि त्यो आशा भने सपना जस्तै बन्न थालेको छ ।
एकजना वडा सचिवले अन्य वडाको पनि काम गर्नुपर्ने बाध्यता नहटेपछि सर्वसाधारणले समयमा आफ्नो काम गर्न नपाएको गुनासो गरेका छन् । अझ माइ नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माइजोगमाई गाउँपालिकामा कर्मचारी अभाव भएर एउटै वडा सचिवले अन्य वडाको पनि काम गर्नुपर्दा सर्वसाधारण मर्कामा परेको इलामका जिल्ला समन्वय समितिले जनाएको छ । समितिका अनुसार जिल्लामा दुई सय ९७ कर्मचारीको पद रिक्त छ । जिल्लाका १० स्थानीय तहमा जम्मा चार सय ३५ कर्मचारीको दरबन्दी छ । तर, कर्मचारी पदपूर्ति भने एक सय ३७ मात्र रहेको जिल्ला समन्वय समितिको तथ्याकंमा उल्लेख छ ।
इलाम नगरपालिकामा रहेका ६४ दरबन्दीमध्ये ३० मा पदपूर्ति भएको छ भने ३४ दरबन्दी रिक्त छन् । देउमाईमा ५७ मा ३९, फाकफोथुममा ३१ मा २२ र माई नगरपालिकामा ५९ मा ५०, चुलाचुलीमा २९ मा १९ दरबन्दी रिक्त छन् । समन्वय समितिको तथ्यांकअुनसार माइजोगमाई गाउँपालिकामा २९ मा २०, माङ्सेबुङमा २९ मा २१, रोङमा २९ मा १६, सन्दकपुरमा २७ मा १५ र सूर्याेदयमा ८१ मा ५६ दरबन्दी रिक्त रहेको जिल्ला समन्वय समितिको तथ्यांक छ ।
कर्मचारी अभाव भएपछि स्थानीय तहले करार सेवा र सामाजिक परिचालकहरूलाई वडा सचिव सम्मको जिम्मेवारी दिनुपरेको बताएका छन् । यस्तै चुलाचुली गाउँपालिकाले वडा नम्बर एक र दुईमा एक जना तथा तीन र चारमा एक जना वडा सचिवलाई काममा खटाएको छ । यी दुई वडा सचिवले दिन विराएर दुवै वडाको काम गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।


1146 पटक हेरिएको 






