निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मिति सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । इलाममा आयोजित एक कार्यक्रममा उनले आवाधिक निर्वाचन सुनिश्चित भएपनि मिति समेत सुनिश्चित भए सहज हुने बताए । ‘कुन तहको निर्वाचन कहिले कुन मितिमा गर्ने भन्ने कानुन या संविधानमानै सुनिश्चित हुनुपर्छ’–उनले भने–‘त्यसले निर्वाचन गराउँन आयोग, राजनीतिक दल, प्रशासन सवैलाई सजिलो हुन्छ ।’ सरकारलाई निर्वाचनको मिति तोक्ने अधिकार भएसम्म निर्वाचन मिति सुनिश्चित नहुने उनको तर्क छ ।
प्रमुख आयुक्त यादवले कानुन निर्माण गर्ने अंगकै पद रिक्त हुँदा पनि आयोग उपनिर्वाचन गराउने अवस्थामा नरहेको बताए । ‘अहिले हामी एउटा वडाको पनि निर्वाचन गराउने अवस्थामा छैनौ’–उनले अघि भने–‘निर्वाचन गराउने कानुन पनि छैन, निर्वाचन तोक्ने अधिकार पनि छैन ।’ सरकारकै हैसियत प्राप्त नगरपालिका गाउँपालिका प्रमुखकै पद रिक्त रहेको भन्दै उनले त्यस्ता पदहरु लामो समय खालि राख्न नहुनेमा जोड दिए । उपनिर्वाचन गराउनका लागि आयोग तयार भएको भन्दै उनले उपनिर्वाचनको स्टेमेट गरिसकेको जानकारी गराए ।
विगतमा पनि विवादीत अवस्थामानै निर्वाचन भएको स्मरण गराउँदै प्रमुख आयुक्त यादवले कानुनहरुमा अझै सुधारको आवश्यकता औल्याए ।
विवाद निरोपण गर्न कार्यविधि बनाइदै
निर्वाचनको बेला देखा पर्ने विवादलाई सुल्झाउनको लागि निर्वाचन आयोगले विवाद निरोपण कार्यविधि बनाउन थालेको छ । प्रस्तावित कार्यविधिमा पूर्व निर्वाचन अधिकृत, मतदान अधिकृत, अनुगमनकर्ता सहित स्थानीय स्तरमा खटिने सुरक्षाकर्मीसंग सुझाव संकलन थालिएको छ । कार्यविधिका सुझाव संकलन गर्न आयोगले इलाममा दुईदिने कार्यशाला गरिरहेको छ ।
यस अघि विवाद निरोपण गर्ने छुट्टै कार्यविधि थिएन । कार्यविधि कार्यान्वयनमा आएपछि विवाद निरोपणमा एकरुपता आउने आयोगका उप सचिव गंगाबहादुर खरेलले बताए ।
आयोगले निर्वाचनको बेला तल्लो तहमानै धेरै समस्या देखिने भएकाले फिल्डमा खटिनेहरुबाट सुझाव लिइएको निर्वाचन आयोगका सचिव विरेन्द्रराज शर्माले बताए । सचिव शर्माले कार्यविधिमाथिको सुझाव संकलन आगामी निर्वाचनको तयारी भएको बताए । अन्य केही जिल्लामा समेत छलफल गरेर आयोगले कार्यविधि पारित गर्ने जनाएको छ ।
पुनरावेदन अदालत विराटगर इलाम इजलासका मुख्य न्यायाधीश प्रकासचन्द्र गजुरेलले जनताको भावनाको करद गरेर कानुन बनाउने प्रक्रिया उत्तम भएकाले आयोगले कार्यविधि बनाउन जिल्लामा सुझाव संकलन गर्नु राम्रो रहेको प्रतिक्रिया दिए ।
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले आयेगले निरोपण गरेका विवाद पाच्य भएमात्रै निर्वाचन प्रतिको विश्वास बढ्ने प्रतिकृया ब्यक्त गरे ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले निर्वाचनका बेला विवाद आउन नदिन विधिहरुलाई परिस्कृत गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ इलामका सचिव ख्याम भुजेलले निर्वाचनको विश्वासनियता बढाउन कार्यविधि प्रभावकारी हुनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, अनुगमनकर्ता लगायतको सहभागीता छ ।