इलाम साहित्य संस्कृति तथा कला (इसासंक) प्रतिष्ठानले स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवश मनाएको छ ।
जिल्ला समन्वय समितिको हलमा आयोजित दिवशमा प्राज्ञ कोमल निरौला, गायक राजेश चाम्लिङ्ग, इलाम तारा विजय फागो, बसन्ती लिम्बू, रीना घिमिरे, रोजिना श्रेष्ठ, उमेश गुरुङ्गलगायतले नारायण गोपालका गीतहरु गाएका थिए । कार्यक्रम युनिभर्सल र युनिक डान्स सेन्टरका कलाकारले नृत्यु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पनि नारयाण गोपालको यति चोखो यति मिठो बोलको गीत गाएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, फाकफोकथुमका अध्यक्ष रामकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्राज्ञ कोमल निरौलाले नारायण गोपालको जीवन सुनाएका थिए । इसासंकका अध्यक्ष देवी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरि फूयाँलले स्वागत गरेका थिए भने जयनारायण भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।