‘विद्यालय शिक्षा स्थानीय तहलाई नदेऊ’

  सरलपाटी सम्वाददाता

 710 पटक हेरिएको

नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई नदिन संविधान संशोधन हुनुपर्नेलगायत २६ सूत्रीय माग राखी आज राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसअगाडिबाट र्याली शुरु भई भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको कार्यक्रममा शिक्षक नेताहरुले आफूहरु र नेपाल सरकारबीच विगतमा भएको पेशागत र शैक्षिक मागहरु पूरा हुनुपर्ने बताएका छन् ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थानीय तह भर्खरै स्थापित भएको र यसको स्रोतसाधन र अनुभवका दृष्टिमा समेत विद्यालय तहको सञ्चालन र व्यवस्थापन गर्न ती तह तयार भइनसकेको बताए । संविधानअनुसार माध्यमिक तह (कक्षा १ देखि १२ सम्म) स्थानीय तहको कार्यक्षेत्रमा राखिएको छ । उनले माविसम्म निःशुल्क र अनिवार्य हुनुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाइनुपर्ने, आन्तरिक परीक्षा नदिएका वा अनुत्तीर्ण भएका अस्थायी शिक्षकलाई एकमुष्ट ‘गोल्डेन ह्याण्डसेक’ रकम दिइनुपर्ने बताए । प्रदर्शनमा करीब २५ हजार शिक्षक सहभागी भएको दाबी गरिएको छ ।

प्रदर्शनका कारण आज काठमाडौँ उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएकामा यसको साटो यही मङ्सिर २९ गते शनिबार पढाइ गरिने महासङ्घले जनाएको छ । गत असोज १६ गते आन्दोलन घोषणा गरेको महासङ्घले यसअघि चरणबद्धरुपमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार